भेरी नगरपालिका–९ बालविवाह निषेधित तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा


जाजरकोट । भेरी नगरपालिका–९ ले शुक्रबार बाल विवाह निषेधित तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा गरेको छ। दिपेन्द्र मा.वि. कालाभुर स्कुल नजिकै आयोजित कार्यक्रममा वडाले विद्यालय उमेर (४–१२ वर्ष) का सबै बालबालिकालाई विद्यालयमा भर्ना गराएको घोषणा गरेको हो।

कार्यक्रम पाँचतारा युवा संरक्षण मञ्चको अगुवाइमा, वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, भेरी नगरपालिकाको साझेदारी र वडा नं. ९ को आयोजनामा सम्पन्न भएको थियो। कार्यक्रममा पाँचतारा युवा संरक्षण मञ्चका प्रतिनिधि, वर्ल्ड भिजन इन्टरनेशनल नेपालका प्रमुख तथा प्रतिनिधि, नगरप्रमुख, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, विद्यार्थी तथा अभिभावकको सक्रिय सहभागिता थियो ।

हिरा प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख चन्द्रप्रकाश घर्ती प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उहाँहरूले बाल विवाह अन्त्य र शैक्षिक अधिकार सुनिश्चित गर्न सामुदायिक सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो।

वडाले यस अभियानलाई अन्य वडामा समेत विस्तार गरी सम्पूर्ण क्षेत्रलाई बाल विवाह निषेधित क्षेत्रमा परिणत गर्ने प्रतिवद्धता जनाएको छ। यस ऐतिहासिक घोषणाले बालबालिकाको शिक्षा, अधिकार र उज्ज्वल भविष्य सुनिश्चित गर्न महत्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया