
जाजरकोट — जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको बैठकले जिल्लाको सांस्कृतिक तथा साहित्यिक पहिचान संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तीनवटा महत्वपूर्ण निर्णयहरू गरेको छ।
प्रतिष्ठानका अध्यक्ष जनक केसीको अध्यक्षतामा आज (शनिवार) सदरमुकाम खलंगामा सम्पन्न बैठकले सर्वसम्मत निर्णय गर्दै नेपाली भाषा, साहित्य, संस्कृति र पर्यटन प्रवर्द्धनमा योगदान गर्ने कार्यक्रमहरु अघि बढाउने निर्णय गरेको हो।
बैठकको पहिलो निर्णयअनुसार, नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तीको अवसरमा आगामी असार २९ गते खलंगामा खुला कविता वाचन तथा “नेपाली भाषाको श्रीवृद्धिमा भानुभक्तको योगदान” विषयक प्रवचन कार्यक्रम आयोजना गरिनेछ।
त्यसैगरी, जिल्लाको मौलिक सांस्कृतिक सम्पदा मानिने खड्ग देवता (खर्के देउता) भित्र्याउने परम्परा र लाखे नाँचको व्यवस्थापनका लागि प्रतिष्ठानले यस वर्ष पनि सरोकारवाला निकाय, समुदाय तथा सम्बन्धित पक्षहरूसँग सहकार्य र सहजीकरण गर्दै सहयोग गर्ने निर्णय गरेको छ।
तेस्रो निर्णयअनुसार, जिल्लामा बाहिरबाट आउने आगन्तुकहरूलाई जाजरकोटका प्रमुख पर्यटकीय गन्तव्यहरूको जानकारी दिनका लागि छेडागाउँस्थित छेडावजार र रिम्ना गाउँस्थित रिम्नावजारमा पर्यटकीय विवरणसहितको होडिंग बोर्ड राखिनेछ। जाजरकोटको मौलिकता जोगाउने र पहिचान स्थापित गर्ने उद्देश्यले गरिएको यस प्रकारको निर्णय सराहनीय रहेको प्रतिष्ठानले जनाएको छ।

















































हाम्रो पहुँच संवाददाता । २१ असार २०८२, शनिबार