“श्रमको सम्मान, राष्ट्रको अभियान” अन्तर्गत भेरी नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

#जाजरकोट । “श्रमको सम्मान, राष्ट्रको अभियान” नाराका साथ भेरी नगरपालिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा रोजगार संयोजक भरत शर्मा र आप्रवासी सहायता केन्द्रका संयोजक प्रविन विकले श्रम, वैदेशिक रोजगारी र स्थानीय स्तरमै रोजगारी सिर्जनाका विषयमा प्रशिक्षण तथा जानकारी दिएका थिए।

कार्यक्रममा नगर कार्यपालिका सदस्यहरू, विभिन्न वडाका अध्यक्षहरू, स्थानीय सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागिहरूबीच सुरक्षित वैदेशिक रोजगारी, सीप विकास, स्थानीय रोजगारका अवसर, वैदेशिक रोजगारीमा जाने युवाले अपनाउनुपर्ने प्रक्रिया र सावधानीका विषयमा गहिरो छलफल भएको थियो।

रोजगार संयोजक भरत शर्माले वैदेशिक रोजगारीमा जानु अघि पूर्वतयारीको खाँचो औंल्याउँदै स्थानीय तहबाट नै जानकारी र सहयोग प्राप्त गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए।

त्यस्तै, प्रविन विकले आप्रवासी सहायता केन्द्रले प्रवासी नेपालीलाई दिँदै आएको परामर्श, कानुनी सहयोग र आपतकालीन उद्धार सेवाबारे जानकारी गराए।

कार्यक्रमले श्रमिकहरूको हकअधिकार र सुरक्षित रोजगारीप्रतिको सरोकारहरू उजागर गर्दै स्थानीय तहले यो अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया