
जाजरकोट । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भूकम्प पीडितको समस्यालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाएका छन् । मंगलबार ( आज) जाजरकोट खलंगामा अन्तर संवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भूकम्प पीडितको समस्यामा सरकार गम्भीर नभएको आरोप लगाएका हुन् ।
उनले पुनर्निर्माणको काममा भइरहेको ढिलासुस्तीप्रति चिन्ता व्यक्त गर्दै आगामी संसद् बैठकमा यो मुद्दा सशक्त रूपमा उठाउने र सरकारलाई खबरदारी गर्ने बताए । “पीडितहरू अझै पनि अस्थायी टहरामा बस्न बाध्य छन्, यो दुर्भाग्यपूर्ण हो,“ प्रचण्डले भने, “सरकारले तुरुन्त प्रभावकारी कदम चाल्नुपर्छ, नभए हामी सडकदेखि सदनसम्म आन्दोलन गर्न बाध्य हुनेछौं ।”
आफु प्रधानमन्त्री भएको वेला भूकम्प गएको २४ घण्टा नवित्दै उद्धार,खोज र राहत वितरणमा खटिएको स्मरण गर्दै अहिलेको सरकारले छुट्याईदिएको रकम समेत वितरण नगर्नु निकै दुःखद कुरा भएको बताए ।
उनले भने, “हामीले तत्कालै उद्धारमा खटिएका थियौं, तर अहिले सरकार चुपचाप छ । राहत वितरणका लागि बजेट छुट्याएर पनि वितरण नगरिनु पीडितप्रति सरकारको संवेदनहीनता हो ।”
प्रचण्डले पुनर्निर्माण सरकारको प्राथमिकतामै नरहेको टिप्पणी गर्दै गम्भीर प्रश्न उठाए । “पुनर्निर्माण सरकारको प्राथमिकतामै छैन कि क्या हो ? पीडितहरू वर्षौंदेखि प्रतिक्षामा छन्, तर सरकार बेखबर छ,“ उनले आक्रोश पोखे ।
उनले जनताले भोगिरहेको पीडा र राज्यको उदासिनता बीचको गहिरो अन्तरलाई गम्भीर रूपमा लिन सरकारलाई आग्रह गरे ।
अन्तर संवाद कार्यक्रममा जिल्ला स्थित क्रियाशिल राजनीतिक दल, नागरिक समाज पत्रकार, कर्मचारीहरुको उपस्थिति रहेको थियो । उनीहरुले पनि विशेष गरी भूकम्प पछिको पुर्ननिर्माणका विषयलाई प्राथमिकताका साथ उठाएका थिए ।
















































हाम्रो पहुँच संवाददाता । ७ जेष्ठ २०८२, मंगलवार