लागुऔषधमुक्त नगरपालिका बनाउने अभियानमा छौं :स्वास्थ्य शाखा प्रमुख वली [अन्तर्वाता]

भेरी नगरपालिका लागुऔषध दुर्व्यसन विरुद्ध कडाईका साथ अभियानमा जुटेको छ । नगर स्वास्थ्य शाखाका प्रमुख दिपक वली युवाहरुमा बढ्दो लागुऔषधको लतलाई न्यूनीकरण गर्दै समृद्ध, स्वस्थ र सुरक्षित समाज निर्माण गर्ने लक्ष्यसहित नगरपालिका लागुऔषधमुक्त बनाउने दिशामा अग्रसर रहेको बताउँछन् ।

“समाजका भविष्य युवाहरु नै हुन् । उनीहरू लागुऔषधको चपेटामा पर्दै गएमा हाम्रो भविष्य अन्धकारमय हुन्छ,” वलीले भने, “यसकारण हामी चेतनामूलक कार्यक्रम, विद्यालयस्तरका अभियान, र समुदायमा पुनस्र्थापना केन्द्रहरूको सहकार्यमा काम गरिरहेका छौं ।”

उनका अनुसार हालसम्म नगरपालिकाले विभिन्न स्थानमा स्वास्थ्य सचेतना कार्यक्रम, अभिभावक र शिक्षक अभिमुखीकरण, र विद्यालयस्तरका अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिसकेको छ । साथै, प्रहरी प्रशासनसँग सहकार्य गर्दै लागुऔषधको ओसारपसार नियन्त्रण र प्रयोगकर्ताको पहिचान तथा पुनस्र्थापनामा पनि जोड दिइएको छ ।

स्थानीयस्तरमा युवाहरूलाई खेलकुद, कला र सीपमूलक तालिमतर्फ आकर्षित गरी सकारात्मक मार्गमा अग्रसर गराउने योजना पनि रहेको वलीले जानकारी दिए ।

नगरपालिकाले यो अभियानलाई दीर्घकालीन रूपमा लैजाने अठोट लिएको छ र यसमा सबैको सक्रिय सहकार्य आवश्यक रहेको वलीले जोड दिए ।

हामीले स्वास्थ्य शाखा प्रमुख वली सँग संक्षेपमा कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको संक्षिप्त अंश

स्वागत छ ।
धन्यवाद ।
१. भेरी नगरपालिकाले सञ्चालन गरेको लागुऔषध नियन्त्रण तथा रोकथाम कार्यक्रम कसरी चल्दैछ ?

  • हाम्रो नगरपालिकाले गत बर्ष देखि लागुऔषध नियन्त्रण कार्यक्रम संचालन गर्दै आईरहेको छ । जसमा नेपाल सरकार गृह मन्त्रालयले “लागुऔषधको नियन्त्रण र रोकथाम” सम्बन्धी कार्यक्रम संचालन सम्बन्धमा स्थानीय तहलाई मार्ग दर्शन २०७६ पठाएको छ । सोही व्यवस्था अनुसार कार्यक्रम तय भई संचालन भईरहेको छ ।

२. धेरैको गुनासो  छ बजेट सक्ने कार्यक्रम, के सत्य हो ? यस बर्षका कार्यक्रम केके हुन् ?

  • बजेट नसकी कार्यक्रम हुदैन …… बरू कति सान्दर्भिक छन् भन्ने हुन्छ । हामीले नीति, विधी र कानुनमा टेकेर कार्यक्रम तय भई संचालन गर्दैछौ । विषय विज्ञको सहयोग र सुझाव अनुरूपबाट कार्यक्रम संचालन हुदै छन् । आरोप सत्य हैन् । यस बर्ष लागुऔषध नखाएकालाई खान नदिने , खाएकाको पहिचान गर्ने, पहिचान भएकालाई उपचार तथा व्यवस्थापन गर्ने, उपचार तथा पुनःस्थापना भएकालाई व्यवस्थापन गर्ने र मौजुदा कानुनलाई कार्यान्वयन गर्ने हो । यसका लागि विभिन्न क्रियाकलाप संचालन भई रहेका छन् ।

३. कार्यक्रम प्रभावकारी बनाउन के गर्दै हुनुहुन्छ ?

  • कार्यक्रम प्रभावकारी बनाउन विभिन्न सरोकारवाला , पत्रकार, आमासमुह , संघसंस्था , वाल, युवा क्लव, सुरक्षा निकाय संग सहयोग र सहकार्य भई रहेको छ ।

४. लागुऔषधमा फसेका नागरिकका अभिभावकले कसरी सम्पर्क गर्ने, कहाँ गर्ने ?

  • लागुऔषधमा फसेका ब्यक्तिका परिवारले पहिलो जवाफदेही आफु हुने, संकास्पद वेहोरा पहिचान गर्ने जस्तै आफ्नो बच्चा नियमित विद्यालयमा हाजिर छ कि छैन , पढाई कस्तो छ, समयमा घर आउछ आउदैन् , व्यवहार परिवर्तन जस्ता कुरा, दोस्रो उपचारमा लिने, तेस्रो लामो उपचार वा रिह्यावमा राख्नु पर्ने भए रिह्याबमा राखेर आर्थिक अनुदानको लागि आबश्यक कागजात राखेर नगर स्वास्थ्य शाखामा निबेदन दिने । अराजक गतिविधीमा संलग्न भए कानुनी कारवाहीका लागि नजिकको प्रहरीमा खबर गर्ने वा १०० फोन गर्ने ।

५. केही दिन अघि योग शिविर पनि सञ्चालन गर्नुभयो, दिगो बनाउन के योजना छ ?

  • समय सँगै दिर्घरोग, नसर्ने रोग र लागुपदार्थ सेवन तथा मानसिक स्वास्थ्य समस्या बढदै गएको छ । त्यसको रोकथामका लागि योग उपयूक्त विधि हो । शरीर, मन र वायुलाई योगले जोड्दछ । यसको लागि नियमित योग अभ्यास गर्न जरूरी छ । योग प्राकृतिक चिकित्सा विज्ञानमा आधारित छ ।

यसैले हामीले केन्द्रिय स्तरका प्रशिक्षक ल्याएर वृहत योग विज्ञान शिविर संचालन गर्यौ । साथै यसलाई दिगो बनाउन स्थानीय स्तरमा ४५ जनालाई योग प्रशिक्षक तालिम दिएका छौ । उहाँहरूले आफु कार्यरत संस्था टोल सार्वजनिक स्थलमा योग अभ्यास सिकाउनु हुनेछ । जुन जिवन्त चल्ने र उहाँहरूलाई अभियान्ता समेत बनाएर भेरी नगरपालिकालाई लागुऔषध मुक्त बनाउने अभियानमा जोड्ने छौ ।

हामीले सुरक्षा निकायको सहयोग तथा सुराकी को आधारमा लागुऔषध ओसारपसार गर्दै गरेकालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने प्रयोग कर्ताको गोप्य रूपमा तथ्याङ्क लिई रहेका छौं ।

तपाईको प्रतिक्रिया