
खलंगा । जाजरकोट प्रहरीले साढे ८ किलो अबैध लागुऔषध (अफिम) नष्ट गरेको छ । नेपालगञ्जतर्फ लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा पक्राउ परेका चार जना व्यक्ति बाट बरामद गरिएको अफिम जिल्ला प्रहरी कार्यालयको परिसरमा खाल्डो खनेर आगोमा जलाएर नष्ट गरिएको हो ।
प्रहरीका अनुसार अफिम नष्ट गर्ने कार्य जिल्ला अदालतमा कार्यरत नायव सुब्बा छवि गिरी, जिल्ला प्रशासन कार्यालयका खरिदार नविन कुमार सिंह र भेरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक वलीको रोहवरमा नष्ट गरिएको हो ।

यस प्रकरणमा नलगाड नगरपालिका–३ का ५३ वर्षीय विष्णु बहादुर घर्ती, नलगाड–९ का ३० वर्षीय दीपक सिंह, २३ वर्षीय सुरेश सिंह र नलगाड–१० का २३ वर्षीय हरि बाँनिया पक्राउ परेका छन् । उनीहरूलाई थुनामा राखी लागू औषध मुद्दा चलाइएको छ ।
भेरी नगरपालिका–१ रिम्नाबाट पक्राउ गरिएको टोलीबाट ६ किलो अर्धठोस अफिम, २५ हजार नगद र कर्णाली प्रदेश–०२००१ च ११४५ नम्बरको डबल क्याप बोलेरो जीप बरामद गरिएको हो । उक्त सवारीसाधनलाई कानुनी प्रक्रिया अनुसार लिलाम गरिने प्रहरीले जनाएको छ ।

यस्तै, सोही दिन बेलुकी ९ बजे रिम्ना बजारबाट लु १ ज ३९२६ नम्बरको यात्रु बहाक बोलेरोमा सवार रहँदा नलगाड–३ का विष्णु बहादुर घर्तीलाई थप २.५ किलो अफिमसहित पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी प्रमुख डीएसपी वसन्त कुमार शर्माका अनुसार जाजरकोट, रुकुम र रोल्पा लगायतका पहाडी जिल्लाहरूमा अफिम, गाँजा र चरेशको अवैध खेती, उत्पादन तथा ओसारपसार चुनौतीका रूपमा रहेको छ । अपराध नियन्त्रणका लागि खेतीमै रोक नलगाइसम्म सुधार नहुने उनको भनाइ छ ।
पक्राउ परेकाहरूलाई लागू औषध ऐनअनुसार १५ वर्षदेखि जन्मकैदसम्मको सजाय हुनसक्ने प्रावधान रहेको प्रहरीको भनाइ छ ।
















































हाम्रो पहुँच संवाददाता । २५ बैशाख २०८२, बिहीबार