
खलंगा । भेरी नगरपालिकाको आयोजनामा ओम समाज हस्पिटल काठमाडौंको सहकार्यमा सम्पन्न दुई दिने निःशुल्क दन्त स्वास्थ्य शिविरबाट ६६३ जना स्थानीयवासी लाभान्वित भएका छन् ।
शिविर वडा नं. ८ स्थित स्याउली बजार र वडा नं. ११ को कुदुमा सञ्चालन गरिएको थियो । स्याउली बजारमा ३६० जना र कुदुमा ३०३ जना गरी जम्मा ६६३ जनाले दन्तसम्बन्धी सेवा प्राप्त गरेका थिए ।

विशेषज्ञ डाक्टरहरूको टोलीले सेवा प्रदान गरेको शिविरमा दाँत निकाल्ने, भर्ने, मुख तथा दाँतको सम्पूर्ण उपचार सेवा र आवश्यक परामर्शसमेत दिइएको थियो । स्थानीयवासीहरूले शिविरबाट पाएको सेवा अत्यन्त उपयोगी रहेको बताएका छन् ।
स्वास्थ्य शाखा प्रमुख दिपक वलीले उक्त शिविरले गाउँका सर्वसाधारणलाई सहज, गुणस्तरीय र निःशुल्क सेवा उपलब्ध गराउन सफल भएको जानकारी दिए । उनका अनुसार यस्ता कार्यक्रमले समयमै रोग पहिचान र उपचारमा सहयोग पुग्ने मात्र होइन, स्वास्थ्यप्रति जनचेतना पनि बढ्ने अपेक्षा गरिएको छ ।

स्थानीय बासिन्दाले यस्तो खालको शिविरलाई अत्यन्त स्वागतयोग्य भन्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका छन् ।
ओम समाज हस्पिटलका चिकित्सक तथा प्राविधिक टोलीले दुर्गम बस्तीमा पुगेर सेवा दिनु भेरी नगरपालिकाको समावेशी र सेवामूलक सोचको प्रतिबिम्ब भएको स्थानीय अगुवाहरूले बताएका छन् ।

















































हाम्रो पहुँच संवाददाता । २१ बैशाख २०८२, आईतवार