
पछिल्ला वर्षहरूमा नेपालका ग्रामीण भेगमा समेत लागुऔषध (ड्रग्स) प्रयोगको समस्या गम्भीर बन्दै गएको छ । यो समस्या अब शहरी क्षेत्रमै सीमित नरहीकन गाउँगाउँमा पनि फैलिँदै गएको देखिन्छ । जाजरकोट जिल्ला पनि यसबाट अछुतो छैन । विशेषगरी युवावर्गमा लागुऔषधको लत गहिरो रूपमा बस्दै गएको पाइएको छ ।
यस समस्यालाई दृष्टिगत गर्दै भेरी नगरपालिकाले ‘लागुऔषध विरुद्धको अभियान’ सुरु गरेको छ । यस अभियानले जनचेतना, पुनस्र्थापना, उपचार, समुदायसँग सहकार्य र युवा सशक्तिकरण जस्ता विविध पक्ष समेटेको छ ।
युवा पुस्ता संकटमा
भेरी नगरपालिकामा पछिल्ला दुई वर्षमा विद्यालय, स्वास्थ्य संस्था र समुदायबाट संकलित विवरण अनुसार १६ देखि ३० वर्ष उमेर समूहका युवाहरू लागुऔषध दुव्र्यसनमा फस्दै गएका छन् । उनीहरू प्रायः खैरो हिरोइन (ब्राउन सुगर), गाजाँ, डाइजापाम, फेनारगन र नुर्फिन जस्ता औषधीय र गैरकानुनी लागुऔषध प्रयोग गर्ने गर्दछन् ।
सुरुवातमा साथीको संगत, आधुनिकता देखाउने होड, मानसिक तनाव र बेरोजगारीका कारण लागुऔषधको प्रयोग सुरु गर्ने युवाहरू पछि गहिरो लतमा फसिरहेका छन् । लागुऔषध सेवनले उनीहरूको शिक्षा, स्वास्थ्य र भविष्य नै अन्धकारमय बनिरहेको छ । साथै, यसले परिवार र समाजमा गम्भीर असर पु¥याइरहेको छ ।
भेरी नगरपालिकाको समन्वयात्मक पहल
भेरी नगरपालिकाले ‘लागुऔषध नियन्त्रण’ लाई प्राथमिकतामा राखेको छ । सोही अनुसार नगरपालिकाले सुरुवातमा विद्यालय, टोल विकास संस्था, महिला समूह, स्वास्थ्य संस्था र प्रहरी प्रशासनसँग समन्वय गर्दै अभियान अघि बढाएको छ ।
नगरप्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार, “लागुऔषधको समस्या केवल कानुनी हैन, यो सामाजिक, मानसिक र स्वास्थ्यसँग जोडिएको विषय हो । त्यसैले हाम्रो अभियान समुदायमै केन्द्रीत छ । हामी जनचेतनादेखि पुनस्र्थापनासम्मको सम्पूर्ण प्रक्रिया समेटेर अघि बढिरहेका छौं ।”
विद्यालय स्तरमै सचेतना
नगरपालिकाले अभियानको पहिलो चरणमा विद्यालयहरूमा लागुऔषधबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । भेरी नगरपालिकाभित्र रहेका सबै सामुदायिक तथा निजी विद्यालयमा “ड्रग्स फ्री स्कूल” कार्यक्रम लागू गरिएको छ । विद्यार्थीहरूलाई नाटक, वक्तृत्वकला, पोस्टर प्रतियोगिता, पावरपोइन्ट प्रजेन्टेसन र अन्तरक्रिया मार्फत चेतना फैलाउने कार्य भैरहेको छ ।
नगर स्वास्थ्य शाखाका अनुसार “नशा मुक्त पुस्ता” निर्माण गर्न विद्यालयस्तरमै गहिरो हस्तक्षेप आवश्यक थियो । त्यसैले शिक्षक तालिम, अभिभावक अभिमुखीकरण, बाल क्लबहरूको सक्रियता जस्ता कार्यक्रम अघि सारिएको छ ।
समुदायसँग सहकार्य
भेरी नगरपालिकाले महिला समूह, युवा क्लब, टोल विकास संस्था र धार्मिक संस्था तथा अभियन्ताहरूसँग सहकार्य गर्दै प्रत्येक वडामा समुदाय–आधारित निगरानी समूह गठन गरेको छ । यस समूहले टोलमा लागुऔषधको गतिविधि भए–नभएको निगरानी गर्ने, प्रहरी वा स्थानीय सरकारलाई जानकारी गराउने, र सेवाग्राहीलाई पुनस्र्थापनाका लागि सघाउने कार्य गर्दै आइरहेका छन् ।
युवा क्लबहरूलाई प्रशिक्षण दिएर ‘सामाजिक प्रहरी’ को भूमिकामा खटाइएको छ । यसले समुदायमा सजगता मात्र होइन, युवा सशक्तिकरणमा समेत योगदान पु¥याएको छ ।

युवा सशक्तिकरण
भेरी नगरपालिकाले युवाहरूलाई सकारात्मक दिशामा डोर्याउन स्वरोजगार, सीपमूलक तालिम, खेलकुद र कला–संस्कृतिका कार्यक्रम अघि सारेको छ । नगर युवा परिषदको सहकार्यमा ‘एक युवा एक सीप’ अभियान सञ्चालन गरिएको छ । कम्प्युटर, इलेक्ट्रिसियन, मोटरसाइकल मर्मत, सिलाई–कटाई, कृषि उद्यम जस्ता तालिम दिइएको छ ।
त्यस्तै, फुटबल, भलिबल, कविता, नाटक, संगीत लगायत प्रतियोगितामार्फत युवाहरूको प्रतिभा प्रस्फुटन गराउने प्रयास गरिएको छ । यसले युवाहरूमा आत्मविश्वास बढाएको देखिन्छ ।

सरोकारवालाको भूमिका
यस अभियानमा जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य सेवा कार्यालय, पत्रकार, शिक्षक संघ, रेडक्रस, मानव अधिकारकर्मी लगायत सरोकारवाला निकायहरूको सहयोग उल्लेखनीय छ । प्रहरी प्रशासनको सक्रियतामा लागुऔषध कारोबार गर्ने केही व्यक्तिहरू पक्राउ परेका छन् । पत्रकारहरूले विषयवस्तुलाई सतहमा ल्याइदिएपछि जनचेतनामा थप प्रभाव परेको छ ।
चुनौतिहरू
यद्यपि, अभियान उत्साहजनक रूपमा अघि बढिरहेको भए पनि केही चुनौतीहरू कायम छन् । पर्याप्त स्रोतसाधनको अभाव, जनशक्ति अपुग, पुनस्र्थापना केन्द्रको अभाव, अभिभावकको सहयोग नहुनु, गुप्त कारोबार गर्ने गिरोहहरूको सक्रियता लगायतका समस्या छन् ।
नगर उपप्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार, “समस्या गहिरो छ तर समाधानका लागि हाम्रो प्रतिबद्धता अझ गहिरो छ । सबै सरोकारवालाको सहकार्यमा हामी यो अभियानलाई सफल बनाउनेछौं ।”
निष्कर्ष
भेरी नगरपालिकाको लागुऔषध विरुद्धको यो अभियान केवल एक परियोजना होइन, सामाजिक रूपान्तरणको यात्रा हो । यदि यो प्रयास दिगो, समावेशी र सहभागी बनाइयो भने भेरी नगरपालिकाले देशभरकै लागि लागुऔषध नियन्त्रणको उत्कृष्ट नमूना प्रस्तुत गर्न सक्छ ।
लागुऔषध समस्या केवल स्वास्थ्यको हैन, भविष्यको संकट हो । त्यसैले यसलाई समुदायकै साथमा समाधान गर्न जरुरी छ । भेरी नगरपालिकाको यो उदाहरणीय अभियान अन्य स्थानीय तहहरूले समेत सिक्न लायक विषय हो ।

















































कालीबहादुर नेपाली । २३ बैशाख २०८२, मंगलवार