
खलंगा । ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको जाजरकोट सेतो दरबार भत्किएको छ । विसं १८५२ मा १६ औँ जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा निर्माण भएको दरबार चैत्र २७ गते रातिको अविरल वर्षासँगै आएको हावाहुरीले भत्किएको हो ।
अविरल वर्षाले ‘सेतो दरबार’ भनेर चिनिएको दरबार भत्किएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी समीर गौतमले जानकारी दिए ।
उनका अनुसार दरबारको छानोको अगाडिको भाग भत्किएको हो । दरबार गत वर्ष कात्तिक १७ गतेको भूकम्प र चैत २२ गते जाजरकोट कुसेको पैक केन्द्रविन्दु भएर आएको भूकम्पबाट पूर्ण रूपमा चर्किएको बताए । “२०८० कात्तिकमा गएको भूकम्पबाट चर्किएको थियो । त्यसपछि दरबार प्रयोगविहीन भएको थियो,” उनले भने, “केही दिनअघि आएको भूकम्पबाट दरबार झन् चर्किएको थियो । पानी र हावाहुरीले पूरै भत्काइदियो ।”
जाजरकोट दरबार २०८० कार्तिक १७ मा आएको भूकम्पबाट चर्किएको पनि तेस्रो पटक थियो । त्योभन्दा पहिले पनि भूकम्पले दरबारलाई क्षतिग्रस्त बनाएको थियो । दुवै पटक दरबार पुनर्निर्माण गरिएको थियो । सुरुमा १९९० माघ २ गते नेपाल र भारत केन्द्रविन्दु भएर गएको आठ रेक्टर स्केलको भूकम्पले दरबार पूर्ण रूपमा भत्किएको थियो ।
उक्त भूकम्पलाई दरबारमा क्षति पु–याउने शक्तिशाली विपद् रूपमा जाजरकोटवासीले लिएका छन् । भूकम्पले क्षति पु–याएको जाजरकोट दरबारलाई फेरि पनि जाजरकोटी जनताको श्रमदानमा पुनर्निर्माण गरिएको थियो ।
जाजरकोट दरबारको पुनर्निर्माण गर्दा भक्तपुरबाट नेवार समुदायका कालिगड बोलाइएको स्थानीयको भनाइ छ । सेतो दरबारले दोस्रो पटक भूकम्पीय क्षति भोगेको २०४५ सालमा हो । २०५१ सालमा पुनर्निर्माण गरिएको हो ।
केही वर्षअघि नेपाल सरकारले सूचीकृत गरेको देशका एक सय पर्यटकीय गन्तव्यभित्र जाजरकोट दरबार पनि परेको छ । खलंगाको सबैभन्दा अग्लो स्थानमा अवस्थित दरबार ऐतिहासिक एवं सांस्कृतिक दृष्टिले महत्वपूर्ण सम्पदा मानिन्छ ।
दरबारको संरक्षणका लागि सबै राजनीतिक दल, जनप्रतिनिधी जुट्नुपर्ने वेला आएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए । ‘जाजरकोटका सम्पदा संरक्षणमा कसैको चासो छैन्, सम्पदाहरु ढलिरहेका छन्, भेरी नगरपालिका सहित सरकारले निमार्णमा चासो लिनुपर्छ उनले भने, ‘जाजरकोट दरबार मात्रै ढल्ने छैन्, यहाँको इतिहास पनि ढल्नेछ ।’
पुनर्निर्माणमा राज्य बेखबर
विसंं १८५२ मा १६औँ राजा इन्द्रनारायण शाहले सुरु गरेका दरबार निर्माणको कामलाई २०औँ राजा नरेन्द्रविक्रम शाहले १९२६ मा भव्य स्वरूप दिएका थिए । करिब दुई शताब्दीदेखि जाजरकोटको गौरव बनेको दरबार अहिले टुटफुट र बेवास्ताको अवस्थामा छ ।
अविरल वर्षाले दरबारका बाँकी रहेका भागमा थप क्षति पु¥याएको छ । ढोका, झ्याल, ढलान र भित्ता भत्किन थालेका छन् । केही भाग भत्किसकेको छ भने बाँकी भत्किने संघारमा छन् । स्थानीय खेमराज रोकाय भन्छन्, ‘५० वर्षअघि दरबार हेर्न टाढाबाट मान्छे आउँथे । अहिले त सरकारकै बेवास्ताले पहिचान मेटिँदै छ ।’ ०२५ मा दक्षिणी नाल भत्काएपछि अहिले दरबार तीन नालमा सीमित छ । पुनर्निर्माणका लागि अहिलेसम्म न त कुनै सरकारी योजना आएको छ, न त बजेट नै विनियोजन भएको छ । ‘भूकम्प गएको १७ महिना बितिसक्यो, तर सरकारले एउटा इँटासमेत लगाएको छैन,’ स्थानीय नरबहादुर शाहको गुनासो छ ।
१०० पर्यटकीय स्थलमा समावेश दरबार
जाजरकोट दरबारलाई केही वर्षअघि सरकारले देशका सय प्रमुख पर्यटकीय गन्तव्यमध्ये सूचीकृत गरेको थियो । साथै, यो दरबार पुरातत्व विभागको सम्पदा सूचीमा पनि पर्छ । तर, सूचीमा राखेर मात्र संरक्षण नहुने स्थानीयको भनाइ छ । उनीहरू भन्छन्, ‘कागजमा दरबार बाँच्छ, तर भित्री संरचना जोगाउन त सरकारको इच्छा र पहल चाहिन्छ ।’
दरबारको संरक्षणका लागि स्थानीयले पटक–पटक जिल्ला प्रशासन, प्रदेश सरकार र संघीय तहसम्म ध्यानाकर्षण गराइसकेका छन् । तर, कुनै पनि निकायबाट ठोस पहल नहुनु उनीहरूका लागि झन् पीडादायक बनेको छ । ‘हाम्रो इतिहास, हाम्रो गौरव र हाम्रो पर्यटन सम्भावना सँगसँगै लोप हुँदै छ,’ जाजरकोट सम्पदा संरक्षणका अध्यक्ष जनक केसी भन्छन्, ‘अब पनि सरकार चुप बस्यो भने चाँडै दरबार नभएको जाजरकोट भन्छौँ ।’ इतिहासका पानामा महत्वपूर्ण योगदान बोकेको यो दरबारको संरक्षण, पुनर्निर्माण र प्रचारप्रसार गरिनु आजको आवश्यकता रहेको अध्यक्ष केसीले बताए ।
प्रतिष्ठानले दरबारपरिसरमा ऐतिहासिक संग्रहालय निर्माण गरी जाजरकोटको गौरवशाली अतीतलाई सजीव बनाउने प्रस्तावसमेत गरेको छ । तर, सरकारी चासो अभावकै कारण सपना अधुरो छ । सेतो दरबार जोगाउने कि गुमाउने भन्ने निर्णय अब राज्यको हातमा छ ।
भूकम्पका कारण चर्किएको भवन २२ चैतमा गएको भूकम्पले थप जीर्ण बनेको थियो । हावाहुरीसहितको पानीका कारण भवन भत्किएको छ । भवन तत्काल मर्मत वा पुनर्निर्माणका लागि पुरातत्व विभागसँग समन्वय गर्दा आर्थिक अभाव भएको जवाफ आएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले बताए ।
















































हाम्रो पहुँच संवाददाता । १ बैशाख २०८२, सोमबार