
म यस्तो समाजमा जन्मेको छु । जुन समाजले गाउँ घरमा नकारात्मक विभेद गर्छ । परिवर्तन प्रति झुकाव राख्दैन् । मानिसको सकारात्मक सोचलाई निष्कृय बनाउँछ । आज विश्व एक्काइसौँ शताब्दीमा चलिरहेको वेला मेरो समाज अझै पनि ढुङ्गे युगमा चलिरहेको जस्तो लाग्छ । मान्छेले मान्छेलाई मान्छेको दर्जा दिन नसक्ने मेरो समाजमा म एक मान्छे बन्न खोजिरहेको छु । म समाजको एक सामाजिक सदस्य भएको कारण पनि छुवाछूत मुक्त रुपान्तरण अभियानको पक्षमा लागिरहेको छु ।
अव जातको विषयमा कुरा गरौँ । हामी सबै सबल र सक्षम युवाहरुले । म धेरै विज्ञ भएर छुवाछूतको विषयमा लेख्न लागेको भने पक्कै होइन । तर मैले मेरो समाजमा जातलाई लिएर देखेका भोगेका विषयमा केही धारणा मात्र राख्न खोजेको छु । हिजो देखिएकै कुरा हो सेते दमाईको अन्याय नवराज जस्ता नेपालका नौ नौजवान यूवाहरुको घटना हाम्रो समाज विभिन्न जातमा विभाजित छ ।
मेरो समाजको संरचना र मैले विद्यालयमा पढेको समाज केही फरक छ । जब म विद्यालयमा पुगे जात श्रमको आधारमा काम गर्न सजिलो होस् भनी परापूर्वकालमा विभाजन गरिएको प्रणाली हो भनी बुझे र पढेँ । तर जब मेरो समाजलाई बुझे समाजले त कर्मलाई नै जातको आधारमा विभाजन गरेर माथिल्लो जात भएकाले कामका आधार विभाजन गरेका जातहरुलाई हेप्ने प्रवृतिका रुपमा प्रयोग गरिरहेका रहेछन् । समता र समानताको अर्थ नबुझेको मैले सबैलाई समान व्यवहारले हेर्नपर्छ भन्ने सोच भने सधैं राखिरहेको छु ।
म दुर्गम गाउँको क्षेत्री समुदायमा जन्म लिएर पनि होला । यसरी विभेद कहिल्यै भोग्न परेन तर मेरो समाजमा केही समुदायका मानिसलाई घर भित्र पस्न नदिने,उनीहरुले छोएको पानी नखाने जस्ता कार्यहरु गरेको देख्दा मेरो मस्तिष्कमा सधै मान्छेले छोएको नै मान्छेले किन नखाएका होलान् भन्ने प्रश्नले सताइरहन्थ्यो । जब म बुझ्ने भए समाज मेरो पनि हो र मैले समाज परिवर्तनको लागि केही फरक सोच्नु नै पर्छ भन्ने मनमा त्यो भाव जागिरह्यो ।
म समाजपरिवर्तन र रुपान्तरणकै लागि जन्मेको हुँ भन्ने भाव म सँग सधै सुरक्षित छ र समाजलाई बदल्नपर्ने अठोट छ । मानवले सयांै घात प्रतिघात सहदै आज सम्म चलिरहेको मेरो समाज अलि भिन्न देखिरहेको छु । हो म यही समाजमा जन्मेको छु । जुन समाजले आजसम्म पनि अनेक विभेद गर्दै आएको छ । जातजाति धर्म संस्कृतिमा परिवर्तन नभएको मेरो समाज अझै पनि देवताको भाकल गर्ने यो जात त्यो जात यो धनी उ गरीब यो कामी यो दमाई भन्ने शब्दमा अल्झनु र मानसपटल यो शब्द हटाउन नसक्नु गणतन्त्र र लोकतन्त्रको उपज हो जस्तो लाग्छ ।
म यही छुवाछूतको समाजमा परिवर्तन खोजिरहेको एक मानव हुँ । म यस्तो समाजमा हुर्किएको छु । जुन समाजमा न्याय र समान ब्यबहारको अनिकाल परेको छ मानिस – मानिसबिच भेदभाव छ जातजाति बिच असमानता छ अर्काको चुलो सम्म पुग्ने त धेरै छन् तर आफ्नो चुलो सम्म पुग्न नदिनेहरुको कमि छैन् यो दुनियाँमा । यो अन्धो समाजमा अझै दवाएकै छन् । छुत अछुत धनी गरीब भनेर समाजको लज्जा बनाई रहेकै छन् र बन्न बाध्य पनि छन् । जातका कुराहरु गर्दै मानिसको अस्मिता माथि धावा बोलेर खान्दानी सम्झने बावु साहेवहरु पनि थुप्रै छन् । यो कलियुगको समाजमा विवेक र चिन्तनले समुदायका थुप्रै मानिस अन्यायका पात्र भएका छन् ।
मलाई लाग्छ यो दुनियाँमा जातकै कुरा गर्ने हो भने मैले देखेको जात महिला र पुरुष भन्ने जात मात्र देखेको छु । दुनियाँमा कामका आधारमा र जातका आधारमा भेदभाव मुर्खहरुको मानसपटलले गर्छ । होला संसारमा सामान्य जीवन बिताई रहेका सम्पुर्ण मानव जाति मानिस हुन् । यो लोकतान्त्रिक पद्धतिमा जातभातमा भेदभाव गर्ने कुनै अधिकार छैन मानवका सबैका मन एउटै हुन विचार र विवेक मात्र गलत भएका हुन जात र विभेदको कुरालाई हामी जस्ता सक्षम युवाहरुले विकृति र बिसंगती विरुद्ध धावा बोल्दै नकारात्मक कुराको चिरफार गर्दै सबल र सक्षम समाज निर्माण गर्नु हामी यूबाहरुको दायित्व हुनेछ ।
















































प्रेम क्षेत्री । २५ माघ २०८१, शुक्रबार