जतिपटक हामी संसारका तमाम इतिहासहरु पल्टाएर हेर्छौं त्यतिपटक यो प्रतीत हुन्छ कि इतिहास बदल्नका निम्ति युद्ध हुनुपर्ने रहेछ, संघर्ष हुनुपर्ने रहेछ, क्रान्ति हुनुपर्ने रहेछ । क्रान्ति बिनाको कुनै नवीन ऐतिहासिक आरम्भ अक्सर देख्न पाइदैन । जहाँ नवीन आरम्भ थियो त्यहाँ क्रान्ति थियो । जहाँ क्रान्ति थियो त्यहाँ नवीनता थियो ।
हामी फ्रान्सेली क्रान्तिलाई हेरौं या चिनियाँ क्रान्ति । अमेरिकी क्रान्तिलाई हेरौं या रुसी क्रान्ति या फेरि विश्वघात गरेर राख् पारेका दुई महायुद्धलाई हेरौं । यीमध्ये केही नवीन सुरुवातका निम्ति थिए भने केहीका पश्चात् नवीन सुरुवात भएका थिए । त्यसकारण युद्ध या क्रान्ति इतिहास बदल्नका निम्ति गरिन्छन् । सभ्यता बदल्नका निम्ति गरिन्छन् अनि मनुष्यतालाई नयाँ आयाम दिनका लागि गरिन्छन् ।
यदि युद्ध व्यक्तिगत वा संस्थागत पुर्वाग्रह साँधेर गरिएका हुन् भने ती इतिहास बदल्न होइन इतिहास सिध्याउन गरिन्छन् । व्यक्तिगत वा संस्थागत स्वार्थसिद्धिका निम्ति गएका युद्ध केवल सार्वभौम मानवतामाथिका काला धब्बाहरु हुन् र ती इतिहासलाई पश्चागमनमा लैजान गरिएका घातक वञ्चनाहरु हुन् । ती केवल व्यक्तिगत या संस्थागत लाभका निम्ति गरिएका हुन् भने तिनले मानवतालाई कुनै नयाँ आयाम दिन सक्दैनन् बरु भएको मानवता समाप्त गर्छन् ।
इतिहास बदल्न क्रान्ति गरिन्छ र क्रान्ति वर्गीय हुन्छ । अस्तित्वगत रुपमा पृथक धरातलमा निर्माण गरेका वर्गबीचको संघर्ष क्रान्ति हो या समग्र मानवताको निम्ति समग्रतामा जे संघर्ष हुन्छ त्यो क्रान्ति हो । युद्ध क्रान्तिको अन्तिम विकल्प हो । जब वैचारिक क्रान्तिले सार्थकता पाउँदैन र जबसम्म प्रतिगामी तत्वले प्रतिक्रान्ति गरिरहन्छ र क्रान्तिमाथि हावी भइरहन्छ तब त्यहाँ क्रान्तिले उग्र रुप धारण गर्छ जसको परिणाम युद्ध हुन्छ । अनि युद्धको एउटै उदेश्य हो ’जीत या वीरगती’ ।
क्रान्तिको अर्थ हिंसा होइन तर जब क्रान्तिमाथि नै हिंसा गरिन्छ तबभने क्रान्ति हिंसात्मक बन्छ र युद्धको रूपमा चर्किन्छ । तब युद्ध भन्नासाथ सामान्यतया हिंसाको नजरले हेर्नू कुनै अतिशयोक्ती होइन । युद्ध हिंसा नै हो, युद्ध रक्तपात नै हो यसमा कुनै आपत्ति छैन तर युद्ध किन र कुन प्रयोजनको लागि गरिएको थियो भन्ने कुराले चाहिँ युद्धको महत्व निर्दिष्ट गर्ने हो । यदि युद्ध क्रान्तिबाट विवश भएर निर्विकल्प रूपमा जन्मिएको हो भने त्यसलाई केवल हिंसाको आँखाले हेर्नू उचित नहोला कि ?
यदि क्रान्ति शान्तिपूर्ण तवरले सफल हुन पाउने हो भने त्यहाँ युद्ध अनिवार्य छैन । यसमा प्रतिक्रियावादी प्रतिक्रान्तिकारी प्रतिगामी या जसका विरुद्धमा क्रान्ति गरिएको हो त्यो पक्षको पनि महान भूमिका रहन्छ कि क्रान्तिलाई क्रान्ति नै रहन दिने या युद्धको रुपमा स्थापित गराउने भन्नेमा । यदि त्यो पक्षले लचकता अपनायो र क्रान्ति स्वीकार ग¥यो भने, उसले बल प्रयोग गरेन भने, उसले दमनका लागि हिंसात्मक कदम उठाएन भने त्यहाँ क्रान्ति क्रान्तिनै बन्नेछ तर युद्ध बन्ने छैन ।
यो प्रसंग म हाम्रो देशको दस वर्षे जनयुद्धसँग जोड्न खोजिरहेछु । किनकि जनयुद्धले जन्माएको व्यवस्थामा हालीमुहाली गरिरहेका अहिंसक सन्त महात्माहरुले यसलाई केवल हिंसाको रुपमा अथ्र्याइरहेका छन् र भनिरहेका छन् कि जनयुद्ध महान थिएन यो केवल हिंसा र विध्वंस थियो, यो रक्तपात थियो । अझै कतिपय महात्माले त यो पनि भन्न भ्याएकि त्यो जनयुद्ध नै थिएन त्यो केवल युद्ध थियो ।
सत्य हो । जनयुद्ध हिंसा नै थियो, त्यो विध्वंसात्मक र रक्तपात नै थियो जसले असंख्य भौतिक संरचनाहरु ध्वस्त ग¥यो, परम्परावादी विचारधाराको जरा काट्यो, विभिन्न किसिमका दमन र उत्पीडनको जरा काट्यो, सत्तापक्ष, क्रान्तिकारी र सर्वसाधारणका तर्फबाट सत्रौँ हजारले जीवनको बलिदानी दिए र यो बुद्धभूमिमा युगौंसम्म नसुक्नगरी रगतका ठूल्ठूला सरोवरहरु बने । सबैभन्दा ठूलो कुरा त सयौं वर्ष बन्दुकका भरमा शासन गरेको एकतन्त्रीय निरंकुश राजसंस्थाको मुलोच्छेदन ग¥यो ।
जनयुद्ध हिंसात्मक थियो यो सत्य हो तर यसलाई हिंसा कसले बनायो ? यदि सत्तापक्ष क्रान्तिकारीमाथि अरिङ्गाल जस्तै नखनिएको भए, क्रान्तिलाई दमन गर्नको निम्ति बन्दुक प्रयोग नगरेको भए, क्रान्तिकारीसँगको आक्रोश मेट्न गाउँबस्तीका चेलीबेटी बलात्कार गर्दै नहिँडेको भए, यदि सत्तापक्षले सर्वसाधारणलाई गोली ठोक्दै हामीले माओवादी मा¥यौँ भन्दै रिपोर्टिङ नगरेको भए शायद त्यो क्रान्ति हिंसात्मक बन्ने थिएन होला र रक्तपात हुने थिएन होला ।
हुनत युद्ध हो रक्तपात हुनु अस्वभाविक पनि होइन तर हाम्रो युद्धमा जति विध्वंस भयो त्यो चाहिँ सानो कुरा होइन । सत्रौँ हजारको वलिदानी सानो होइन तर अर्को विकल्प पनि त थिएन । फेरि त्यो वलिदानी स्वेच्छिक पनि थियो । जसलाई परिवर्तन चाहिएको थियो उनीहरू क्रान्तिमा होमिए र वलिदानी दिए अनि जसलाई आफ्नो सत्ता र सिंहासनको रक्षा गर्नु थियो उनीहरू क्रान्तिसँग टकराए र वलिदानी दिए । अनि जहाँ गोरु जुध्छन् त्यो जमिन त भत्किन्छ नै त्यही भत्काइ थियो सर्वसाधारणको सहादत्ती ।
जनयुद्ध हिंसा थियो यो सहि हो तर जनयुद्ध महान थिएन यो गलत हो । हुनलाई त हिंसालाई महान भन्नू मानवताको लागि आपत्तिजनक नै हो तर हामीले केवल मृत मानवतालाई मात्रै होइन जिउँदो मानवतालाई पनि हेरौं । यही जिउँदो मानवताको निम्ति नै त्यत्रा धेरै योद्धाहरु सहिद बनेका हुन् । यही स्वतन्त्र र उन्मुक्त उन्नत मानवताको आरम्भका निम्ति त्यो हिंसा भएको हो । फेरि महान परिवर्तनका निम्ति हिंसा नभएको पनि कुन इतिहास छ र ?
अझै यो पनि स्वीकार गरौं कि जनयुद्ध महान थिएन पनि तर तिनीहरूका मात्रै लागि जसको सत्ता, शक्ति र सिंहासन च्यूत भएको थियो । जसको मालिक हुनुको अस्तित्व चुरचुर भएको थियो, जसको शोषण गर्ने यमपास चुँडिएको थियो, जसका दमन गर्ने पैतालाहरुमा काँडा घोचिएका थिए उनीहरूका निम्ति जनयुद्ध महान थिएन । अझै भनौं त्यो जनयुद्ध नै थिएन केवल त्यो हिंसात्मक युद्ध थियो, त्यो अमानवता थियो अनि त्यो महापाप थियो ।
तर जसले अखण्ड दासताबाट मुक्ति पाए उनीहरूको निम्ति जनयुद्ध महान थियो । जो अखण्ड पितृसत्तात्मक व्यवस्थाबाट पीडित थिए के उनीहरूको लागि जनयुद्ध महान थिएन र ? जनयुद्ध हुनुभन्दा पहिले महिला दासी थिइन् र पुरुष पति परमेश्वर थिए तर त्यो जनयुद्धले भन्यो कि न पत्नी दासी हुन् न पति परमेश्वर हुन् । दुबै बराबर हुन् । यसका साथसाथै महिला चुल्हो र मेलापातबाट बाहिर निस्किएर योद्धा बनेसँगै आज हामीले हरेक क्षेत्रमा ३३% महिलाको सहभागिताको अनिवार्य सुनिश्चितता पाएका छौँ । के ती महिलाको निम्ति, हाम्री आमाका निम्ति, हाम्रा दिदीबहिनीका निम्ति जनयुद्ध महान थिएन र ?
साहुको जमिन जोतेर एकछाक मुश्किलले टार्ने हलियाहरुले जनयुद्धपश्चात् नयाँ युग पाएका हुन् । मधेसी मुस्लिम र पिछडा वर्गले पनि हामी पनि मानिस हौं भन्दै मानिसको स्तरमा आउने मार्ग पनि जनयुद्धले बनाएको न हो । महाराजहरुको पैताला चाटेर पदहैसियतको सुनिश्चित गर्नुपर्ने युगबाट मानवतालाई माथि उठाएर सामाथ्र्य र प्रतिभाले बाँच्न पाउने आधार निर्माण के जनयुद्धले गरेको होइन र ?
दलित, आदिवासी जनजातिहरुलाई ’तिमीहरू पनि मानिस हौ, तिमीहरूको पनि अधिकार छ’ भनेर मानिस बन्नका निम्ति झक्झक्याउने पनि त्यही जनयुद्ध थिएन र ? सबैलाई समान जीवनको मार्ग प्रसस्त गर्ने पनि त जनयुद्ध थियो । सदियौँदेखी दासताको जीवन बाँचिरहेका महिला, कमैया, हलिया, दलित, जनजाति, पिछडा सबैलाई सभ्यताको मुलाधारमा ल्याउने पनि त्यही जनयुद्ध त थियो । यहाँसम्मकि जनयुद्ध महान थिएन, जनयुद्ध हिंसा थियो, जनयुद्ध गर्नेहरु हत्यारा थिए भन्नेहरूलाई त्यो भन्न पाउने स्वतन्त्रता पनि जनयुद्धको उपज न हो र मजस्तो भुइँ मान्छेले सत्ताको विरोध गर्दै, व्यवस्थाको आलोचना गर्दै कसैको पक्षमा त कसैको विपक्षमा यसरी लेख्न, बोल्न पाउने स्वतन्त्रता पनि त त्यही जनयुद्धले दिलाएको हो ।
तब म र मजस्ता बहुसंख्यक भुइँ मान्छेहरुका लागि जनयुद्ध महान नै थियो । महिला, हलिया, कमैया, दलित, जनजाति, मधेसी, मुस्लिमका निम्ति जनयुद्ध महान थियो र यदि यी वर्गका कोही व्यक्तिलाई पनि जनयुद्ध महान थिएन भन्ने लाग्छ भने त्यो उनीहरूको दासताबाटको मुक्तिलाई सहन गर्न नसकेका मात्रै हुन् जस्तो कि कुवाको भ्यागुतोलाई नदि रुच्दैन, सुंगुरलाई सफाइ र सुगन्ध मन पर्दैन । त्यस्तै तिनीहरू हुन् जो अपवाद हुन् ।
ज–जसका निम्ति जनयुद्ध महान थिएन उनीहरू त्यही वर्ग हुन् जो रामायण र महाभारतलाई धर्मयुद्ध मान्दै बाँचिरहेका छन् । ज–जसले मानिसको जन्म ब्रह्माले गरे र ब्रह्माको मुखबाट ब्राह्मण, बाहुबाट क्षत्रीय, तिघ्राबाट वैश्य र पैतालाबाट शूद्र जन्माए भन्दै बाँचिरहेका छन् उनीहरूका लागि जनयुद्ध महान थिएन । जो मन्त्र सुनाएर सम्पत्ति लुट्थे, जो लट्ठी देखाएर श्रीमती लुट्थे, जसलाई दोस्रोलाई पैतालामुनी दबाउने बानी लागेको थियो उनीहरूलाई जनयुद्ध महान थिएन त्यो केवल नरसंहार थियो, केवल हिंसा थियो ।
जो सभ्यताका पिँधमा बसेका थिए, जो जञ्जिरमा बाँधिएका थिए, जो पासमा जकडिएका थिए, जो सूत्र र मन्त्रद्वारा सम्मोहित थिए र जो लाठी र बन्दुकदेखी भयभीत थिए उनीहरूका लागि जनयुद्ध एकरत्ति अमहान थिएन । तर देश र समाजका तत्कालीन शासक वर्गका निम्ति जनयुद्ध महान होइन । जसको राजदण्ड, सिंहासन, यमपास, सूत्र, मन्त्र र लाठी खोसिए उनीहरूको लागि जनयुद्ध हिंसा नै हो । जनयुद्ध नरसंहार नै हो अनि जनयुद्ध अमहान नै हो र यो कहिले महान हुन सक्ने पनि छैन ।
म त भुइँ मान्छे हुँ त्यसैले भनिरहन्छु ’महान जनयुद्ध जिन्दावाद ! वीर सहिद अमर रहुन्, । जय जनयुद्ध ।
















































आलोक जी । १ फाल्गुन २०८१, बिहीबार