भेरी नगरपालिकामा तालाबन्दी, सेवाप्रवाह ठप्प, सेवाग्राहीलाई सास्ती

तालाबन्दीका कारण भेरी नगरपालिकाको सेवाप्रवाह ठप्प
जाजरकोट । तालाबन्दीका कारण भेरी नगरपालिकाको कामकाज ठप्प भएको छ । विभिन्न ६ बुदे माग सहित वडाध्यक्षहरुले गरेको तालाबन्दीका कारण नगरपालिकाले दिने सेवा प्रवाह रोकिएको हो । तालाबन्दीका कारण भेरी नगरपालिकाका कर्मचारीले मंगलवार हाजिर गर्न पाएनन् । कार्यालय खोल्ने समय अगावै नेपाली काँग्रेस र माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षहरुले तालाबन्दी गरेपछि कर्मचारीहरु कार्यालय भित्र प्रवेश नै गर्न पाएनन् । दिनभर रमाइलो मेला हेरेर विताए । विभिन्न कामले नगरपालिकामा आएका सेवाग्राही भने रित्तै फर्किन बाध्य भएको भेरी नगरपालिका २ का जीत बहादुर खत्रीले बताए ।

मंगलबार प्रशासनिक भवनमा तालाबन्दीपछि नेपाली कांग्रेसतर्फबाट भेरी नगरपालिका–१० का वडाअध्यक्ष दलबहादुर राना र नेकपा माओवादी केन्द्रका वडा नम्बर ८ का वडाअध्यक्ष वीरबहादुर चन्दले हस्ताक्षर गरी तालाबन्दी गर्नको कारण उल्लेख गदै संयुक्त प्रेस वक्तव्य समेत जारी गरेका छन् ।
भूकम्पपछि निमार्ण गरिएका अस्थायी आवासको दोस्रो किस्ता अविलम्ब भुक्तानी गर्नुपर्ने,भेरी नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा तत्काल औषधिको व्यवस्थापन गर्नुपर्ने, शिक्षक दरबन्दी मिलान प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।

सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत बिनियोजित भएका योजनाहरूको समीक्षा तथा नगरसभाको निर्णय कार्यन्वयन गर्नुपर्ने, भेरी नगरपालिका अन्तरगत रहेका कर्माचारीहरुले मिसन– ८४ को निर्वाचनलाई लक्षित गरि सामाजिक संजालमा लेखिएका क्रियाकलापका विषयमा तत्काल कानुनी कार्वाही गर्नुपर्ने, भेरी नगरपालिकाको दरबन्दी तेरिजी अनुसारको कर्मचारी तत्काल व्यवस्थापन गर्नुपर्ने वडा नम्बर ४ का वडाध्यक्ष बसन्त प्रसाद शर्माले बताए ।

भेरी नगरपालिकाको कार्यापालिका बैठक विगत साढे १ महिनादेखि बस्न सकेको छैन । बहुमत कार्यपालिका सदस्यहरूले मौखिक तथा लिखित रुपमा बैठक बस्न पटकपटक माग गरेपनि सुनुवाइ नभएपछि नगरपालिकाको प्रशासकीय भवनमा तालाबन्दी गरिएको उनले बताए ।
यता, भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले नगरपालिकामा तालाबन्दी गर्नु गैरकानुनी भएको बताए । उनले भने, ‘साथीहरुले गैरकानुनी काम गरिरहनुभएको छ, आफै जनप्रतिनिधी भएर तालाबन्दी गर्नु गैरकानुनी हो ।’ सेवा प्रवाह रोकिदैन्, स्थानीय प्रशासनको सहयोगमा ताला खुल्छ ।

तपाईको प्रतिक्रिया