
काठमाडौं– तपाईं लगातार दुई हप्तासम्म घरमै बसेको क्षण यसअघि कहिले थियो होला ?
गायक प्रमोद खरेललाई कलाकर्मीले यो प्रश्न सोधेको थियो । जवाफमा उनी हाँसे मात्र ।
किनभने अहिलेको व्यस्त दैनिकीमा कुनै पनि व्यक्ति लगातार दुई सातासम्म एउटै घरभित्र बस्नै सक्दैन भन्ने कुरा गायक खरेललाई राम्ररी थाहा छ ।
तर, महामारीका अगाडि कसको के लाग्छ ?
सांगीतिक व्यस्तताका कारण महिनामा केही दिनमात्र आफ्नो घरमा, आफ्नो परिवारसंग समय बिताउने गायक खरेल जस्ता एउटा लोकप्रिय श्रष्टालाई पनि यो महामारीले घरभित्र थुनिन बाध्य बनाएको छ ।
कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले दश दिनअघि लकडाउन गर्नु अघिदेखि नै प्रमोद घरमै छन् ।
प्रमोद घरमै बस्दा सबैभन्दा बढी खुशी छिन् उनकी धर्मपत्नी दीपा खरेल अनि छोरा दिप्रभ खरेल ।
छोरा दिप्रभले त सम्भवतः पहिलो पटक बुवाको यति लामो साथ पाएका छन् । संग–संगै खरेल धर्मपत्नी दीपाले पनि ।
लकडाउनका दिनहरु गायक खरेल कसरी बिताइरहेका छन् त ? बिहिबार बिहान टेलिफोन कुराकानीमा गायक खरेलले आफ्नो दैनिकी सररर बताए ।
‘बिहान समयमै उठ्छु ।
दुई घण्टा जति रियाज गर्छु ।
त्यसपछि भान्सामा श्रीमतीलाई सहयोग गर्छु ।
भान्साको काम नगरेको धेरै भएको रहेछ, अहिले पुनः बानी पर्दैछ ।
यो बीचमा मैले धेरै वटा परिकार बनाउन सिकिसकें ।
अहिले म हरेक दिन अचार बनाउँछु ।
प्याज त यति मजाले काट्न सिकें, सम्भवतः होटलका सेफले झैं काट्ने भएको छु ।
पहिला–पहिला मैले काटेको प्याज आकार बिहिन हुन्थ्यो, अहिले त चटचटचट….’
‘यो लकडाउनले अरु केही नगरे पनि मलाई भने एउटा राम्रो सेफ बनाउँछ जस्तो छ, गायक खरेल ठट्टा गर्दै भन्छन्- ‘हुन त खाना बनाउने, तरकारी काट्ने, फलफूल काट्ने पनि एउटा कला रहेछ, म अहिले त्यही कला सिक्दै मात्र छैन, व्यवहारमै लागू गर्दैछु ।’
भान्सामा पाएको निपूर्णतालाई गायक खरेलले थप स्पष्ट पार्दै भने- ‘मैले यसबीचमा पकौडा बनाएको छु । चटपटे बनाएको छु । मटनका परिकार बनाएको छु । मैले बनाएको खानेकुरा मलाई मात्र होइन, मेरा आमा–बुवाले पनि मीठो मानेर खानु भएको छ ।’
प्रमोदले साँझको दुई घण्टा भने छोराकै लागि छुट्याएका छन् ।
‘म अहिले हरेक साँझ दुई घण्टा छोरासंग खेल्छु, प्रमोद भन्छन्- ‘म उसंग खेल्छु भन्दा पनि उसले चाहिं मलाई विभिन्न खेलहरु खेल्न सिकाइरहेको छ ।’
‘करिव दुई घण्टा छोरासंग खेल्दा म शारीरिक मात्र होइन मानसिक रुपले समेत फ्रेश महसुस गर्छु ।’
साँझमा उनी पुनः केही समय सांगीतिक अभ्यास गर्छन् ।
‘अहिलेको समयलाई मैले रियाज गर्ने राम्रो अवसरको रुपमा सदुपयोग गरिररहेको छु, प्रमोदले सुनाए ।
‘हामी बुढाबुढी अचेल लुँडो खेल्न पल्किएका छौं, सबै काम सकिएपछि हामी अनलाइनमा लुँडो खेल्छौं, त्यो पनि बाजी राखेर, प्रमोद भन्छन्-‘लुँडो खेल्दा समय बितेको पत्तै हँदैन ।’
प्रमोदलाई यतिबेला नयाँ सिर्जनाका बारेमा सोच्ने मूड नै छैन । ‘नयाँ गीतका बारेमा सोचौं जस्तो लाग्छ, दिमाग भरी कोरोना नै कोरोना आउँछ, गायक खरेल भन्छन्- ‘कोरोनाकै गीत त के गाउनु है जस्तो लाग्छ र चुप लाग्छु ।’
लकडाउन कहिलेसम्म हुन्छ होला ? गायक खरेलको अहिलेको ताजा जिज्ञासा यही छ ।
‘चैत भरी होला, त्यसपछि त बिस्तारै संक्रमणको त्रास कम हुँदै जान्छ होला, गायक खरेलको अनुमान छ- ‘अबको एक सातासम्म पनि हामीले संक्रमणलाई रोक्न सक्यौं भने नेपालभरी यसको खतरा त्यति धेरै नहोला ।’
प्रमोदले सरकारले अब चाल्न सक्ने सम्भावित कदमका बारेमा पनि आँकलन गरेका छन् । उनको अनुमान छ– ‘सीमा नाकामा अझै कडाइ गरिन्छ होला, अन्तर्राष्ट्रिय उडानहरुको प्रतिबन्ध केही साता जारी नै हुन्छ होला, तर नेपालमा अड्किएका विदेशी अथवा नेपाल बाहिर स्थायी बसोबास भएका नेपालीहरुलाई भने उनीहरु बसेको ठाउँ जाने व्यवस्था पनि मिलाउँछ होला । यसका साथै नेपाल भित्रको लकडाउनलाई केही खुकुलो गर्छ होला ।’
‘जागिरेहरुलाई त ठिकै हो, हामीजस्तो सर्जकहरुलाई अबको छ महिनाको समय निकै कठिन हुने निश्चित छ ।
गायक खरेलले सांगीतिक क्षेत्रलाई लकडाउन तथा कोरोना भाइरसको त्रासले पार्न सक्ने प्रभावका बारेमा पनि अनुमान गरेका छन् ।
उनी भन्छन्- ‘हामी जस्ता संगीतकर्मीहरु पुनः सांगीतिक क्षेत्रमा सक्रिय हुन करिव छ महिना लाग्ने निश्चित छ । मानिसहरु तत्कालै मनोरञ्जनको मुडमा नै हुँदैनन् । हामी पनि नयाँ सिर्जना गर्ने मूडमा हुँदैनौं । त्यसैले सांगीतिकसहित सम्पूर्ण मनोरञ्जन क्षेत्र पहिलाको जस्तो चलायमान हुनलाई कोरोना भाइरसको संक्रमणको त्रास हटेपछि पनि कम्तिमा छ महिना लाग्छ जस्तो लाग्छ ।’
















































। २१ चैत्र २०७६, शुक्रबार