जाजरकोट । विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसबाट बच्न कुशे गाउँपालिका जाजरकोटले सचेतिकरणको कामलाई तिब्र पारेको छ । कोरोना भाइरसबाट गाउँबासीको सुरक्षाको लागि गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।
अध्यक्ष बस्नतेका अनुसार गाउँपालिका प्रवेश गर्ने मुख्य नाका बाटुल्या वजार र पाँचकाटिया वजारमा हेल्पडेस्क स्थापना गरिएको छ । यस्तै गाउँपालिकाको मुख्य केन्द्र भार्ममा पनि हेल्पडेस्क स्थापना गरेको उनले बताए । हेल्पडेस्कमा काम गर्ने स्वास्थ्यकर्मीलाई गाउँपालिकाले प्रोत्साहन भत्ताको व्यवस्था गरेर परिचालन गरेको अध्यक्ष बस्नेतले जानकारी दिए ।
गाउँपालिका भित्र स्वास्थ्य सम्बन्धि अध्ययन गरेको दक्ष जनशक्तिलाई करारमा राखेर कोरोनाबाट नागरिकलाई सुरक्षित बनाउने कामलाई थप युद्धस्तरमा अगाडि बढाएको समेत उनले बताए । कोरोना बिरुद्ध थप जनचेतना मुलक लगायत सचेतिकरण कार्यक्रममा प्रहरीको पनि सहभागिता रहेको छ । यस्तै गाउँपालिकाले सडकमा पर्ने साना वजारहरु र मानिस जमघट आवतजावत हुने ठाउँमा सावुन पानीले हातधुने व्यवस्था मिलाएको छ ।
गाउँपालिकाको मालुमेला, बगिरह, बाटुल्या, साँधिबिसाउ, छेडावजार, मालुतरा लगायतका ठाउँमा बुधबार देखिनै हात मुख सफा गर्न सावुन र पानीको व्यवस्था गरिएको छ । त्यसैगरि गाउँपालिकाले सर्वसाधारणको लागि दश हजार मास्क बितरण गर्दै छ भने कोरोना भाइरसको लक्षण र बच्ने उपाय सम्बन्धि ब्रोसर बितरण, सार्वजनिक स्थलमा भेला जमघट नहुन सचेतना कार्यक्रम गरिरहेको अध्यक्ष बस्नेतले बताए ।
सेभ द चिल्ड्रेनको सहयोगमा क्वारेन्टाइनको लागि केही विद्यालयहरु लिने तयारी भइरहेको उनले बताए । अध्यक्ष बस्नेतका अनुसार कुनैपनि नागरिक रोगभोकबाट ग्रसित हुन नदिन सबै नागरिकहरुको स्वास्थ्यको लागि गाउँपालिका युद्धस्तरको तयारीमा हाइएलर्ट रहेको छ । लालअावाज
















































। १३ चैत्र २०७६, बिहीबार