सरकार भन्छ निःशुल्क, विद्यालय लिन्छ शुल्क


जाजरकोट । भेरी नगरपालिका–३, थाप्लेस्थित त्रिभुवन माध्यमिक विद्यालयले अभिभावक सहयोग भन्दै विद्यार्थीबाट शुल्क लिँदै आएको छ।

नमुना विद्यालयका रूपमा छनोट भएको त्रिभुवन माध्यमिक विद्यालयमा ६ देखि १२ कक्षासम्म पठनपाठन हुने गरेको छ। नेपाल सरकारले कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा घोषणा गरे पनि कक्षा ६ का विद्यार्थीबाट एक हजार दुई सय, ७ कक्षाका विद्यार्थीबाट एक हजार चार सय, ८ कक्षाका विद्यार्थीबाट १६ सय, ९ कक्षाका विद्यार्थीबाट एक हजार आठ सय, १० कक्षाका विद्यार्थीबाट दुई हजार, कक्षा ११ र १२ विद्यार्थीबाट चार हजार पाँच सय भर्ना शुल्क उठाइने गरिएको छ। कक्षा ११ र १२ का विद्यार्थीबाट परीक्षा शुल्क पाँच हजार नौ सय लिने गरेको पाइएको छ।

कक्षा ६ देखि १० सम्म अध्ययन अध्यापन गर्ने विद्यार्थीबाट अभिभावक सहयोग भन्दै शुल्क लिने गरेको कक्षा १२ का विद्यार्थी टविन कार्कीले जानकारी दिनुभयो। करिब नौ सय विद्यार्थीले सो विद्यालयमा अध्ययन गर्ने गरेका छन्। विद्यार्थी भर्ना हुँदा सिटिजन्स बैङ्कस्थित त्रिभुवन माध्यमिक विद्यालयको खातामा शुल्क जम्मा गरी भौचर विद्यालयमा पेस गरेपछि मात्र भर्ना हुने व्यवस्था छ। भेरी नगरपालिका–४ का बालकुमार शर्माले विद्यालयले विभिन्न नाममा शुल्क असुल्दै आएको जानकारी दिनुभयो। जाजरकोटका सात वटै पालिकामा रहेका विद्यालयले शुल्क असुल्ने गरेको स्थानीय जितेन्द्रबहादुर बुढाले बताउनुभयो।

उहाँले आधारभूत तहसम्म अनिवार्य र माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्र्ने कानुनी व्यवस्था भए पनि सो कार्यान्वयन हुन नसकेको बताउनुभयो।

तपाईको प्रतिक्रिया