‘जिल्लाको समग्र विकासका लागि सबै पक्ष जुट्नुपर्छ’

No description available.

जाजरकोट जिल्ला कर्णाली प्रदेश अन्तर्गत पर्दछ । यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सञ्चार, विद्युत लगायत विकासका पूर्वाधारहरुमा खासै सुधार हुन सकेको छैन् । विगतका भन्दा अहिले केही सुधार भएपनि आम नागरिकहरुले विकासको अनुभुति गर्न सकेका छैनन् । दुर्गम गाउँमा टेलिफोन समस्या, स्वास्थ्य उपचार, गुणस्तरीय शिक्षा, यातायात, विद्युतको पुहँच बाहिर कतिपय नागरिक बस्नुपरेको छ । डाक्टर छन् औषधी छैन, औषधी छ, डाक्टर छैनन्, विद्यार्थी छन्, शिक्षक छ्रैनन्, शिक्षक छन् विद्यार्थी छैनन्, विद्यालयका भवन पुरानै छन् ।

यस्तै, समस्याहरुले जाजरकोटलाई घेरिरहेका छन् । तिनै समस्याहरुलाई झेल्दै जाजरकोटको छेडागाड नगरपालिकामा जन्मिएका हुन् यज्ञश्वर खत्री । उनले अहिले उच्च शिक्षा हासिल गरी कर्णाली प्रदेश अन्तर्गतको सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख छन् । शैक्षिक क्षेत्रमा लामो समय अनुभव बटुलेका खत्री शैक्षिक क्षेत्रका धरोहर समेत मानिन्छन् । उनै खत्री सँग हामीले विगत, वर्तमान, र समसामयिक विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको अंश ..

स्वागत छ । धन्यवाद
१.तपाईको बाल्यकाल कसरी वित्यो ?
मेरो परिवारमा दुई दाजुभाइ र दुई दिदीबहिनीमध्ये म कान्छो छोरा भएकोले धेरै माया ममता तथा समस्या विहिन तरिकाले अत्यन्तै सुखद रुपमा मेरो बाल्यकाल वित्यो ।कुनै पनि चिजको अभाव खेप्नु परेजस्तो लागेन ।

२. जाजरकोटको विगत र वर्तमानलाई कसरी हेर्नुभएको छ ?
जाजरकोट जिल्ला विगत अत्यन्तै कष्टकर थियो । भौगोलिक, आर्थिक र सामाजिक रुपमा साविकको भेरी अञ्चलमध्ये निकै पछाडि परेको जिल्ला हो . राज्यको पहँचबाट निकै टाढा समेत थियो ।मानव विकास सूचकांकमा जहिले पनि पुछारमा रहने गर्थ्यो तर वर्तमान आशालाग्दो अवस्थामा रहेको छ । जिल्लावासीको आर्थिक तथा सामाजिक अवस्थामा पनि क्रमशः सुधारोन्मुख छ भने राज्यको पहुँचमा समेत विस्तार भएको छ । तथापि यहाँको स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रको अवस्था भने चिन्ताजनक नै छ ।यसमा व्यापक सुधारको आवश्यकता देखिन्छ ।

३. एक राष्ट्रसेवक कर्मचारीको नजरमा यहाँका प्रमुख समस्या के हुन् ?
जिल्लालाई प्राप्त बजेट तोकिएको समयमा खर्च हुन नसक्नु, भएको खर्च पनि सही तरिकाले खर्च नहुनु, सरकारका तहहरुबीच उचित समन्वय नहुनु, विकास निर्माणका कार्यहरुमा दोहोरोपना तेहरोपना हुनु, सेवा प्रवाहमा नागरिक सन्तुष्टि नहुनु, भौगोलिक विकटताका कारण संघीयतामा पनि सेवा लिने दुरी निकै टाढा हुनु लगायतका समस्या देखिन्छन ।

४. सामाजिक विकासमा क्षेत्र शिक्षा, स्वास्थ्यको विकासलाई कसरी हेर्नु भएको ?
शिक्षा, स्वास्थ्यको क्षेत्र कमजोर रहेको कुरा माथि नै जानकारी गराएको छु । यस जिल्लामा शिक्षाको अवस्था दयनीय छ ।शिक्षकले विद्यार्थी विद्यालयमा आदैन र अभिभावकको बालबालिकाप्रति चासो नै छैन भन्ने, विद्यार्थीले शिक्षकले पढाउदैनन् भन्ने खालका एक अर्काप्रति लगाउने आरोप छन\ । सरकारी विद्यालयको अवस्था नाजुक हुनुमा यी माथि उल्लिखित त्रिपक्षीय तत्वहरुको न्यून जिम्मेवारीका साथै नियमन, अनुगम तथा सुपरिवेक्षण गर्ने निकायको समेत कम चासोका कारण जिल्लाको शैक्षिक अवस्था कमजोर हुन पुगेको हो जस्तो लाग्छ ।

त्यसका साथै जिल्लाबाहिरका आयातित विद्यार्थी भित्र्याउने र परीक्षाको समयमा मात्र बढी चासो राख्ने प्रवृत्तिका कारणसमेत शैक्षिक अवस्था सुधार गर्न नसकिएको हो । त्यसैगरी स्वास्थ्य क्षेत्र पनि कमजोर छ । विशेष गरी चेतनाको कमजोरीका कारण बढी रोगको संक्रमण हुने, झारफुकमा बढी विश्वास गर्ने, दरवन्दी अनुसारका दक्ष स्वास्थ्यकर्मीको अभाव लगायतका कारणले स्वास्थ्य अवस्था सुधार हुन सकेको छैन ।

५. समृद्ध जाजरकोट बनाउन कसले के गर्नुपर्ला ?
सर्वप्रथमतः सबै पक्षको सकारात्मक सोच र केही गर्नु पर्छ भन्ने भावना जागृत हुन आवश्यक छ । त्यसैगरी राजनीतिक कर्मीले विकासका लागि राजनीति गर्ने, जिल्लाको विकासका लागि सबै राजनैतिक दलहरु, जनप्रतिनिधिहरुले आवश्यक समन्वय, सहकार्य र सम्बन्धलाई बलियो बनाउने । कर्मचारीले सेवा प्रवाहलाई आफ्नो मूल मत्र बनाउने, विद्यमान ऐन, कानुनको प्रभावकारी कार्यान्वयन गरी कानुनको शासनको प्रत्यक्ष अनुभूति गराउने, विकास निर्माणका कार्यमा तीब्रता दिने र नागरिकस्तरमा समेत सचेतना र खबरदारी हुनुपर्छ ।

६. विकास निर्माणमा राजनीतिक दलको कस्तो भूमिका देख्नुभएको छ ?
पछिल्लो समयमा राजनीति दलहरुले पनि जिल्लाको लागि केही गर्नुपर्छ भन्ने हुटहुटी भएको देख्छु ।राज्यको माथिल्लो निकायसम्म पहुँच विस्तार भएको छ त्यसकारण पनि विकास निर्माणमा उहाँहरुले खेल्नु भएको भूमिका महत्वपूर्ण छ ।

७. अन्त्यमा के भन्नुहुन्छ ?
सर्वप्रथम आफ्नो कुरा राख्ने अवसर दिनु त्यसको लागि तपाइँलाई धेरै धेरै भन्यवाद दिन चाहन्छु । म पनि यसै जिल्लाको नागरिक समेत भएकोले जिल्लाको विकास, सुशासन र समृद्धिप्रति बढी संवेदनशील छु नै, जिल्लाको समग्र विकासका लागि सबै पक्षको योगदान छ र हुनु पनि पर्छ।सार्वजनिक निकायप्रति नागरिक सन्तुष्ट छैनन, नागरिकले भोलि कुनै सेवा लिन जानु छ भने रातभरी चिन्तित हुन्छन, कसलाई भनसुन गर्ने होला, कसैलाई चिनेको छैन लगायतका कुराले मनभरी खेलिरहेको हुन्छ ।

त्यसलाई हामीले सदाका लागि अन्त्य गर्न सक्नु पर्छ । हामीले गर्ने व्यवहार र कार्यशैलीका कारण हाम्रा जनताको खुशी र सुख झल्कनुपर्छ । अनि मात्र हामीले केही गरेको देखिन्छ । त्यसका लागि हामी हर हमेशा संवेदनशील हुनुपर्छ ।

तपाईको प्रतिक्रिया