जगदुल्ला गाउँपालिकाले गर्‍यो सबै घरपरिवारको स्वास्थ्य बीमा

जगदुल्ला गाउँपालिका डोल्पाले सबै घरपरिवारको स्वास्थ्य बीमा गरेको छ। गाउँपालिकाले एकैपटक ५५९ घरपरिवारको स्वास्थ्य बीमा गरेको हो।

स्वास्थ्य बीमा कार्यक्रमको महत्त्वलाई बुझेर गाउँपालिकाका सम्पूर्ण घरधुरी समेटिने गरी स्वास्थ्य बीमा गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले जानकारी दिए। बीमा कार्यक्रममा आबद्ध सबैले यस कार्यक्रममार्फत विभिन्न सेवा सुविधा पाउने र आबद्धता शुल्क समेत गाउँपालिकाले नै तिरेको समेत अध्यक्ष रोकायले बताए।

यस कार्यक्रममा सामुदायका सबै घरपरिवार स्वयम् आबद्ध हुने सम्भावना नभएपछि आबद्ताध शुल्क पनि पालिकाले नै व्यहोर्ने गरी कार्यक्रममा आबद्ध गराइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले स्वास्थ्य बीमाका लागि रु. १९ लाख २८ हजार ८५० रुपैयाँ स्वास्थ्यबीमा बोर्डलाई भुक्तानी गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए।

गाउँपालिकाका स्वास्थ्य संयोजक छिरीङ बुढाले स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रम तय गर्दा स्वास्थ्यबीमा कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउने बताए। सेवा सुविधा राम्रो पाए यो कार्यक्रमलाई स्वयं परिवारले नै निरन्तरता दिने उनको भनाइ छ।

समुदायस्तरमा यो कार्यक्रमको महत्त्व र धारणाबारे सर्वसाधारणले बुझ्न नसकेकै कारण डोल्पामा बीमितको संख्या नबढेको स्वास्थ्य बीमा बोर्ड डोल्पाका संयोजक राजनकुमार डाँगीले बताए। स्वास्थ्य बीमा कार्यक्रम धेरै राम्रो कार्यक्रम भएकाले शुरुमा जिल्लाका सम्पूर्ण स्थानीय तहले सर्वसाधारणलाई कार्यक्रममा समावेश गराउनुपर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया