
विगत लामो समयको इतिहास छ कि लाखौ युवाको योगदान र हजारौं विद्यार्थीको वलिदान बाट प्राप्त अधिकारलाई सुनिश्चित गर्न स्वतन्त्र विद्यार्थी युनियनले नयाँ आयाम दिने गरि निर्माण गरिएको हो । यसको ऐतिहासिक बिरासत छ । नेपाली समाजमा सति प्रथा, राणा शासनको ज्यादती, जातीय छुवाछूत, वर्गीय विभेद, भौगोलिक असमानता, सांस्कृतिक अराजकता, लगायतका समस्याले नेपाली समाज छट्पटी हरेको थियो । विश्वमा नयाँ तारा जसरी शिक्षा क्षेत्र उदाउदै थियो । शिक्षा आम जनताका छोराछोरीले सम्मानपुर्वक लिन पाउनु नैसर्गिक अधिकार हुनु पथ्र्याे । तर राणाहरु त्यो चाहदैन् थिए ।
उनीहरु आफ्नो परिवार र केही निश्चित शासकहरुका छोराछोरीले मात्र शिक्षा लिन पाउन र जनताका छोरा छोरी जहिले पनि दास भएर बाचुन भन्ने सोचाइ राख्थे तर नेपालका सचेत युवाहरुले यो गलत प्रवृत्तिका विरुद्ध निर्मम तरिकाले आवाज उठाउदै आम जनताको दिमागमा अन्यायको विरुद्ध संघर्ष गर्ने कुराको सन्देश दिदै जान थालेपछि राणाहरु अतालिएर वि.स. १९९७ साल माघ ११ देखी १४ गतेको वीचमा नेपालका सचेत युवाहरु शुक्रराज शास्त्री, गङ्गलाल श्रेष्ठ, धर्म भक्त माथेमा र दशरथ चन्दलाई निर्मम तरिकाले यातना दिई खरिको रुखमा झुन्डिएर हत्या गरे ।
भन्ने गरिन्छ शासकको हरेक यातनाले सचेत युवाहरुको विचार कमजोर होइन झन् कडा चट्टानको रुपमा विकास हुन्छ भन्ने उदाहरण बन्यो । १९९७ राणाहरुले के चाहान्थे भने दमनको माध्यम बाटै आन्दोलनलाई परास्त पार्न खोज्थ्ये तर भएन उल्टो अझ नेपाल प्रजा परिषद पार्टी मा लाखौ सचेत युवा विद्यार्थी गोलबन्द हुँदै राणाको विरुद्ध निर्नायक आन्दोलनको सुरुवात भयो । हजारौं जनताले बलिदान गर्नु पर्ने अवस्था सृजना भयो र २००७ सालमा नेपाली जनताको विजयी भइ नेपालमा नेपाली जनताको अधिकारको रुपमा नयाँ व्यबस्था प्रजातन्त्रको शंकघोस भयो र नेपाली जनतामा खशीकोे दिनको आयम छायो । प्रजातन्त्र जनताको घरमा आउने को नाममा आएन यो त नयाँ सन्देश बोकेर नेपाली समाजमा छायो । त्यसको उदाहरण भनेको इतिहासमा महिलाले आफ्नो मताधिकार पाएका थिएनन् ।
२००७ सालपछि महिलाले मताधिकार प्राप्त गरि २०१० सालको नगर पालिकाको निर्वाचनमा साधना प्रधान जनप्रतिनिधि बन्न सफल हुनुभयो । त्यसैगरि २०१५ सालको आम निर्वाचनमा द्धारिकादेवी ठकुरानी निर्वाचित हुन सफल हुनुभयो । त्यति मात्र होइन कयौं वर्ष देखि जरा गाडेर बसको दलित ऐन, वि.स. १९१० को मुलुकी ऐनको खारेज गर्ने काम लगायत शिक्षा क्षेत्रमा जनताका छोराछोरीले सहजै शिक्षा लिन पाउन नेपाल् त्रिभुवन विश्व विद्यालयको स्थापना देखि, विभिन्न प्राविधिक कलेज हुदै, प्रौढ शिक्षा सम्मको थालनी गरियो ।
दुर्भाग्य २०१७ सालमा राजा महेन्द्रले जब प्रजातन्त्रको कु गरे २००७ सालको संघर्षबाट प्राप्त सबै उपलब्धी गुमे । त्यति मात्र होइन बोल्ने आवाजमा प्रतिबन्ध लगाइयो । हिड्ने यात्रामा प्रतिबन्ध लगाइयो आम जनताको पक्षमा रहेका सबै उपलब्धी गुमे । जनताको संघर्षबाट प्राप्त उपलब्धी शैक्षिक अधिकार, जातीय अधिकार, सामाजिक सद्भाव, लैङ्गकि समानता, सूचना संचारको अधिकार सबै गुमेपछि सचेत युवा विद्यार्थीहरु संगठित भएर राज्यको दमनको विरुद्ध संघर्ष गर्न थाले २०१८ सालमा तिर्थराज गोगोलको अध्यक्षतामा विद्यार्थी युनियन पहिलो कार्य समिति निर्माण गरी संगठित रुपमा राज्यको ज्यादती विरुद्ध संघर्ष गर्न थालियो ।
जस्तै आम शैक्षिक हडताल, जुलुस, नेपाल् बन्द, चक्का जाम, आमरण अनशन लगायतका संघर्ष गरी जनताको निरन्तर आवाजहरु उढिरहे संघर्षको क्रममा कयौं लेत बलिदान गर्नुपर्यो कयौ घाइते अङ्ग भङ्ग हुनु परेको थियो विभिन्न संघर्ष आन्दोलन बाट २०३६ सालको जनमत सङ्ग्रह विद्यार्थी आन्दोलन बाट प्राप्त उपलब्धी हो तर विभिन्न छलछाम र षडयन्त्रको कारण सो जनमत सङ्ग्रह जनताको पक्षमा हुन सकेन । त्यतिले मात्र आन्दोलन रोकिएन थप संघर्षका कार्यक्रम झन निर्मम हुँदै गए र अन्तिममा २०४६ सालमा पञ्चायतले पराजित भोग्नुपर्यो र नेपालमा बहुदलीय व्यवस्था को नयाँ आयम छायो ।
तर विद्यार्थी आन्दोलनले राजनीति चेतनाको विकास, सामाजिक रुपान्तरण, वर्तमान समय अनुरुप नयाँ राजनीतिक संस्कारको विकास त गर्यो तर राज्यले स्ववियू लाई हेर्न दृष्ठिकोणमा भने परिवर्तन हुन सकेको छैन । २०१६ मा स्थापित त्रिवि नेपालकै पुरानो तथा ठुलो विश्वविद्यालय हो । नेपालमा अहिले १२ विश्वविद्यालय स्थापना भएका छन् । अन्य विश्वविद्यालयमा स्ववियु स्थापना तथा निर्वाचनको विषयमा भने अझै विद्यार्थी संगठनको ध्यान जान सकिरहेको छैन ।
स्ववियुको विश्वव्यापी अभ्यासलाई नियाल्दा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले अतिरिक्त क्षमता विकासमा ध्यान दिने, विद्यार्थीका दैनिक जीवनमा आइपर्ने समस्यालाई प्रशासनसँग सहजीकरण गर्ने, सूचना आदान—प्रदान गर्ने, शैक्षिक गुणस्तरमा ध्यान दिने, आलोचनात्मक चेतनाको निर्माण, नेतृत्वको विकास, जिम्मेवारी बहन, राजनीतिक चेतना निर्माण, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा छलफल, समाजका ज्वलन्त सामाजिक आर्थिक मुद्दामा बहस आदि गर्ने उद्देश्यले स्ववियुको अभ्यास वा प्रयोग भइरहेको पाइन्छ अब नेपालका विश्व विद्यालयहरुमा स्ववियूलाई नयाँ तरिकाले लिइ नयाँ संस्कारको विकास गर्नु आजको युवा पुस्ताको जिम्मेवारी हो ।
स्ववियू विद्यार्थी आन्दोलनको उपहार हो र यसलाई वर्तमान परिवेश अनुसार नयाँ बनाउनु आजको आवश्यकता हो ।
















































प्रेमबहादुर शाही । ३ चैत्र २०७९, शुक्रबार