किसानलाई अनुदानमा पशुपालन गोठ बनाउँदै बारेकोट

No photo description available.

जाजरकाेट । घरको माथिल्लो तलामा मानिस र तल्लो तलामा पशुचौपायको गोठ बनाएर दैनिकी चलाइरहेका बारेकोट गाउँपालिकाका किसानले अब छुट्टै गोठ पाउने भएका छन् । मानव स्वास्थ्यका हिसाबले अत्यन्तै प्रतिकूल पर्ने भन्दै बारेकोट गाउँपालिकाले विपन्न तथा गरिबीको रेखामुनि रहेका सर्वसाधारणलाई अनुदानमा गोठ बनाउने नीति ल्याएसँगै सर्वसाधारण खुसी भएका छन् ।
एक लाखसम्म गोठ निर्माणका लागि रकम माग भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । बारेकोट गाउँपालिकाभित्र अधिकांश किसानको घरको माथिल्लो तलामा मानिस र तल्लो तलामा पशु चौपाय पालनका लागि गोठ रहने गरेको छ । गोठ र मानिस एकै घरमा रहने भएपछि जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने गरेको अध्यक्ष गिरीले बताए ।
बारेकोट गाउँपालिकामा ३ हजार ५ सय ५७ घर घरधुरी रहेको छ । पशुपालन नगर्ने किसानबाहेक पशुपालन गर्नेको एकै घरमा पशु र मानिस बस्नुपर्ने हुन्छ । गाइ, गोरु, भैँसी, बाख्रा भेडा र घोडा तल्लो तलामा बाँधेर राख्ने र माथिल्लो तलामा परिवारका सबै सदस्य बस्दै आएका सर्वसाधारणलाई मात्र अनुदानमा गोठ बनाउन गाउँपालिकाले रकम सहयोग गर्ने अध्यक्ष गिरीले जानकारी दिए ।
पशुपालनको राम्रो सम्भावना भएको पालिका बारेकोट हो । वर्षायाममा पाटनतर्फ र हिउँद याममा आफ्नै घर वरिपरि रहेको पाखामा रहेको घाँस खुवाएर पशुचौपाय पालन हुने गरेको छ । अहिले पालिकाभित्र रहेका वास्तविक गरिब पशुपालक किसानको तथ्यांक संकलन गर्ने काम सुरु भएको छ । सुरुमा बारेकोट गाउँपालिका–१ सिल्पाचौरको पुनगाउँबाट कार्यक्रम लागू गरिने पालिकाले जनाएको छ ।

सुरक्षित गोठ निर्माण भएसँगै पशुपालन व्यवसायसमेत फस्टाउने गाउँपालिकाको विश्वास छ । अलग गोठ निर्माण भएमा मानव स्वास्थ्यलाई समेत सहयोग पुग्ने अपेक्षा छ । गोठ र घर छुट्याएपछि मात्र यहाँको स्वास्थ्य अवस्था थप राम्रो हुने पालिकाले जनाएको छ । पशुचौपायको मलमूत्र गन्ध माथिल्लो तलामा आउनुका साथै घरभित्र जाँदा र आउँदासमेत प्रतिकूल असर पर्ने गरेको छ । यही समस्याई बुझेर आफैँ गोठ बनाउन नसक्ने सर्वसाधारणलाई गाउँपालिकाद्वारा अनुदान दिएर गोठ बनाउन लगाउने नीति लिइएको छ ।

भर्खरैमात्र पालिकामा सडक सञ्जाल जोडिएका कारण यहाँ आधुनिक घर निर्माण भएका छैनन् । परम्परागत घर भएका कारण सोहीअनुसारको व्यवस्थापन गरिएको हुन्छ । आर्थिक रूपमा सक्षम भएको, रोजगारी भएको परिवारलाई भने गोठ आफैँ बनाउन लगाउने गाउँपालिकाले नीति लिएको छ । गोठ सुधार अभियानलाई प्रभावकारी बनाएमा मात्र पशुपालन व्यवसायसमेत फस्टाउने गाउँपालिकाले जनाएको छ ।

पालिकाले अहिले पशु शाखामार्फत् विभिन्न कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन् । गरिब तथा विपन्न वर्गका किसानलाई लक्षित गरी पालिकाले सबै कार्यक्रम सञ्चालन गरेको छ ।

तपाईको प्रतिक्रिया