कार्यालय सहयोगीले चलाउँछन इलाका प्रशासन

खड्क सुनार, मुगु ।
मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाँउपालिकामा रहेको इलाका प्रशासन कार्यालय विगत ३१ महिनादेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुदै आएको छ ।
२०७३ साल कात्तिक महिनामा स्थापना भएको इलाका प्रशासन कार्यालयले स्थापनायता ६ महिना मात्र कार्यालय प्रमुख पाए पनि बाँकी अवधि कार्यालय सहयोगीको भरमा संचालन हुँर्दै आएको हो ।
एक जना अधिकृत, नायव सुब्बा दुई , सहायक कम्यूटर अपरेटर एक, सहायक लेखापाल एक र कार्यालय सहयोगी दुईसहित ७ जना कर्मचारीको दरबन्दी रहेपनि लामो समयदेखि दुई जना कार्यालय सहयोगीको भरमा कार्यालय छोडिएको छ ।

स्थापनाकालसँगै कार्यालय प्रमुख दिलबहादुर पौडेलले ६ महिना सेवा संचालन गरेर काज फिर्ता भएपछि त्यसयता प्रशासनमा कार्यालय संचालन गर्न कुनै अधिकृत कर्मचारी खटाइएको छैन । अधिकृत पौडेलको काज सरुवा फिर्तासँगै त्यहाँ रहेका अरु कर्मचारी पनि सरुवा मिलाएर गएपछि प्रशासन कार्यालय सहयोगीको भरमा छोडिएको हो

प्रतिमहिना आठ हजार ८ सय घरभाडामा संचालन उक्त कार्यालयका सामाग्रीको हेरचाह गर्नेबाहेक अरु काम पूर्णरुपले बन्द छ । अफिसियल काम काज गर्ने कर्मचारी नहुँदा कार्यालयबाट कुनै पनि प्रकारको सेवा प्रवाह हुन सकेको छैन । कर्मचारीको लागी पटक पटक गृह मन्त्रालयमा पत्राचार गरेपनि सुनुवाई भएको छैन ।

शोरु गाउँपालिका अन्र्तगत पर्ने भिई , नार्थपु , फोतु , धैनकोट , कालै , फोतु , सोरुकोट , रुम , गिलाहा , लगायतका स्थानका नागरिकलाई सरकारी सेवा दिने उदेश्यले स्थापना गरिएको सो इलाका प्रशासनमा हाल कर्मचारी नभएपछि स्थानीयलाई तीन दिनको पैदल यात्रा गरेर सदरमुकाम गमगढी धाउनुपर्ने बाध्यता छ ।
आफनै घरआँगनमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएपछि ताँमझामका स्वागत गरेका स्थानीयहरु छोटो समयै कार्यालयबाट सेवा प्रवाह बन्द भएपछि खिन्न भएका छन । शोरु गाँउपालिका वाड नम्बर १ नरबिर शाहीले गाँउबाट सेवा लिन पाईने भयो भनेर खुसी जनता अहिले निरास भएको बताए ।

उनले भने, ‘प्रशासन आँउदा बल्ल सरकार आए जस्तो भएको थियो, यतिछिटो नै खाली हुँदा हामीलाई फेरि दुखः हुने भएको छ । ’ गाँउमा आएको प्रशासनमा कर्मचारी नभएपछि काम रोकिनु राम्रो नभएको बताउँदै शाही जिल्लाका नेता र सरकारलाई कर्मचारी व्यवस्थ गर्न आग्रहसमेत गरे ।

लामो समयदेखि अधिकृतसहित कर्मचारी खाली भएपछि स्थानीय राजनीतिक दलका नेताले कर्मचारी ल्याउने आश्वसन मात्र दिएको तर काम नगरेको स्थानीयको गुनासो छ । अर्का स्थानीयबासी रुपसिंह नेपालीले सन्तानको नागरिकता बनाउन फेरि सदरमुकाम जानुपर्ने बाध्यता आइलागेको बताउँदै नेतालाई जनताका समस्या बुझेर काम गर्न आग्रह गरे ।

जिल्लामै कर्मचारी नहुँदा इलाका प्रशासनमा आवश्यकता अनुसार कर्मचारी खटाउन नसकिएको मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । कार्यालयनै खाली हुने अवस्था आउन नदिन मन्त्रालयमा पटकपटक लेखर पठाएको र लोकसेवा कार्यालयमा पनि दरबन्दी माग गरेको उनले जानकारी दिए । यसै गरि स्थानीयलाई सेवा दिने उदेश्यले सोरुसँगै मुगुको कामारोङ्ग गाँउपालिकामा स्थापना गरिएको इलाका प्रशासन कार्यालय कर्मचारीको अभावले सेवा प्रवाह बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया