भेरी सामुदायिक विकास मञ्चको दोस्रो साधारण सभा सम्पन्न


जाजरकोट । भेरी सामुदायिक विकास मञ्चको दोस्रो साधारण सभा तथा लेखापरिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘हाम्रो प्रतिबद्धता सामाजिक रुपान्तरणका लागि टोल विकास संस्थाहरुको अग्रसरता’ भन्ने मुल नाराका साथ मञ्चको दोस्रो साधारण सभा सम्पन्न भएको हो ।

आईतबार सदरमुकाम खलंगाको रम्बा होटलको हलमा सञ्चालन गरिएको कार्यक्रममा भेरी सामुदायिक विकास मञ्चको उपाध्यक्ष कौसिला कुमारी शाहीको अध्यक्षतामा, भेरी नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्तिको प्रमुख आतिथ्यतामा, जिल्ला समन्वय समिति उप प्रमुख दलबहादुर सिंहको विशेष आतिथ्यतामा २५० भन्दा बढी टोलविकास सदस्यहरुको सहभागितामा सम्पन्न भएको भेरी सामुदायिक विकास मञ्चका कार्यक्रम संयोजक दिपेन्द्र कार्कीले जानकारी दिए ।

साधारण सभा तथा सामाजिक लेखापरिक्षणमा भेरी नगरपालिका वडा नं. ५,७,८,९,१०,१२ र १३ का वडा अध्यक्षहरु विभिन्न पार्टिका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । समारोहमा सम्पूर्ण सहभागीहरुलाई संस्थाकी कोषाध्यक्ष सिता डवाडीले स्वागत गरेकी थिईन् भने सचिव सुजन के.एसले वार्षिक प्रतिवेदन,आर्थिक प्रतिवेदन र आगामी प्रतिवेदन प्रस्तुत गरे ।

भेरी सामुदायिक विकास मञ्च, खलंगा जाजरकोट
दोस्रो वार्षिक साधारण सभा २०७९ असोज ९

वार्षिक प्रतिवेदन २०७८÷२०७९

आदरणीय यस प्रथम वार्षिक साधारण सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथि ज्यु,विशेष अतिथि ज्यु, अतिथिको रुपमा आसन गह्रण गर्नु भएका विभिन्न राजनैतिक दलका प्रतिनिधि ज्यु, विभिन्न कार्यालय तथा संघसंस्थावाट आउनुभएका संस्था प्रमुख तथा प्रतिनिधि ज्यु, र यस संस्थामा आवद्ध टोल विकास संस्था सदस्य साथीहरु लगाएत यस सभामा उपस्थित महानुभावहरु, अव म भेरी सामुदायिक विकास मञ्च खलंगा जाजरकोटको वार्षिक प्रतिवेदन प्रस्तुत गर्न चाहन्छु ।

भेरी सामुदायिक विकास मञ्च,जाजरकोट समुदायमा आधारित कार्यसञ्जाल संस्था हो । २०७८ साल फागुन १६ गते जिल्ला प्रशासन कार्यालय जाजरकोटमा विधिवत रुपमा दर्ता भई आफ्नो कार्यक्षेत्र भेरी नगरपालिका भित्र वसोवास गर्ने सिमान्तिकृत मानिसहरुको क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । भेरी नगरपालिका तथा विकास कोष नर्वेको आर्थिक सहयोग र सहकर्मी समाजको सहजीकरणमा भेरी नगरपालिकाका सवै वडामा स्थापित भएका ९५ वटा टोल विकास संस्था र १३ वटा वडास्तरिय मुलसमितिहरुमा आवद्ध सदस्यहरुको प्रतिनिधित्वमा वनेको यस कार्यसञ्जाल संस्थाको मूख्य उद्देश्य हरेक दृष्टिकोणले पाखा लगाईएका मानिसहरुको जिवनस्तरमा बृद्धी तथा क्षमतामा विकास गर्दै भेरी नगरपालिका भित्र रहेका टोल विकास संस्था तथा मूलसमितिहरुको समस्या पहिचान र उनिहरुको अधिकारमा आधारित सवालहरुमा आवश्यक सहयोग तथा समर्थन पु¥याउँदै संस्थागत विकास गर्नु र स्रोत माथिको पहुँचमा बृद्धी गर्नु हो ।

विकासको वाहक अरु कोहि नभै हामी आफै हौं हामीले चाहे जे पनि गर्न सक्छौ भन्ने विश्वास तथा विचारको जागरण ल्याउन स्थापना गरिएको यस भेरी सामुदायिक विकास मञ्चले गत आर्थिक वर्ष २०७८÷२०७९ मा गरेका मूलमूल क्रियाकलाप, उपलब्धि, समस्या तथा सिकाईहरु र आगामी वर्ष ०७९ ÷०८० का लागि प्रस्तावित कार्यक्रम र अनुमानित आय व्यय विवरण संक्षेपमा प्रस्तुत गर्न चाहन्छु ।

भेरी सामुदायिक विकास मञ्चद्वारा सम्पन्न क्रियाकलापहरु :

१.टोल विकास संस्था सदस्य आवद्धता पत्र वितरण : टोल विकास सस्थामा आवद्ध सदस्यहरु २१५९ मध्य १७२९ जनाको सदस्य आवद्धता पत्र तयार गरि वितरण प्रकृया जारी रहेको छ भने वाँकी सदस्यहरुको सदस्यताका लागि प्रकृया अगाडी वढाइको छ ।

२.टोल विकास संस्था तथा मुलससमितिहरुकोे साधारण सभा सम्पन्न : टोल विकास संस्थाहरुको प्रतिनिधित्वमा वनेका सवै वडा स्तरिय मुलसमिति र टोल विकास संस्थाहरुको दोस्रो वार्षिक साधारण सम्पन्न भएको छ ।

३.टोल विकास संस्थाहरुको बचत कोष व्यवस्थापन र परिचालनमा आवश्यक समर्थन : टोल विकास संस्थाहरुको बचत कोषलाई व्यवस्थापन गर्न टोल विकास संस्थाहरुकै लगानीमा पासवुक र लेजर छपाई वितरण गरि हिसाव राख्न आवश्यक तालिम र समर्थन दिने काम सम्पन्न भएको छ ।

४.समन्वय तथा सम्वन्ध विस्तार : भेरी सामुदायिक विकास मञ्चले आफ्नो कार्यक्षेत्रमा रहेका सरकारी तथा गैरसरकारी संस्थाहरुसंगको सम्वन्धलाई मजवुत गराई सहकार्यको वातावरण सृजना गर्न आवश्यक पहल गरिरहेको छ ।

५.सिकाई आदान प्रदान : टोल विकास संस्थाहरुले गरेका असल अभ्यासहरु एक आपसमा आदान प्रदान गर्न वडा स्तरिय सिकाइ आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

६.नीति नियम निर्माण र पुनरावलोकन : भेरी सामुदायिक विकास मञ्चको कार्यक्रमलाई सशक्त रुपले अगाडी वढाउन पहिला वनाएका नीति नियमहरु आवश्यक्ता अनुसार पुनरावलोकन गर्ने र आवश्यक नियमावलीहरु निर्माण गर्ने काम सम्पन्न भएको छ ।

७.टोल विकास संस्था तथा मुल समितिहरुको अनुगमन : आफ्नो कार्यक्षेत्र भित्र रहेका टोल विकास संस्थाहरुको नियमित अनुगमन गरि आवश्यक सल्लाह र समर्थन दिने काम सम्पन्न भएको छ ।

८.समस्या विश्लेषण कार्ययोजना निर्माण र कार्यन्वयन : टोल विकास संस्थाहरुमा भएका समस्या हरु पहिचान गरि ९५ वटा टोल विकास संस्थाहरुमा गास, वास, शिक्षा, स्वास्थ्य र वेरोजगार सम्वन्धि समस्याहरुमा विश्लेषण गराउने र समाधानका लागि उपाय खोजि कार्ययोजना वनाई कार्यान्वयन तर्फ अग्रसर गराउन जागरुक गराउने कामहरु सम्पन्न भएका छन ।

९.नियमित वैठक वस्ने : संस्थाको नियमित तथा आवश्यक्ताको आधारमा कार्यसमितिको वैठक वसी आवश्यक विषयमा छलफल गर्ने र निर्णय कार्यान्वयन गर्ने काम सम्पन्न भएका छन ।

१०. कार्यक्रम सम्झौता गर्ने : भेरी सामुदयिक विकास मञ्च र सहकर्मी समाज नेपाल विच सन २०२२ को लागि कोसेली कार्यक्रम सम्झौता भइ भेरी सामुदायिक विकास मञ्चमा आवद्ध टोल विकास संस्था सदस्यहरुको क्षमता विकास तथा जीवीकोपार्जन सुधारका लागि कोसेली कार्यक्रम निरन्तरता गरिएको छ ।

११. तालिम तथा क्षमता विकास कार्यशाला सञ्चालन : टोल विकास संस्थाहरुको आवश्यक्तामा आधारित रहेर टोल विकास संस्था सदस्यहरुको लागि यस वर्ष सुधारिएको चुलो निर्माण, उद्यमसिलता विकास, वचत व्यवस्थापन,तरकारी खेति, नर्सरी तयार, जैविक विषादी निर्माण, विपत् व्यवस्थापन, पशुस्वास्थ्य कार्यकर्ता,नेतृत्व विकास ,लैंगिक समता तथा सामाजिक समावेशीकरण र पोषण स्वास्थ्य सरसफाई जस्ता तालिमहरु सम्पन्न भएका छन ।

१२.टोल विकास संस्थाहरुलाई आयआर्जन तथा जीविकोपार्जन सुधारका लागि घुम्ति कोष वितरण : सक्रिय र प्रभावकारी रुपमा सञ्चालन भएका कम्तिमा रु तीसहजार बचत कोष पु¥याएका २२ वटा टोल विकास संस्थाका ७५ जना सदस्यहरुलाई आयआर्जनका काम सञ्चालन गर्न घुम्ति कोषको रुपमा रु २२ लाख ५० हजार रुपैयाँ उपलव्ध गराइएको छ ।

१३. फल फुलका विरुवा ढुवानी समर्थन : भेरी सामुदायिक विकास मञ्चमा आवद्ध २५ वटा टोल विकास संस्थाका ३०० जना सदस्यहरुले खरिद गरेका ३,५०० फलफुलको विरुवा ( कि.वि.,एभोकार्डो, आँप, अनार, कागति, टिमुर, केरा, ओखर आदी ) ढुवानीका लागि सहयोग गर्ने काम सम्पन्न भएको छ ।

१४.छात्रवृति वितरण : आफ्नो आर्थिक अवस्थाका कारण पढाइ छाडन लागेका भेरी नगर १ कि रितु पुन र ९ की गिता वि.क. लाई रु २५ हजारका दरले छात्रवृति उपलव्ध गराउने काम सम्पन्न भएको छ ।

१५.निर्माण तथा मर्मत सुधार : भेरी सामुदायिक विकास मञ्चमा आवद्ध टोल विकास संस्थाहरुले आफ्नै श्रम र मेहनतमा सरसफाई अभियानहरु सञ्चालन गर्ने , बाटोघाटो निर्माण तथा मर्मत सुधार गर्ने ,पानिका मुहानहरु संरक्षण गर्नुका साथै चेतना जागरणका अभियानहरु सञ्चालन गर्ने कामहरु सम्पन्न भएका छन ।

भेरी सामुदायिक विकास मञ्च, जाजरकोटका उपलब्धि तथा प्रभावहरु :
– भेरी सामुदायिक विकास मञ्चमा आवद्ध टोल विकास संस्थाहरुले गरेको प्रभावकारी कामहरुबाट प्रभावित भएर टि. सि. पि ग्लोवल फन्ड वाट प्राप्त भएको रु १९ लाख रुपैयाँ टोल विकास संस्थाहरुमा लगानी गरिएको छ जसले भेरी सामुदायिक विकास मञ्चमा आवद्ध सदस्यहरको समस्या समाधान गर्न मद्धत पुगेको छ ।

– टोल विकास संस्था,मूलसमिति र संस्था विचको आपसी सम्वन्ध र सहकार्यको वातावरण मजवुत हुँदै गएको छ भने जातिगत रुपमा हुने विभेदहरुमा कमी आएको छ ।

– समुदायमा गरिएका स्वास्थ्य तथा पोषण सुधार सम्वन्धि तालिम तथा अन्तरक्रियाले सरसफाई र खाने बानिमा सुधार आउनुको साथै घर वरीपरि फलफुलको विरुवा लगाउन थालेका छन ।

– खाद्य सुरक्षा तथा कृषि सम्वन्धि गरिएका छलफल, अन्तरक्रिया र तालिमबाट प्रभावित भएर स्थानिय विउको खोजि, प्रयोग र बाझो जग्गाको परिचालन गर्नेको संख्यामा वृद्धी भएको छ ।

– उर्जा वचत सम्वन्धि गरिएको तालिमका कारण भेरी ७ मा दुइ वटा टोल विकास संस्थाका ५५ घरपरिवारले सुधाररिएको चुलो निर्माण गरि प्रयोगमा ल्याएका छन ।
– टोल विकास संस्थाहरु स्थापना भएपछी लगाएका आँप, कागति र अनारका बोटहरु फलेर उत्पादन दिन थालेपछी सदस्यहरु उत्साहित भएका छन भने समूह सदस्यहरुमा फलफुलका बिरुवा लगाउन पर्छ भन्ने बानी प्रति मानिसहरुको आकर्षण वढेको छ ।

– सहकर्मी समाजसंगको साझेदारी सन २०२५ सम्मको लागि निश्चित भएको छ भने सहकर्मी समाज र भेरी नगरपालिका सँगको सम्झौता विस्तारले भेरी नगरपालिकाका सवै वडामा कार्यक्रम नियमित गर्ने अवसर प्राप्त भएको छ जसले टोल विकास संस्थालाई थप संगठित र सशक्त हुन मद्धत पुगेको छ ।

– ६ वटा टोल विकास संस्थाको बैठक वस्ने घर निर्माण भएका छन जसले टोल विकास संस्थाको वैठक वस्न सहज भएको छ ।

– सार्वजनिक सम्पत्तिहरुको संरक्ष्ण,सम्वद्र्धन र पुर्नप्रयोगको वातावरण सृजना भएको छ ।

– स्थानिय श्रोतको पहिचान र परिचालनमा वृद्धी हुनुको साथै सामाजिक परिवर्तनका लागि स्थानिय अग्रसरतामा वृद्धी हुन थालेको छ ।

– सिमान्तिकृत समूदायका मानिसहरु आफ्नो हक अधिकारको वारेमा कुरा गर्न सक्ने र आवाज उठाउन सक्ने क्षमतामा वृद्धी भएको छ ।

– टोल विकास संस्थामा आवद्ध धेरैजसो सदस्यहरुले आफ्ना समस्याहरु निर्धक्क रुपमा सम्वन्धित ठाउँमा राख्न सक्ने भएका छन ।

– समूदायमा हुने विभिन्न विवाद र झैझगडामा कमी आएको छ ।

– टोल विकास संस्थाहरुको आफ्नो समस्या पहिचान गर्ने र समाधान गर्न सक्ने क्षमतामा विकास भएको छ ।

– आँफुहरुबाट हुने गरेको फजुल खर्च कटाइ टोल विकास संस्थाहरुले सुरु गरेको वचत अहिले ५८ लाख पुगेको छ । जुन कोषबाट सहयोग लिएर २१५ जना र संस्थावाट प्राप्त घुम्ति कोष लिएर ७५ जना गरि जम्मा २९० जना सदस्यहरुले बाख्रा, कुखुरा पालन तथा खुद्रा, नास्ता पसल सञ्चालन र तरकारी खेति गरि जिवनस्तर सुधार तर्फ उन्मुख भएका छन ।
– भेरी सामुदायिक विकास मञ्च मार्फत सञ्चालन गरिएका विभिन्न तालिम अन्तरक्रिया (उद्यमसिलता विकास तालिम, वचत परिचालन सम्वन्धि अन्तरक्रिया, पशु उद्यमसिलता विकास तालिम, पशु स्वास्थ्य तथा रोग उपचार सम्वन्धि तालिम, पोषण सम्वन्धि अन्तरक्रिया, सरकारी सेवा प्रभाव मापन कार्यशाला) बाट टोल विकास संस्थाका सदस्यहरु आयआर्जनका क्रियाकलाप तर्फ उन्मुख भएका छन ।

– आयमुलक कार्यका लागि गरिएको समर्थनले र समुदायमा आएको जागरणले टोल विकास संस्थाका सदस्यहरुमा परिवर्तन अरुबाट होइन आँफैबाट सम्भव छ भन्ने विश्वास वृद्धी भएको छ ।

– आफ्ना सदस्यहरु लाई समस्या परेमा ,विरामी भै उपचार गर्न नसक्ने भएमा आवश्यक सहयोग संकलन गरि सहयोग गर्ने र समस्या समाधन गर्न समर्थन दिने पद्धतिको विकास भएको छ ।

भेरी सामुदायिक विकास मञ्चका समस्या तथा चुनौतिहरु :

 आफ्नो उन्नति, प्रगति, अरुबाट होइन आँफैबाट सम्भव छ भन्ने विश्वास जगाउन र सोही अनुसार कार्यक्रम अगाडी वढाउन निकै चुनौति भएको छ ।

 भेरी सामुदायिक विकास मञ्चको कार्यक्षेत्र ठुलो र स्रोतको कमीले संस्थाको लागि आवश्यकिय व्यवस्थापन मिलाउन,कार्यसमितिको नियमित वैठक वस्न, समस्याहरु माथि आवश्यक विश्लेषण गरि समाधानका लागि उपाय खोज्न समस्या भएको छ ।

 स्थानीय समस्या समाधान तथा जीविकोपार्जन सुधारका लागि स्थानीय साधन श्रोतको पहिचान र परिचालन, वाह्यि स्रोतको खोजि र पहुँचमा वृद्धी गर्न गराउन भेरी सामुदायिक विकास मञ्चलाई कठिन भएको छ ।

 विभिन्न संघसस्थाहरु आएर समूदायमा विभिन्न समूहरु वनाउने एकै समूह मार्फत काम नगर्ने, वनिरहेको समुहमा समर्थन नदिने, प्रकृयाले समूहमा दिगोपना ल्याउनका लािग एक समूदायमा एकै समूह मार्फत सवै काम गर्न सकिन्छ भन्ने विश्वास जगाउन समस्या भएको छ ।

 विभिन्न संघसस्थाहरु सँगको सम्वन्ध राम्रो भएपनि विश्वासको वातावरण सृजना गरी सहकार्यको वातावरण मिलाउन समस्या भएको छ ।

भेरी सामुदायिक विकास मञ्चका सिकाईहरु :

 भेरी सामुदायिक विकास मञ्चको कार्य अनुभवले जिम्मेवारी र अवसर पायो भने हरेक गतिविधि प्रभावकरी रुपले पुरा गर्न सकिन्छ ।

 आफ्ना टोलहरुको सरसफाइ व्यवस्थापनका लागि टोल मात्र परिचालित नभएर सवै परिचालित हुने व्यवस्था मिलाउन नियमहरु वनाएर कार्यान्यनका लागि स्थानिय सरकारको सहयोग लिन जरुरी छ ।

 समुदायको अग्रसरतामा वनेका सामुदायिक टोल विकास संस्थाहरु कहिल्यै निश्कृय हुदैनन् ।

 समुदायका मानिसहरुको समस्या र आवश्यक्तको पहिचान गरि उपलव्ध गराइएको स्रोत साधनहरुको परिचालन दिगो र प्रभावकारी हुन सक्दछ ।

 अरुको सहयोग विना पनि नियमित वैठक वस्ने र कार्यक्रम सञ्चालन गर्न सक्ने टोल विकास संस्थाहरुको पहिचान गरि स्थानीय तहमा सुचिकृत गराउँदा टोल विकास संस्था परिचालन कार्यक्रम अझ प्रभावकारी हुन सक्दछ ।

आगामी वर्ष ०७९÷०८० का लागि भेरी सामुदायिक विकास मञ्चका प्रस्तवित कार्यक्रमहरु :
भेरी सामुदायिक विकास मञ्च स्थापनाको पहिलो वर्ष पार गरि दोस्रो वर्षमा प्रवेश गरेको अवस्थामा यस संस्थाले आफ्नो परिकल्पना लक्ष्य तथा उद्देश्यहरु परिपुर्तिका लागि आफ्नो तर्फबाट निरन्तर प्रयास जारी राखेको छ । एक वर्षको अन्तरालमा विभिन्न किसिमका अनुभव,सफलता ,सिकाई हाँसिल गर्नुको साथै विभिन्न किसिमका चुनौतीहरुको पनि सामना गर्दै आईरहेको छ । सिमित स्रोत र साधनका वावजुद भेरी सामुदायिक विकास मञ्चले समूदायको विद्यमान अवस्था अनुृसार आफ्नो अनुभव र सिमित स्रोतको आधारमा आगामी वर्षका लागि (०७९÷०८०) निम्न कार्यहरु तय गरिएको छ ।

१.टोल विकास संस्थाको प्रतिनिधिमुलक संस्था भेरी सामुदायिक विकास मञ्चलाई यस आर्थिक वर्ष भित्र समाज कल्याण परिषदमा आवद्ध गराउने ।

२.टोल विकास संस्थाहरुको आफ्नै सक्रियता जम्मा भएको ५८ लाख बचत कोषलाई कम्तिमा ७५ प्रतिशत आयमूलक काममा लगानी गर्न हौसला दिने र अझ सम्म बचत नगरेका केही टोल विकास संस्थाहरुलाई बचतका लागि प्रेरित गर्ने ।

३.टोल विकास संस्थाको कोष व्यवस्थापन गर्नका लागि बचत गरेका सवै टोल विकास संस्थाहरुमा पासवुक र लगानी असुली खाता व्यवस्थापन गर्न आवश्यक समर्थनका लागि निरन्तरता दिने ।

४. टोल विकास संस्था परिचालनको कार्यक्रमलाइ अझ प्रभावकारी गराउन भेरी नगरपालिका तथा अन्य दातृ निकाय सँग कार्यक्रम विकास गरि प्रस्ताव गर्ने र सहकर्मी समाज संग भएको सम्झौता भेरी सामुदायिक विकास मञ्च सँग गर्ने वातारवरण मिलाउने ।

५.पोषण तथा स्वास्थ्य सुधारका लागि लागि टोल विकास संस्थाहरुमा स्वास्थ्य,पोषण,सरसफाई र वातावरण सम्वन्धि चेतनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने र टोल विकास संस्थामा आवद्ध प्रत्येक ग्रामिण घरपरिवारमा ५ फलफुलको विरुवा र एक करेसावारीको अवधारणलाई विशेष जोडका साथ तिव्रता दिन आवश्यक तालिम र सहयोगको व्यवस्था गर्ने ।

६.घरेलु हिंसावाट पिडित समूदायहरुमा घरेलु हिंसा कम गरि समुदायमा शान्ति कायम गर्न सामूदायिक छलफल अन्तरक्रियाको आयोजना गरि समस्या समाधानका लागि सहजीकरण गर्ने ।

७.आफ्नो केही कार्यक्षेत्रमा अझपनि स्वस्थ खानेपानिको अभाव भएको हुँदा त्यस्ता सेवा दिने संस्थाहरुको खोजि गरि आवश्यक सहयोगका लागि पहल गर्ने ।

८.भेरी सामुदायिक विकास मञ्चको आफ्नै भवन नभएकोले भवन निर्माणका लागि आवश्यक जग्गा र स्रोतको खोजि गर्ने ।
९.टोल विकास संस्थाको परिचय पत्र लिन वाँकी रहेका सदस्यहरुलाई परिचय पत्रको व्यवस्था गर्ने ।
१०.जिल्ला स्तरमा काम गर्ने सरकारी तथा गैर सरकारी संस्थाहरुको आधारभुत तथ्याङ्क संकलन गर्ने कार्यलाई निरन्तरता दिने र तिनिहरुवाट प्राप्त हुने सेवा सुविधाहरुको वारेमा टोल विकास संस्थाहरुलाई सुचना जानकारी दिने ।

११.समाजमा हुने अन्याय,अत्याचार, दमन, उत्पिडन विरुद्ध चेतना जगाउने र सुशासित समाज स्थापनाका लागि समर्थन पु¥याउने ।

१२.आफ्नो मातहतमा रहेका मूलसमिति तथा टोल विकास संस्थाहरुको नियमित अनुगमनको व्यवस्था मिलाउने ।

१३. उद्यम गर्न चाहने सदस्यहरुको पहिचान गरि उद्यमसिलता विकास तालिमको आयोजना गर्ने र उद्यमसिलता विकासका लागि कम्तिमा ८१ जनालाई घुम्ति कोष व्यवस्था गर्न आवश्यक पहल गर्ने ।
१४.वातावरणीय संरक्षणका लागि सररफाई अभियान चलाउने र सुधारिएको चुलो निर्माणका लागि उत्सुक सदस्यहरुलाई तालिम तथा आवश्यक समर्थन दिने ।

१५.समूदायमा अस्तित्वमा आएका टोल विकास संस्था मार्फतनै अन्य संघसस्थाले काम गर्ने वातावरण मिलाउन जिल्ला समन्वय समिति, नगरपालिका र काम लिएर आउने संस्थालाई अनुरोध गर्ने ।

१६.पशु वस्तु विरामी हुने र मर्ने समस्यालाई कम गर्न पशुरोग तथा उपचार सम्वन्धि तालिमको व्यवस्था गर्ने र जोखिम कम तथा क्षतिपुर्तिका लागि पशु विमा गर्न टोल विकास सदस्यहरुलाई जागृति गराउने ।

१८.भेरी सामुदायिक विकास मञ्चको सहयोगमा ३५ दिने ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम प्राप्त व्यक्तिलाई आवश्यक उपकरण समर्थनका लागि पहल गर्ने ।

१९. महत्वपुर्ण दिवशिय कार्यक्रमका लागि वडा स्तरिय मुल समितिलाई आवश्यक सहयोग उपलव्ध गराउन प्रयास गर्ने ।

२०.सरकारी सेवा सुविधा प्रभाव मापन कार्यशाला सञचालन र सहजीकरण गर्ने ।

२१.टोल विकास संस्थाहरुको साझा चासोको विषय पहिचान गरि समाधानका लागि छलफल अन्तरक्रियाको आयोजना गर्ने ।

२२.गरिब, दलित तथा गर्भवती महिलाहरुको पोषण सुधारका लागि छलफल अन्तरक्रिया गर्ने र वास्तविक गरिव तथा गर्भवती महिला पहिचान गरि आवश्यक सहयोग गर्ने ।

प्रतिवेदक : सुजन के.यस.
सचिव

आर्थिक प्रतिवेदन

आदरणीय यस दोस्रो वार्षिक साधारण सभाका सभाध्यक्ष महोदय,प्रमुख अतिथि ज्यु, विशेष अतिथि ज्यु, अतिथिको रुपमा आसन गह्रण गर्नु भएका विभिन्न राजनैतिक दलका प्रतिनिधि ज्यु, विभिन्न कार्यालय तथा संघसंस्थाबाट आउनुभएका संस्था प्रमुख तथा प्रतिनिधि ज्यु, र यस संस्थामा आवद्ध टोलविकास संस्थाका सदस्य साथीहरु लगाएत यस सभामा उपस्थित महानुभावहरु ।

कुनै पनि संगठन सञ्चालनका लागि आर्थिक श्रोत अनिवार्य आवश्यक हुन्छ । यस संस्था सञ्चालन तथा सामन्य व्यवस्थापनका लागि टोल विकास संस्थाका सदस्यहरु तथा संस्थापक सदस्यहरुवाट प्राप्त सहयोग र सहकर्मी समाज बाट प्राप्त अनुदान नै यस संस्थाको आर्थिक श्रोत हो । गत आर्थिक वर्षमा प्राप्त सहयोग कति आयो र के कति कुन शिर्षकमा खर्च भयो भन्ने विवरण प्रस्तुत गर्न चाहन्छु ।

भेरी सामुदायिक विकास मञ्चको ०७८÷०७९ को आय–व्यय विवरण :

No description available.

यस सभाका सभाध्यक्ष महोदय अव म आर्थिक वर्ष ०७९ ÷०८० का लागि अनुमानित आय व्यय विवरण प्रस्तुत गर्न चाहन्छु ।
०७९÷०८० को अनुमानित आय–व्यय विवरण ः

No description available.

प्रतिवेदक : सिता दवाडी
कोषाध्यक्ष

तपाईको प्रतिक्रिया