जाजरकोटकै पहिलो महिला मन्त्री बनिन् कृष्णा शाह

जाजरकोट । कर्णाली प्रदेश सभा सदस्य एवं सांसद कृष्णा शाह आचार्य जाजरकोटकै पहिलो महिला मन्त्री बनेकी छन् । सोमबार कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट सपथ ग्रहण गरेसँगै शाह जाजरकोटकै पहिलो महिला मन्त्री बनेकी हुन् । कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री शाह बनेकी छन् ।

नवनियुक्त दुई मन्त्री जाजरकोटकी कृष्णा शाह र रुकुम पश्चिमका रातो कामी सङ्गै कर्णाली प्रदेशमा माओवादी केन्द्रका ११ जना प्रदेश सांसदहरुमा एक जना उपसभामुख, एक जना गैर–सांसद मन्त्री सहित ११ जना नै मन्त्री बनेका छन् । यसभन्दा पहिले शान्ति तथा पुर्नस्थापना मन्त्री बनेकी सत्या पहाडी पनि जाजरकोटकै हुन् । तर उनीले डोल्पा बाट संसदमा प्रतिनिधित्व गरेकी थिइ्न ।

को हुन् कृष्णा शाह ?
१३ बर्षको उमेरमै स्थानीय शंकर भवन मावि बाहुनथानामा पढ्दा पढ्दै माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विद्यालय ईकाई समितिको अध्यक्ष भएर राजनितिमा होमिएकी कृष्णले थुप्रै दुःख कष्ट झेल्दै सांसद सम्म पुग्ने अवसर पाएकी हुन् । सरकारले किलोशेरा २ अन्र्तगत २०५५ सालमा पक्राउ परेकी उनलाई सुरक्षाकर्मीले निकै यातना दियो । नाङ्गै बनाएर सिस्नो पानी हान्ने र नङ्गमा पिन समेत ठोक्ने कुरा सम्झँदा उनको आँङ्ग अहिले पनि सिरिङ्ग हुन्छ । पार्टीको गोप्य कुरा कुनै नखोलेपछि एक हप्ता सम्म हिरासतमा राखेर चरम यातना दिएको थियो । २०५७ सालमा भुमिगत भएकी उनी २०५९ सालमा सुर्खेतमा पक्राउ परिन् ।

एक बर्ष जेल जीवन विताएर पुनः भुमिगत राजनीतिमा होमिएकी उनी माओवादी जनमुक्ती सेनामा लागिन । २०६३ सालमा सम्म तीन बर्ष जति लडाकु भएर काम गरिन् । कम्पनी सह कमान्डर बनेकी उनी जनमुक्ती सेनालाई फौजी तथा राजनैतिक प्रशिक्षण समेत दिने गरेको सम्झिन्छिन् ।

माओवादी शसस्त्र युद्धकै क्रममा माओवादीका प्रभावशाली युवा नेता रामदीप आचार्य सँग बैबाहिक सम्बन्ध जोडेकी ३९ बर्षिया कृष्णा माओवादीको कर्णाली प्रदेश कमिटी सदस्य छन् । एकदमै मिलनशार र भद्र स्वभावकी कृष्णाले स्नातक तह सम्म अध्ययन गरेकी छन् । भेरी नगरपालिका २ पोखरामा सामान्य परिवारमा जन्मिएकी कृष्णाले मन्त्री कर्णाली प्रदेश सरकारको आर्थिक मन्त्रालय सम्हालेकी छन् । उनी २०७४ सालमा भएकाे प्रदेश सभा सदस्यमा जाजरकाेट क्षेत्र नं १ बाट समानुपातिक सांसद हुन् ।

तपाईको प्रतिक्रिया