कर्णाली प्रदेशका वन कर्मचारीहरु उत्रिए चरणबद्ध आन्दोलनमा


सुर्खेत । कर्णाली प्रदेशका वन कर्मचारीहरु चरणबद्ध रुपमा आन्दोलनमा उत्रिएका छन् । राज्यको कर्तव्य पालन गर्ने कर्मचारीहरुलाई प्रशासनले नै अपराधि सरह नियन्त्रणमा लिएको भन्दै वन कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन ।

वन अपराध कार्यमा संलग्न धनिराम लामिछानेलाई नियन्त्रणमा लिई कानूनी प्रक्रिया सुरु गर्ने क्रममा लामिछानेले आत्महत्या गरेको विषयलाई लिएर प्रशासनले चारजना वन कर्मचारीहरुलाई पक्राउ गरेको बिरोधमा कर्णालीका वन कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रहरीले भदौ २ गते वन सहायक अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वन रक्षकहरु पियुसराज तिवारी र सुरेन्द्र रानालाई नियन्त्रणमा लिएको थियो । निजहरुलाई तत्काल रिहाई गरेर कार्यक्षेत्रमा पठाउन जोडदार जोडदार माग गर्दै आज कर्णालीका विभिन्न ६ वटा वन कर्मचारीहरुको संगठनले संयुक्त विज्ञप्ती जारी गरेका छन् ।

रिहाई नगरिएसम्म चरणबद्ध आन्दोलन गर्ने भन्दै ६ संगठनले प्रथम चरणको आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन् । उनीहरुले कर्णाली प्रदेशका १० जिल्लामा रहेका वन डिभिजन कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द गर्ने, जिल्लामा गएर कामकाज गर्न नसक्ने जनाएका हुन् । विज्ञप्ती मार्फत आन्दोलनको कार्यक्रममा ऐक्यबद्धता तथा सहकार्यको लागि नेपाल वन प्राविधिक संघ, वन पेशाकर्मीहरु, आधिकारिक ट्रेड युनियन, कर्मचारी ट्रेड युनियन तथा सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरुलाई आह्वान समेत गरिएको छ ।

सयुक्त विज्ञप्तीमा प्रगतीशिल वन प्राविधिक संघका सह संयोजक नवराज पौडेल, नेपाल राष्ट्रिय वन प्राविधिक संजालका अध्यक्ष प्रकाश देवकोटा, प्रजातान्त्रिक वन प्राविधिक संघका अध्यक्ष हिमालय साउद, समाजवादी वन प्राविधिक संघका संयोजक तेजेन्द्र रावल, जुनियर वन प्राविधिक संघका प्रदेश अध्यक्ष रामबहादुर बुढा र जिल्ला अध्यक्ष टोपलाल चपाईले हस्ताक्षर गरेका छन।

आन्दोलनरत वन कर्मचारी संगठनहरुले आजै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापनपत्र समेत बुझाएको एनएफएका केन्द्रीय सदस्य शेरबहादुर परियारले जानकारी दिएका छन ।

सयुक्त विज्ञप्तीमा मृतक लामिछाने प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

यसैबीच प्रक्राउ परेका वन कर्मचारीहरुको रिहाईको माग गर्दै नेपाल निजामती कर्मचारी संगठनका सुर्खेतका अध्यक्ष हेमन्त सुनार, नेपाल निजामती कर्मचारी युनियन सुर्खेतका अध्यक्ष गणेशकुमार थापा, नेपाल राष्ट्रिय कर्मचारी संगठन ९निजामती० सुर्खेतका अध्यक्ष चन्द्रा तिवारी र एकिकृत सरकारी कर्मचारी संगठनका जिल्ला अध्यक्ष तेजेन्द्र रावलले सयुक्त विज्ञप्ती निकालेका छन् ।

भदौ २ गतेका दिन डिभिजन वन कार्यालय सुर्खेतबाट खटिएको टोलिले स्थलगत निरिक्षण गर्दा अवैध रुपमा काठ कटान तथा चिरान भएको भन्दै उक्त कार्यमा संलग्न भएको आरोपमा धनिराम लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया