कविताः– बहिनी तिमी आउँ है यो तीजमा


(बहिनी तिमी आउँ है यो तीजमा)२
तिमीले नखाई नखाई बचाई राखेका,
सिक्काले किनेका मिठाई लिएर हैन ।
तिमी रातभरी जागाराम रहेर,
नसकी नसकी उनेका पोकाभरी,
झान्न छाडेर लुकाइ राखेको तेलमा,
पकाएका चिल्ला रोटी लिएर हैन ।
तिमीले हाँतमा टुटिल्को उठाई उठाई,
ढिकिमा कुटेका अचार लिएर हैन ।
तिम्रा शरीरभरी झिलिमिलि गर्ने,
सारी र नक्कली गहना झुन्ड्याएर हैन ।
तिम्रा आँखाभरी टल्बलाई रहेका,
आँशुका छहरालाई बन्दकी राखेर हैन ।
तिम्रा जिन्दगीका हरेक कुना कुन्धरामा,
जीवनभरी नअटेका पीडा लिएर हैन ।

(बहिनी तिमी आउँ है यो तीजमा)२
केवल एक छाक टार्न बालुवा बोक्दै गरेका,
तिम्रा गाउँतिरका कहाली लाग्दा कथा लिएर हैन ।
आधा पेटमा गिठ्ठी फोर्दै गरेका,
तिम्रा ठाउँतिरका बेदना लिएर हैन ।
आफ्ना स्वार्थका लागि सपना बोकीरहेका,
तिम्रा देशका खोक्रा नारा लिएर हैन ।
महलबाटै ठाडो आदेश दिएर हकार्ने,
भ्रष्टचारी घुसखोरीको भ्रम लिएर हैन ।
झुटको खेति गरेर रमाई रहेका,
तिम्रा नेताका चिल्ला भाषण लिएर हैन ।

(बहिनी तिमी आउँ है यो तीजमा)२
मेरै घर आँगनीको दैलो भित्र आऊँ ,
ती वीर शहीदहरुको सपनालाई साँची राँखी,
सगरमाथाको चुचुरोबाट नियाल्दै नियाल्दै,
राष्ट्र र राष्ट्रियताका गीतहरु गुन्गुनाउँदै आऊँ ।
निराशाताका खाडलहरुलाई विश्राम गर्दै,
निकास र बिकास समृद्विका भावना बोकेर आऊँ ।
गुन्यू चोली र पटुकी कम्मरमा कसेर,
आफ्नो लोक साँस्कृतिको पहिचान बोकी आऊँ ।
राष्ट्रघाती र परजीवी सामन्तहरुको जरा उखेल्दै,
शान्तीका दूध गौतम बुद्वका शन्देश लिएर आऊँ ।।

डिल्ली थापा “चिन्तन“
बारेकोट– २ जाजरकोट, हाल दाङ

तपाईको प्रतिक्रिया