
जाजरकोट । नलगाड नगरपालिकाले विगत तीन बर्ष यता ३३ सय क्विन्टल लसुन निर्यात गरेको छ । पहिले खरिद गरेर लसुन खानुपर्ने बाध्यता बोकेका नगरवासी अहिले आत्मनिर्भर भई बाहिर निर्यात गर्न सफल भएका हुन् ।
छ वर्षअघि तरकारी, दालमा लसुन प्रयोग गर्नका लागि नलगाड नगरपालिका–१० रग्दाका डम्वर रावत एक दिनको पैदल बाटो हिँडेर रुकुम पश्चिमको राडीमा पुग्ने गथ्र्ये ।
यातायातको सहज पहुँच नभएको त्यतिबेला पिठ्यूमा बोकेर ल्याएको लसुनले गाउँभरी अलि, अलि सहायता गथ्र्याे । टाउको दुख्दा होस् वा झाडापखाला लाग्दा यहाँका सर्वसाधारणहरु लसुन पकाएर झोल बनाई खाँदा अचुक औषधीको काम गरेको डम्बर सम्झिन्छन् ।
‘औषधिका लागि एक गानो (१ पिस) लसुन खोज्न गाउँभरी भौतारिने हामी, अहिले गाउँमा क्विन्टलका, क्विन्टल लसुन विक्री गर्ने अवस्थामा पुगेका छौँ’ उनले भने । त्यस्तै, अर्का कृषक प्रेमबहादुर ध्यार डम्वरको सिको गर्दै लसुन लगाउन सुरु गरेको बताउँछन् । अहिले नगरपालिका भित्रका तीन सय भन्दा बढी कृषकहरु लसुन खेतीमा सक्रिय छन् ।
नलगाड नगरपालिका कृषि शाखा प्रमुख बालकृष्ण आचार्यका अनुसार गएको तीन बर्ष यता नगरपालिकाले ३३ सय क्विन्टल लसुन निर्यात गरेको छ । आ.व २०७६÷०७७ मा ८ सय क्विन्टल, २०७७÷०७८ मा एक हजार क्विन्टल र २०७८÷०७९ मा १५ सय क्विन्टल निर्यात गरिएको प्रमुख आचार्यले बताए । नेपालगञ्ज, दाङ्ग, काठामाण्डौको कालिमाटी बजार र डोल्पा लगायतमा जिल्लाहरुमा गएको उनले बताए ।
पकेट क्षेत्र घोषणा
नगरपालिकाले उत्पादनको अवस्था हेरेर १३ वटै वडाहरुलाई पकेट क्षेत्र घोषणा गरेको छ । जसअनुसार वडा नं १, २ र ४ लाई मौरीपालन पकेट क्षेत्र, वडा नं ३, अलैची र सुन्तला पकेट क्षेत्र, वडा नं ९, १० र ११ लाई लसुन, वडा नं ७, ८ धान पकेट क्षेत्र, वडा नं ५ मकै पकेट क्षेत्र, वडा ३ र ६ आलु पकेट क्षेत्र, वडा ५ कागती पकेट क्षेत्र, वडा नं १३ फलफुल पकेट क्षेत्र र वडा नं २,४,५, ७ र ८ लाई तरकारी पकेट क्षेत्र घोषणा गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । यस्तै, नगरपालिका भित्र ८ वडा नर्सरी रहेको शाखा प्रमुख आचार्याले जानकारी दिए ।
२ लाख ७० हजार बढी बिरुवा उत्पादन
नगरपालिकाले एक आर्थिक बर्षमा नर्सरी मार्फत २ लाख ७० हजार २ सय विरुवा उत्पादन गरेको छ । जसमध्ये सुन्तला ६१ हजार ५ सय, कागती ५८ हजार, ओखर ४६ हजार, टिमुुर ५१ हजार ७ सय, किवि २१ हजार अलैची ३२ हजार विरुवा रहेको कृषि शाखा प्रमुख बालकृष्ण आचार्याले जानकारी दिए ।
सुन्तला २८ हजार ५ सय, कागती ३० हजार, ओखर ५ हजार, टिमुर ३२ हजार, किवि ६ हजार र अलैंची २२ हजार विक्री योग्य रहेको छ । युद्धकालमा भूमिगत जीवन बिताएका निवर्तमान नगरप्रमुख टेकबहादुर रावलले लसुनको सम्भावना अध्ययन गरी सोही ठाउँमा पाँच वर्ष अघि लसुनको पकेट क्षेत्र बनाउन विशेष कार्ययोजना बनाएका थिए ।
गहुँ, जौँ, उत्पादन गरेर दुख समेत उठ्न धौँ, धौँ भएको बताउने कृषकहरु लसुनखुतीबाट मनग्य आम्दानी भएपछि खुसी भएका छन् । अर्थआर्जन सँगै घरियासी काम देखि छोरा,छोरी पठाउने सम्मको खर्च लसुन विक्रीबाट भएको आम्दानीले टरेको कृषक कालीबहादुर डिसीले बताए । नलगाडको लसुन सुर्खेत, नेपालगन्ज र काठमाडौँ सम्म पुग्ने गरेको छ ।
















































। २५ श्रावण २०७९, बुधबार