बर्षेनी भलले बगाउँछ सडक, करोडौँ रकम स्वाहा !

स्थानीय तहले निर्माण गरेका अधिकांश सडकहरु अहिले बन्द छन् । हिउँद सञ्चालन भएका सडकहरुमा नालीको व्यवस्था नगर्दा सडकहरु भलले बगाएको छ । स्थानीय पैदल हिड्न बाध्य छन् ।


जाजरकोट । यहाँका स्थानीय तहले डोजर लगाएर बनाएका दर्जनौँ सडक बर्खायामको भलले छियाछिया पारिदिएको छ । जमिन नै कमजोर हुने गरी यहाँ स्थानीय सरकारले निर्माण गरेका सडक वर्षाको भलले कतै भत्काएको छ भने कतै बाटो पुरिदिएको छ ।

वातावरणीय प्रभाव मूल्यांकन बिना खनिएका यहाँका सडकले दर्जनौँ गाउँ समेत जोखिममा पारेको स्थानीयवासी बताउँछन् । छेडागाड नगरपालिकाले खनेको आन्तरिक सडकहरु वर्षाको भलले बगाउँदा अहिले यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

नगरका सबै वडामा सडक सञ्जालले छोएको छ । सडक निर्माण गरिएका केही ठाउँमा अहिले यातायात सेवा सञ्चालनमा छैनन् । वर्षाको भलले सडक अवरुद्ध बनाएपछि सडकमा यातायात सञ्चालन हुन नसकेको हो ।

शिवालय गाउँपालिकाभित्र आन्तरिक रुपमा सञ्चालनमा रहेका केही सडक अवरुद्ध भएकाले अहिले यातायातका साधनहरु चल्न सकेका छैनन् । त्यस्तै, जुनिचाँदे गाउँपालिका निर्माणमा गरेका सडकहरु अहिले सञ्चालनमा छैनन् । नलगाड नगरपालिकाका अधिंकाश ठाउँमा बनाएका नयाँ सडक भत्किदा त्यहाँ अहिले यातायात सञ्चालनमा छैनन् ।

सडक विभागले निर्माण गरेको नलगाडको वडा ८ स्थित मन्मै–हल्चौर सडक, कायखेत–हल्चौर सडकमा यातायात चल्न सकेको छैन् । यी सडकमा हिउँदयाममा नै यातायातका साधनहरु सञ्चालन गरिएको थियो । सडकको मापदण्डभन्दा बाहिर गएर निर्माण गरिएका कारण यातायातका साधनहरु सञ्चालन हुन नसकेको जानकारहरु बताउँछन् । बारेकोट गाउँपालिकाले गत बर्ष सडकलाई प्राथमिकतामा राखेको थियो ।

तर निर्माण गरिएका सडक धमाधम भत्किएर नागरिकलाई पैदल हिड्न निकै समस्या भएको छ । कुशे गाउँपालिका सबै वडामा यातायातको पहुँच पुगे पनि बर्खायाममा सबै सडक अवरुद्ध भएका छन् । वर्षाको भलले सबै सडकमा क्षति पुगेको हो । भेरी नगरपालिका भित्रका अधिकांश स्थानीय सडक पनि अवरुद्ध छन् ।

नयाँ निर्माण गरिएका सबै सडक अवरुद्ध भएको भेरी नगरपालिकाले जनाएको छ । बर्षाै सम्म करोडौँ लगाएर निर्माण गरिएका सडक अवरुद्ध भएपछि निर्माण गरिनुको कुनै सार्थक नभएको स्थानीयहरुको भनाई छ । सडक निर्माण गर्दा आवश्यक मापदण्ड पुर्याएर मात्रै गर्न आवश्यक छ ।

बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य सडक
बर्खाको पानीले गर्दा यतिबेला जाजरकोटका सडकहरु हिलाम्य हुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्य हुने जाजरकोटका सडकहरुको यो वर्ष पनि हालत उस्तै छ । वर्षेनी हुने यस्तो समस्याका कारण केही सडकहरु अवरुद्ध छन् भने केही जोखिमपुर्ण तरिकाले संचालन भइरहेका छन् । ग्रामीण र कच्ची सडकहरुको मात्र होइन छिन्चु जाजरकोट पुष्पलाल लोकमार्गको हालत पनि बेहाल छ ।

बारेकोट देखि सदरमुकाम खलंगा सम्मका ठाउँठाउँमा सडक विग्रेको छ । बारेकोट गाउँपालिका ४ का मोहन सिहंले भने, ‘रिम्ना जाजरकोट सडक खण्डमा सडक कालोपत्रे छैन, सदरमुकाममा काम हुदाँ कहिले काँही हातले धकेल्नु पर्छ, वीचमा खाल्डा खुल्डिएको त कुरै छोडौ ।’

एकदमै गाह्रो छ । देशमा तीन तहको सरकार भएको अवस्थामा मुख्य सडकको रूपमा रहेको जिल्लाको मुख्य सडक रिम्ना जाजरकोटको अवस्था जटिल भएको उनको भनाई छ । यस क्षेत्रको सडक बेलाबेला मर्मत गरिने भए पनि गुणस्तरीय हुने सकेको छैन भने सडक माथिबाट नाली निर्माण तथा समयमै पहिरो नपन्छाउदा सडक नै खोला जस्तो पानी बग्ने भएका छन् । यस सडक मर्मतको जिम्मा सडक बिभागको रहेको हुँदा सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने स्थानीय यातायात व्यवसायीको भनाई छ ।

जाजरकोटका गाउँगाउँमा नयाँ सडक निर्माण गर्नमा बर्षेनी ठुलो रकम खर्च भईरहेको छ । जिल्लाका अधिकांस वडाहरुमा सडक पुगिसकेको छ तर बर्षातको समयमा अधिकांस सडकहरुमा गाडी गुड्ने अवस्था छैन । यातायात व्यवसायीहरुले जोखिमपुर्ण तरिकाले गाडि संचालन गर्नुपर्दा बेला बेला दुर्घटना भएर जनधनको क्षति हुने हुने भएको छ भने बिग्रेको बाटोमा गाडी गुडाउँदा बेलाबेला गाडी मर्मत गर्नुपर्ने अवस्था आउने गरेको यातायात व्यवसायीहरुले गुनासो गर्दै आएका छन् ।

कैयौँ सडक अलपत्र
जाजरकोटका दर्जनौँ सडक अलपत्र परेका छन्  । सडकको ट्रयाक खोलिए पनि स्तरोन्नति तथा मर्मत सम्भार नहुँदा ग्रामीण सडकहरू अलपत्र परेका हुन्  । ‘सबै सडक उस्तै छन्, सामान ढुवानी गर्नसमेत समस्या हुन्छ,’ जुनीचाँदेका स्थानीय व्यापारी महेन्द्र शाहीले भने । राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताले सडक निर्माणका लागि जोड दिने तर त्यसको स्तरोन्नति र मर्मत सम्भारका लागि वास्ता नगर्ने भएकाले समस्या भएको व्यापारीहरूको भनाई छ ।

तपाईको प्रतिक्रिया