
खानेपानीकाे मुहान्
छेडागाड । जिल्लाको छेडागाड नगरपालिका ५ धैंया टोलका स्थानीयलाई खानेपानीको समस्या भएको छ । गाउँमा खानेपानीको कतै मुहान नभएको, पानी ल्याउने ठाउँ एकदमै टाढा भएकोले खानेपानीको हाहाकार बेहोर्नु परेको हो ।
धैंया टोलमा ३०० घरधुरीको बसोवास छ । स्थानीय अर्जुन रावत क्षेत्रीले दिएको जानकारी अनुसार गाउँमा खानेपानीको अभाव भएपछि स्थानीय दुषित पानी खान बाध्य भएका छन् ।
उनले भने, ‘गाउँमा भएका खानेपानीका मुहानको सदुपयोग भएको छैन, ३ घण्टा हिडेर हामी पानी ल्याउन बाध्य छौं ।’ गाईभैंसीलाई पानी खुवाउन ग्रामीमा बोकेर ल्याउनुपर्ने बाध्यता रहेको रावतले बताए ।
अहिले सम्म स्थानीय, प्रदेश र संघीय सरकाले खानेपानीका लागि गाउँमा कुनै पहल नगरेको रावतले गुनासो गरे ।
‘यहाँ खानेपानीको अभाव भईरहेको छ, कुनै पनि सरकारले खानेपानीको समस्या समाधानका लागि हेरेका छैनन्, खानेपानीका लागि घण्टौ हिडेर कैलाश सामुदायिक वनमा जानुपर्ने बाध्यता छ’ उनले थपे ।
धैयाँ बस्तीमा एउटा पनि खानेपानी पाइप (कल) नरहेको स्थानीयवासीले बताएका छन् । एउटा मुहानमा स्थानीय धेरै जमिन खनिसकेका छन्, तर पानी ल्याउने पाइप नभएपछि गाउँमा खानेपानीको हाहाकार सिर्जना भएको हो ।
यता, छेडागाड नगरपालिका प्रमुख रत्न खड्काले त्यहाँका जनताका लागि खानेपानीको व्यवस्था यसै बर्षभित्र हुने बताए । उनले भने, हामीले हेल्भटास् प्रोेजेक्ट सँग सहकार्य गरिरहेका छौं, त्यहाँका स्थानीयको खानेपानी समस्या यसै बर्ष भित्र समाधान हुन्छ । हेल्भटास र नगरपालिकाको सहकार्यमा खानेपानी निर्माण गरिनेछ ।
















































। १७ श्रावण २०७९, मंगलवार