
तस्विर : गाेविन्द्र सिंह
जाजरकोट । सधै गरीब र अशिक्षा र रोगले ग्रसित भनेर आरोप लाग्ने जाजरकोट । प्रकृति रुपमा भने सम्पन्न छ । जिल्लाको बारेकोट गाउँपालिका–४ साइक्वारीस्थित दर्जन ताल, धार्मिक तीर्थस्थल, तलैया र हिमाल अनि जडीबुटीको भण्डारकै कारण जिल्लाको परिचय समेत बदलिन थालेको छ ।
वरिपरि कलकल बग्ने सानाठूला खोला, कतै टलक्क चम्किरहेका हिमशृखंला, कतै चिसो र मन्द हावा अनि विभिन्न जातका बुकी तथा झुलिरहेका वनस्पतिको दृश्य अनि पाटनभरी फुलिरहेका प्याउली फूलले सजाएको क्षेत्र हो साइक्वारी ।
सदरमुकाम खलङ्गादेखि तीन घण्टाको गाडी यात्रापछिको दुई दिनको पैदल यात्रापछि पुगिने सुन्दर साइक्वारी क्षेत्र राज्यका निकायको नजरमा परेको छैन । विश्वमै दुर्लभ जन्तु र पंक्षीको वासस्थानले सिङ्गारिएको बारेकोटको साइक्वाँरी क्षेत्र सुन्दरमात्र होइन, जाजरकोटको समृद्धिको आधार पनि हो ।
भौगोलिक विकटता अनि दुर्गम बस्तीको सिरानीमा समुद्र सतहबाट तीन हजार ५०० मिटरको उचाईमा रहेको बारेकोटको सुन्दर धार्मिक पर्यटकीय क्षेत्र साइँक्वारी प्राकृतिक सुन्दरताको उत्कृष्ट नमूना पनि हो । स्वर्ग कस्तो होला भनेर सोध्नेका लागि एउटा उत्तर पनि हो बारेकोटको साइक्वारी अनि वरिपरिको सुन्दर भूगोल । कहाँ मान्छेको मन आनन्दित हुन्न र ? कहाँ मन नाच्छ कहाँ मन रमाउँछ यिनै सवाल र प्रश्नको वस्तुगत उत्तर दिन्छ बारेकोटको साइक्वारी क्षेत्रको सुन्दरताले ।
बारेकोट गाउँपालिका–४ को भूगोलमा पर्ने साइक्वारी क्षेत्रलाई प्राकृतिक सुन्दरता, धार्मिक विश्वास र जैविक विशिष्टताका कारण स्वर्गभन्दा पनि फरक नपर्ने नेकपा माओवादी केन्द्र बारेकोटका ईन्चार्ज तिलकबहादुर रावतले बताए ।
जलवायु परिवर्तनको असर भएको बेला पनि सुरक्षित जैविक विविधता रहेको बारेकोटको साइक्वाँरी आसपासका क्षेत्र सुन्दर र स्वस्थ्य पनि रहेको रावतको भनाई छ । धर्मयुगमा भगवान् शिवजीले मृतावस्थाकी सत्यदेवीको देह बोकेर संसार घुमाउने क्रममा उनको कुनै एउटा अङ्ग पतन भएको र संसार यात्राको क्रममा थाकेपछि शिवजीले थकाइ मार्न बास बसेको स्थान साइक्वारी हो भन्ने किम्वदन्ती रहेको छ ।
बारेकोटका जानकारहरुका अनुसार, उति बेला यो साइक्वाँरीमा शिव भगवान् बास बसेको र सत्यदेवीको अङ्ग पनि पतन भएकोबारे आफूले बूढापाकाबाट सानैमा सुनेको बताउँछन । बारेकोट लगायत विभिन्न क्षेत्रका सर्वसाधारणले साइक्वाँरी क्षेत्रलाई काशीको अर्को रुपमा मान्ने गरेको समेत पाईन्छ ।
जाजरकोट, डोल्पा, सल्यान, रुकुम जुम्ला लगायत कर्णाली प्रदेशका सर्वसाधारणले साइक्वाँरी मन्दिर र ताललाई भारतको काशी क्षेत्रको अर्को रुपको रुपमा हेर्ने गरेको स्थानीय विशाल सिंहको भनाई छ । प्राकृतिक एवं भौगोलिक सुन्दरताको उत्कृष्ट नमूनाका रुपमा रहेको नीला अनि मनोरम दृश्य भएका शंक दह, कुकुर दह, सुँगुर दह र ठाकुरजी दह मात्र होइन यहाँका ताल र पाटनबाट देखिने रुकुमको सिस्ने हिमाल, डोल्पाको कान्जीरुवा हिमाल, जाजरकोटको पाँच हजार ४ सय १२ मिटर अग्लो कराइचुली हिमाल अनि मनमोहक कुशे हिमालको सुन्दरता कुनै शब्दमा बयान हुनै नसक्ने छ ।
यस्तै, साइक्वारी क्षेत्रका देउराली पाटन, द्वारे पाटन, च्याखुरे पाटन र सजवन पाटनको हरियाली मात्र होइन ती पाटनमा लहराउँदै उड्ने डाँफे, मुनाल चिरकालीज अनि मात्तिदै उफ्रेर डुल्ने कस्तुरी, मृग, बाघ, भालु अनि विश्वकै दुर्लभ रेडपान्डाको विशिष्ट संसारले त्यहाँ पुग्ने जो कोही पनि लोभिएर फर्किन्छन् । नेपालको अन्य कुनै पनि भूगोलमा नपाइने अनौठो गुण र रुप भएका चरा पनि यस क्षेत्रमा पाइने गरेका छन् ।
साइक्वाँरीको मन्दिरमा वर मागेर घर फर्किदा कसैलाई हेर्न नपाइने धार्मिक विश्वास पनि यहाँको अनौठो विशेषताको रुपमा रहेको छ । वर मागेर फर्किएको कुनै महिला या पुरुषले अरुलाई हेरे अशुभ मानिने स्थानीयमा धार्मिक विश्वास छ । पर्यटन प्रद्र्धदनका लागि स्थानीय सरकार र अन्य सरकारहरुले खासै चासो नदिएको स्थानीयको गुनासो छ ।
साइक्वारी क्षेत्र बारेकोट र जाजरकोटको मात्र नभई समग्र कर्णाली प्रदेश तथा देशकै सुन्दर पर्यटकीय क्षेत्र भएकाले यसको प्रवद्र्धनका लागि स्थानीय सरकारले सोच्नुपर्ने उनीहरु बताउँछन । पदमार्ग, पूर्वाधार तथा अन्य कुराको व्यवस्थापन गर्न सके देशकै उत्कृष्ट पर्यटकीय क्षेत्र हुन सक्ने बारेकोट ४ का राम बहादुर बस्नेतले जानकारी दिए ।
















































। १६ श्रावण २०७९, सोमबार