यात्रामा मास्क र पन्जा अनिवार्य प्रयोग गर्न व्यवसायीको आग्रह
-लुम्बिनीमा बस चढ्नुअघि अनिवार्य तापक्रम जाँच गर्न थालियो
-काँकडभिट्टा नाकामा भारतीय नम्बर प्लेटका सवारीलाई रोक
कोरोना भाइरसको त्रास बढ्दै जाँदा सार्वजनिक यातायातमा यात्रा गर्नेको संख्या पनि आधाभन्दा बढीले घटेको छ । दैनिक ३ लाख मानिसले आवतजावत गर्ने सार्वजनिक यातायातमा अहिले डेढ लाख पनि नपुग्ने गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जानकारी दिएको छ । ‘श्रम स्वीकृत रद्द, अन्तर्राष्ट्रिय उडान संख्यामा कटौती र छिमेकी देशसँगको आवतजावतमा बन्द गरेपछि यात्रु पनि घटेका छन्,’ महासंघका महासचिव सरोज सिटौलाले भने । यातायात व्यवसायीका अनुसार अहिले सार्वजनिक सवारीमा यात्रु संख्या बढ्ने समय हो । तर, कोरोना भाइरसको संक्रमण हुने डरले घट्दै गइरहेका छन् ।
बस चढ्नुअघि अनिवार्य तापक्रम जाँच
पश्चिम नेपाल बस व्यवसायी संघले यात्रुलाई तनावमुक्त भएर यात्रा गराउन सोमबारदेखि बस चढ्नुअघि अनिवार्य तापक्रम जाँच गर्ने भएको छ । विशेष गरी लुम्बिनी, तौलिहवा, गुल्मी, भैरहवालगायतका ठाउँमा चल्ने सवारीसाधनका यात्रुको अनिवार्य जाँच गरिएको छ । ‘लामो यात्रा गर्दा निश्चिन्त हुन अनिवार्य जाँच गर्ने तयारी गरिरहेका छौँ,’ संघका अध्यक्ष दधिराम खरेलले भने । त्यस्तै, कुनै यात्रुमा समस्या देखिए अस्पतालमा लैजाने व्यवस्था गरिएको छ । भारतसँग जोडिएका नाका क्षेत्रमा बढी प्राथमिकता दिने गरी काम गर्ने तयारी भइरहेको छ ।
चैतेदसैं नजिकिँदै जाँदा सुदूरपश्चिम क्षेत्रमा भारतबाट घर फर्किनेको संख्या बढ्नुपर्नेमा अहिले घटिरहेको महाकाली यातायात बहुउद्देश्यीय कम्पनीका अध्यक्ष डम्बर पन्तले जानकारी दिए ।
काँकडभिट्टा नाकामा भारतीय नम्बर प्लेटका सवारीलाई रोक
मुलुकको पूर्वीगेट भनेर चिनिने काँकडभिट्टा नाकाबाट भारतीय नम्बर प्लेटका सवारी भित्रिन रोक लगाइएको छ । नेपाल आउने यात्रुलाई भने जाँच गरेर मात्र भित्रिने व्यवस्था गरिएको छ । नाकामा कोरोना भाइरस परामर्श सहायता केन्द्र स्थापना गरिएको छ । अहिलेसम्म १ हजार ४४ जना यात्रुमा जाँच गरिएको मेची बस व्यवसायी संघका अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए । ‘भारतबाट आउने यात्रुमा भने कडाइ गरिएको छ,’ उनले भने ।
मास्क र पन्जा अनिवार्य प्रयोग गर्न आग्रह
महासंघले सम्पूर्ण यात्रुले माक्स र पन्जा अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ । साथै, निश्चित समयको अन्तरमा र खाना खानुअघि साबुनपानीले मज्जाले हात सफा गर्न, सवारीसाधनको नियमित सरसफाइ गर्न, तोकिएको ठाउँमा मात्र खाना र खाजा खान अनुरोध गरेको छ ।
यात्रुको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता : सरोज सिटौला, महासचिव, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ
विगतलाई हेर्ने हो भने यतिवेला यात्रुको संख्या वृद्धि हुनुपर्ने हो । तर, अहिले परिस्थिति परिवर्तन भएको छ । अहिले नियमित यात्रुसमेत ५० प्रतिशतले घटेका छन् । नाफाघाटाको हिसाब गरिसकेका छैनौँ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले सार्वजनिक यातायातमा पनि असर पुगेको छ । सरकारले श्रम स्वीकृति रोकेको छ, अन्तर्राष्ट्रिय उडान घटेका छन्, विशेष कामबाहेक मानिस यात्रा गरिरहेका छैनन् । यसले पनि यात्रुको संख्या घटिरहेको छ । अहिले अधिकतम सचेतना र सुरक्षा अपनाउन आह्वान गरिरहेका छौँ ।
















































। २ चैत्र २०७६, आईतवार