सिगेताका कुरीता : जस्ले ‘इमोजी’को आविस्कार गरे

सामाजिक सञ्जालमा आजभोली इमोजीको प्रयोग नगर्ने मानिसहरू कमै होलान। कुराकारी गर्दा होस् या कुनै पोष्ट सेयर गर्दा मानिसहरूले इमोजी प्रयोग गरिरहेकै हुन्छन् । सञ्चारमाध्यमहरूले समेत फेसबुकमा समाचार सेयर गर्दा इमोजीको प्रयोग गर्ने गर्छन्।

हुन पनि इमोजीले मानिसको अनुहारको अभिव्यक्ति जस्ताको त्यस्तै झल्काउँछ। रिस उठेको बेलामा होस या खुशीको क्षण किन नहोस यी सबैको भाव प्रदर्शन गर्न इमोजीको प्रयोग भइरहेको छ।

हामीले दैनिक रुपमा प्रयोग गर्दै आइएको ‘इमोजी’को आविस्कार कसले गरे होला भन्ने प्रश्न जोकोहीको पनि मनमा उब्जन सक्छ। जापानी प्रयोगकर्ता अन्तरक्रिर्यात्मक डिजाइनर ‘सिगेताका कुरीता’ले सन् १९९९ मा पहिलो पटक इमोजी बनाएका थिए।

त्यतिबेला उनले १२×१२ पिक्सेलको रिजोलुसनमा इमोजी बनाएका थिए। त्यसपछि उनलाई डिजाइनर कम्पनीहरूले साथ दिए। इमोजी शब्द नै जापानी भाषाबाट लिइएको शब्द हो। जापानीज ‘इ’ को अर्थ चित्र, ‘मो’ अर्थ लेख्नु र ‘जी’ को अर्थ चरित्र हुन्छ। जापानी भाषाका कान्जी अक्षरहरू पनि इमोजी किसिमकै हुन्छन् । एउटा अक्षर अथवा चित्रले एउटा वस्तुको नाम जनाउँछ । तर, कान्जी भन्दापनि इमोजी प्रभावकारी लागेर इमोजीको विकासतिर लागेको डिजाइनर बताउँछन् ।

यसकारण भयो इमोजीको आविष्कार
जापानमा त्यतिबेला एनटिटी डोकोमो टेलिकम कम्पनीको नेटवर्कबाट एक म्यासेजमा २५० अक्षर मात्रै पठाउन मिल्थ्यो। तर, इमोजीको प्रयोगबाट धेरै कुराको भाव कम इमोजीमै झल्काउन सकिन्थ्यो । त्यसकारण इमोजीको विकासतर्फ लागेको कुरीताको भनाई छ।

तर, १४४ पिक्सेलको रिजोलुसनमा डिजाइन गर्नु पर्ने भएका कारण त्यतिबेलाका इमोजीहरू कच्चा देखिन्थे। जापानमा करिब १ दशकसम्म सीमित रुपमा इमोजीको प्रयोग भएको थियो। त्यसपछि विभिन्न कम्पनीहरूले उक्त कुरा थाहा पाए र इमोजीको थप विकास भयो।

त्यसपछि सन् २०१० मा इमोजी युनिकोडमा सम्मेलित भएको थियो। त्यसै वर्ष आइफोन र एन्ड्रोइडले आफ्ना मोबाइलमा ७ सय २२ इमोजी सार्वजनिक गरेको थियो। युनिकोड विश्वका धेरै भाषाहरूमा प्रयोग हुने अक्षर एवं इमोजी लगायतका कुराहरूको प्राविधिक कम्पनी हो । हाल, युनिकोडमा ३ हजार ३ सय ४ इमोजी रहेका छन्।

तपाईको प्रतिक्रिया