जुम्लाका १ सय ४३ जना भेडा किसानले पाए गोठालो भत्ता

जुम्ला । जुम्लाका १ सय ४३ जना किसानले गोठालो भत्ता पाएका छन्। जुम्लाको पशु अस्पताल तथा पशु सेवा कार्यालयले मागेको आवेदनमा २ सय ६५ किसानले निवेदन दिएका थिए।

निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्, कृषक हो कि होइन भन्ने जानकारी लिन कर्मचारी फिल्डमा गएका थिए। स्थलगत रिपोर्ट र मूल्याङ्कनपछि मात्र जुम्लाका १ सय ४३ जनाले गोठालो भत्ता पाएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताए।

उनले भने, ‘सरकारले जुम्लामा भेडा उत्पादन बढाउन यस्तो व्यवस्था गरेको हो। एक वर्षभरि भेडा हेर्न जाँदा चाहिने सामान किन्न केही सहज होस् भन्नका लागि उनीहरूलाई प्रोत्साहनस्वरुप गोठालो भत्ता दिने गरेको छ।’ भेडापालक किसानलाई प्रोत्साहन गर्न ‘गोठालो भत्ता’ दिने कार्यक्रम लागू गरिएको कार्यालय प्रमुख महतले बताए।

उनका अनुसार ५० वटाभन्दा बढी संख्यामा भेडा पाल्ने किसानलाई मासिक १ हजार ५ सयका दरले वार्षिक १८ हजार भत्ता दिएको हो। यो कर्णाली प्रदेश सरकारको भेडा उत्पादन बढाउन कार्यान्वयन गरिएको नियमित कार्यक्रम हो। कार्यविधिले ५० देखि सय भेडा पाल्ने किसानलाई यस्तो भत्ता दिने व्यवस्था गरेको छ।

रकम सम्बन्धित किसानको बैंक खातामा नै जम्मा गरिन्छ। यो कार्यक्रमले किसानको रुचि भेडापालनतर्फ बढ्ने अपेक्षा छ। पशु अस्पताल तथा पशु सेवा कार्यालयमा २ सय ८४ किसानले आफ्नो फार्म सूचीकृत गराएका छन्। कर्णाली सरकारले गोठालो भत्ता तथा यसअन्तर्गतका अन्य कार्यक्रमका लागि साविक कर्णालीका ५ जिल्लामा ७२ लाख रूपैयाँ विनियोजन गरेको थियो।

पातारासी गाउँपालिका-४ लुमका चट्याङबाट भेडा गुमाएका ५ जना कृषकलाई राहत वितरण गरिएको छ। कर्णाली प्रदेशका भूमि तथा कृषि सहकारी मन्त्रालय सुर्खेतका सचिव डा.लेखराज दाहाल, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्य, प्रमुख राजुसिंह कठायत र प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले संयुक्त रुपमा कृषकलाई राहत वितरण गरेका हुन्।

कृषकलाई कूल ५ लाख २० हजार बराबरको राहत उपलब्ध गराइएको छ। यसमध्ये धर्मसिंह रिउले १ लाख ४४ हजार, सुक रिउले १ लाख ७६ हजार, मानबहादुर रोकायाले ८० हजार, शंकर नेपालीले ४० हजार र जोरा रोकायाले ८० हजार रूपैयाँ पाएका हुन्।

एउटा भेडाको ४ हजार रूपैयाँका दरले राहत वितरण गरिएको पशु सेवा कार्यालय जुम्लाका प्रमुख महतले बताए। गत असार १७ गते पातारासी-४ मा पर्ने बागजाले पाटनमा चट्याङ पर्दा ५ जना किसानका ८० वटा भेडा मरेका थिए भने ३ सय भेडा हराएका थिए। राहत वितरण गर्दै भूमि तथा कृषि सहकारी मन्त्रालयका सुर्खेतका सचिव दाहालले किसानले अनिवार्य बीमा गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया