जाजरकोटका ७ सय ४६ उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण


जाजरकोट । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवार बनेका अधिकांश उम्मेदवारले खर्च विवरण नबुझाएको निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ । कुल १ हजार २ सय ९८ जना उम्मेदवार बनेकामा हालसम्म ५ सय ५२ जनाले मात्र खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका प्रमुख नृपराज उपाध्यायले जानकारी दिए । बारम्बार ताकेता गर्दा पनि ७ सय ४६ जनाले अझैसम्म पनि निर्वाचन खर्च विवरण नबुझाएको उनले बताए ।

निर्वाचनको परिणाम आएको ३० दिनभित्र उम्मेदवारहरुले निर्वाचनको खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ । तर जिल्लाका अधिकांश उम्मेदवारले तोकिएको समयमा खर्च विवरण बुझाएका छैनन् । ४२.५३ प्रतिशत उम्मेदवारले मात्र खर्च विवरण बुझाएको प्रमुख उपाध्यायको भनाई छ । उनका अनुसार सबैभन्दा बढी खर्च विवरण बुझाउनेमा भेरी नगरपालिकाका छन् । भेरीमा १ सय ४८ जनाले निर्वाचन खर्च विवरण बुझाएको उपाध्यायले बताए । सबैभन्दा कम खर्च छेडागाडका उम्मेदवारले बुझाएका छन् ।

निर्वाचन कार्यालयका अनुसार छेडागाडका ३९ जना उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन् । कुशे गाउँपालिकाका ८७ जना, जुनीचाँदे गाउँपालिकाका ७७ जना, बारेकोट गाउँपालिकाका ७२ जना, शिवालय गाउँपालिकाका ४७ जना र नलगाड नगरपालिका ८२ जना उम्मेदवारले खर्च विवरण बुझाएको कार्यालयले जनाएको छ । जिल्लाका सबै पार्टी तथा नगरपालिका, गाउँपालिकालाई खर्च विवरण बुझाउन ताकेता गर्दै पत्र पठाईएको र फोन गरेर समेत जानकारी गराउँदा पनि खर्च विवरण प्राप्त हुन नसकेको प्रमुख उपाध्यायले बताए ।

प्राप्त भएको विवरण प्रमाणित गरी निर्वाचन आयोगमा असार मसान्त भित्र पठाईएको समेत प्रमुख उपाध्यायले बताए । निर्वाचन आयोगले समेत केही समय अगाडी देशभरीकै उम्मेदवारहरुलाई खर्च विवरण बुझाउन ताकेता गरेको थियो ।

निर्वाचन आयोगलाई चिठी लेखि पठाएको र खर्च विवरण नबुझाउनेलाई आवश्यक कारवाही अगाडि बढ्ने निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया