७ असार २०७९, मंगलवार

पारिश्रमिक माग गर्दै पत्रकारहरु आन्दोलित


रुकुम पश्चिम । पारिश्रमिक नपाएको भन्दै केही पत्रकारहरु आन्दोलित भएका छन् । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९ राडीबजारमा संचालित रेडियो नयाँ नेपालले पारिश्रमिक नदिएको भन्दै आज रेडियोमा काम गरेका पत्रकारहरुले पहिलो चरणको आन्दोलन अन्तरर्गत राडी बजारमा विरोध र्याली निकालेका हुन् ।

आन्दोलनमा नेपाल पत्रकार महासंघ र विभिन्न पत्रकार संघ संगठनहरुले पनि ऐक्यवद्धता जनाएका छन् । विरोध र्यालीमा पीडित पत्रकार सहित जिल्ला स्थित अन्य पत्रकारहरुको सहभागिता रहेको थियो । राडी बजार परिक्रममा गरेर र्याली रेडियो नयाँ नेपाल अगाडी पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा बोल्दै पिडित पत्रकारहरुले आफुहरुले पाउनुपर्ने पारिश्रमिक तत्काल उपलब्ध गराउन रेडियो प्रशासन तथा संचालक समितिलाई माग गरेका छन् ।

त्यस्तै कार्यक्रममा सहभागि पत्रकार महासंघका अध्यक्ष तथा अन्य संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुले पनि तत्कालै पारिश्रमिक उपलब्ध गराउन माग गरेका थिए । साथै समस्याका बारेमा नगर प्रमुख रवि केसीलाई पनि जानकारी गराईएको छ । नगर प्रमुख केसीले समस्या समाधानका लागि पहल गर्ने प्रविद्धता जनाउनुभएको छ ।

पहिलो चरणको आन्दोलन अन्तरगत असार ९ गते सामाजिक सञ्जाल मार्फत रेडियो व्यवस्थापनको भण्डाफोर गर्ने, असार १२ गते रेडियोमा १ घण्टा धर्ना र नारावाजीको कार्यक्रम रहेको संघर्ष समितिका संयोजक सत्य बटालाले जानकारी दिनुभयो । त्यति गर्दा पनि माग पुरा नभए दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।

रेडियोमा काम गरेका ६ जना पत्रकारहरुले १ वर्षभन्दा बढी समय देखिको पारिश्रमिक पाउन बाँकी रहेको उहाँको भनाई छ । बारम्बार पारिश्रमिकको माग गर्दा पनि नपाएपछि बाध्य भएर आन्दोलित हुनु परेको उनिहरुले बताएका छन् । करिब १० लाख पारिश्रमिक पाउन बाँकी रहेको पिडितहरुको भनाई छ ।