
दाङ : जेठ २७ गते शान्तिनगर–३ मा रहेको कृत्रिम तालमा डुबेर एक युवकको मृत्यु भएको थियो। मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–३ माइलीपानी बस्ने १७ वर्षीय वीरबहादुर थापा हुन्।
उनको मृत्यु भएको ४ दिनसम्म पनि उनको परिवारले उचित क्षतिपूर्तिको माग गर्दै शव बुझेको छैन। अहिले उनको शव राप्ती प्रादेशिक अस्पतालको शवगृहमै रहेको छ।
शुक्रबार दिउँसो करिब पौने १ बजेतिर ३ जना साथीसँग तालमा पौडी खेल्न गएका थापाको डुबेर मृत्यु भएको हो। उनको शव तालबाट प्रहरीले सोही दिन बेलुका करिब सवा ६ बजेतिर निकालेको थियो।
मृतका आफन्त गोविन्द थापाले राज्यले आफूहरूलाई राहत दिनुपर्ने बताए। उनले मृतकका बुवाआमा नभएको र उनी हजुरबुवाआमासँग बस्दै आएको हुँदा कानुन अनुसारको राहत दिनुपर्ने बताए।
उनले भने, ‘ताल खुला भएका कारण लापरबाहीका कारणले हाम्रो मान्छेको मृत्यु भएको हो। हामीले न्यायका लागि वडाध्यक्ष र प्रहरीचौकीमा निवेदन दिएका छौँ। आज ४ दिन भयो। हाम्रो सुनुवाइ भएको छैन। हामीले उचित राहत नपाएसम्म शव बुझ्दैनौँ।’
उनले आफूहरू कहिले प्रहरीचौकी, कहिले इप्रका धाएको भन्दै आफ्नो मान्छेको शवगृहमै सडिरहेको हुँदा यथाशीघ्र न्याय दिनुपर्ने माग गरे। उनले भने, ‘स्थानीय सरकारले केही दिन नसक्ने र व्यक्तिगत रूपमा दिने जनप्रतिनिधिले बताउनुहुन्छ। ताल बनाउन जिम्मा लिएका व्यक्ति छलफलमा आउनु हुन्न।’
त्यस्तै उनले ताल खुला रूपमा भएका र त्यहाँ कुनै तारबार नभएको भन्दै त्यसलाई व्यवस्थापन गर्न पनि माग गरेका छन्।
उनले अझै यस्तै अवस्थामा रहेमा फेरि पनि घटना हुनसक्ने भन्दै तालको पनि राम्रो संरक्षण नहुँदा वर्षामा फुट्न सक्ने अवस्थामा रहेकाले तत्काल संरक्षण गर्न आग्रह गरे। जग्गा विवादका कारणले ताल निर्माण रोकिएको र उक्त योजना बृहत् सिँचाइको भए पनि सम्झौता नभएको पनि उल्लेख गरे।
मृतकका ठूलाबाले सिँचाइका लागि बनाइएको तालमा सुरक्षा व्यवस्था नहुँदा घटना भएको भन्दै आफूले उचित क्षतिपूर्ति पाउनुपर्ने बताए।
उनले भने, ‘निर्माण हुँदाहुँदै विवादका कारण काम रोकिएको छ। यो तालमा पौडी खेल्न जोखिम छ भनेर सूचना वा तारबार हुनुपर्ने हो। त्यो नभएका कारण दुर्घटना भएको हो। सिँचाइका लागि बनाएका ताल काल बन्दै गए। त्यसको सुरक्षाका लागि तारबार वा खतरा भनेर सूचना राख्नुपर्छ।’
उनले ४ दिनदेखि आफूहरूले सम्बन्धित व्यक्तिसँग क्षतिपूर्ति माग्दै आए पनि कुनैले चासो नदिएको गुनासो गरे। उनले भने, ‘आज हामी इप्रका तुलसीपुरमा आएका छौँ तर निर्माण व्यवसायी, उपभोक्ता समिति, जनप्रतिनिधिहरू सबैलाई बोलाएका थियौँ तर कोही आउनु भएन। अब मंगलबार बिहान ८ बजे बस्ने कुरा भएको छ।’
उनले आफूहरुले उचित क्षतिपूर्ति नपाउँदासम्म शव नबुझ्ने बताए। उनले प्रहरीले आफूहरूलाई सहयोग गरे पनि सम्बन्धित व्यक्तिहरू नआउँदा समस्या भएको बताए। उनले पहुँच नहुँदा आफ्नो सुनुवाइ नभएको गुनासो गरे।
















































। ३० जेष्ठ २०७९, सोमबार