ट्वीटरमाथि १९ अर्ब जरिवाना: प्रयोगकर्ताका डाटा बेचेको आरोप


काठमाडौं । प्रयोगकर्ताका डाटाहरुको गैरकानूनी प्रयोग गरेको अभियोगमा ट्वीटरमाथि झण्डै १९ अर्ब रुपैयाँ जरिवाना भएको छ ।

अमेरिकाको संघीय वाणिज्य आयोग र कानून मन्त्रालयका अनुसार नियामक निकायहरुसँगको सहमतिको ट्वीटरले उल्लंघन गरेकाले ट्वीटरमाथि १५ करोड डलर जरिवाना भएको हो ।

ट्वीटरले प्रयोगकर्ताका फोन नम्बर तथा इमेल ठेगाना लगायतका निजी जानकारीहरु विज्ञापनदातालाई नदिने प्रतिबद्धता व्यक्त गरेको थियो । तर ट्वीटरले उक्त नियमको उल्लंघन गरेको संघीय अनुसन्धानकर्ताहरुले जनाएका छन् ।

यसअघि युरोपेली युनियनको डाटा गोपनियता नीति उल्लंघन गरेको भन्दै सन् २०२० को डिसेम्बरमा ट्वीटरमाथि चार लाख युरो जरिवाना भएको थियो ।

संघीय वाणिज्य आयोग अमेरिकी सरकारले स्वतन्त्र नियामक निकाय हो जसले एकाधिकार व्यापार विरोधी कानूनहरुको कार्यान्वयनका साथै उपभोक्ताहरुको हीत संरक्षण गर्ने कार्य गर्दछ ।

कम्पनीको गोपनियता तथा सुरक्षा सम्बन्धी क्रियाकलापहरुको अपव्याख्या नगर्न भनी सन् २०११ मा दिएको निर्देशन ट्वीटरले उल्लंघन गरेको आयोगको ठहर छ ।

स्मरण रहोस् ट्वीटरको आम्दानीको प्रमुख हिस्सा यसको प्लाटफर्मममा प्रकाशित हुने विज्ञापनबाटै हुने गर्दछ ।

संघीय वाणिज्य आयोगको तर्फबाट कानून मन्त्रालयले अदालतमा दायर गरेको मुद्दामा ट्वीटरले सन् २०१३ देखि प्रयोगकर्ताको अकाउन्टको सुरक्षामा सुधार गर्ने भन्दै फोन नम्बर वा इमेल ठेगाना माग्ने गरेको तर त्यसरी प्रदान गरिएका फोन नम्बर तथा इमेल ठेगानाहरु लक्षित विज्ञापनका लागि दुरुपयोग गर्ने गरेको उल्लेख छ । ट्वीटरको यस्तो कार्यबाट यसका १४ करोड प्रयोगकर्ता प्रभावित भएको र यसले कम्पनीको आम्दानीमा वृद्धि गर्ने वाणिज्य आयोगको ठहर छ ।

–बीबीसी

तपाईको प्रतिक्रिया