‘पाइलटको मोबाइलमा घण्टी गइरहेको छ, टिटी लेक वरपर खोजिरहेका छौं’


काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले मुस्ताङको टिटी लेक वरपर तारा एयरको जहाजको खोजी केन्द्रित गरिएको जनाएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार क्याप्टेन प्रभाकर घिमिरेको फोन ट्र्याक गर्दा लेते आसपासमा लोकेसन पत्ता लागेकाले खोजी त्यतै केन्द्रित गरिएको हो ।

ठाकुरले भने, ‘पाइलटको मोबाइलमा घण्टी गइरहेको छ । एनटिसीबाट ट्र्याक गर्दा मोबाइलको लोकेसन लेते भनेर देखाएको छ, त्यसैले हामीले त्यतैतिर खोजी केन्द्रित गरिरहेका छौं ।’ मौसम खराब भएकाले खोजीका लागि हेलिकप्टर पठाउन कठिन भइरहेको छ । पोखराबाट नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी गर्दा प्रतिकूल मौसमका कारण तत्काल सम्भव नदेखिएकाले जोमसोमबाटै लेतेतर्फ हेलिकोप्टर परिचालन गर्ने तयारी गरिरहेको ठाकुरले जानकारी दिए ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले नेपाल प्रहरी र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुलाई जहाज खोज्न आवश्यक पर्ने सहयोग गरिरहेको बताए । तर उनले मोबाइलको लोकेसनबारे भने बताएनन् ।

१९ जना यात्रु र ३ जना चालक दलका सदस्य गरी २२ जना सवार ९ एन एईटी कलसाइनको ट्वीनअटर जहाज आज बिहान पोखराबाट मुस्ताङका लागि उडेको थियो । जहाज सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाएका हुन् ।

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको उक्त जहाज १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । उक्त जहाज जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेटमा म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि जहाज सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया