संसदमा झण्डै तीन घण्टा सम्बोधनमार्फत ओलीले गरे ‘रेकर्ड ब्रेक’


काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बिहीवार झण्डै ३ घण्टा सम्बोधन गरेका छन् ।
सभामुखसँग विशेष समय लिएर ओलीले बिहीवार प्रतिनिधि सभामा २ घण्टा ५० मिनेट सम्बोधन गरेका हुन् । २०७४ फागुन २१ गते शुरू भएको प्रतिनिधिसभा बैठकमा अहिलेसम्म कुनै सांसदले यति लामो सम्बोधन गरेका थिएनन् । ‘अहिले यकिन भन्न सकिएन तर यो प्रतिनिधि सभामा यति लामो सम्बोधन यो नै पहिलो हो जस्तो लाग्छ,’ संसद सचिवालयका एक अधिकारीले  भने ।

प्रतिनिधिसभा बैठकमा बिहान ११ बजेर १० मिनेटदेखि सम्बोधन शुरू गरेका ओलीले २ बजेसम्म सम्बोधन गरेका थिए । संसदमा यति लामो सम्बोधन दुर्लभ हुने गरेको छ ।

संसद सचिवालय स्रोतका अनुसार टनकपुर सन्धीको बेला एमालेका तत्कालीन महासचिव मदन भण्डारीले ३ घण्टा संसदमा बोलेका थिए ।

ओलीले सरकारका नीति तथा कार्यक्रमको केस्राकेस्रा चिरफार गर्दै आलोचना गरेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू संसदको बैठकमा सहभागी छन् ।

विपक्षी दलका नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित हुने संसदीय परम्परा हो । विपक्षी दलको नेताले सम्बोधन गर्दा समय नतोक्ने संसदीय परम्परा छ ।

स्वास्थ्यका कारण भन्दै ओलीले कुर्सीमा बसेर संसदको रोस्टमबाट सम्बोधन गरेका थिए । आफ्नो सरकार विस्थापन भएपछि गत वर्षको साउन २६ गते ओलीले संसदमा सम्बोधन गरेका थिए ।

त्यसयता एमालेले संसदमा ९ महिना अवरोध गरेको थियो । जेठ ३ गते संसद अवरोध खुलाएको थियो । ओलीको ३ घण्टाको सम्बोधनपछि रोस्टममा उभिएका सांसद हृदयेश त्रिपाठीले ‘उहाँले प्रयोग गर्नुभएको समयको एकचौथाइ भए पुग्छ’ भनेर ठट्टा गरेका थिए ।

तपाईको प्रतिक्रिया