पूर्वगृहमन्त्री बस्नेतको गृहजिल्लामा माओवादी केन्द्र एउटा स्थानीय तहमा सीमित, कांग्रेस-एमालेको दबदबा !

काठमाडौं । १० वर्षे सशस्त्र युद्धबाट बुलेट निस्काम पारेर २०६२/६३ को जनआन्दोलन पश्चात् ब्यालेटको राजनीतिमा होमिएको माओवादी समय क्रमसँगै विभाजनको सिकार बन्दै आएको छ ।
संविधान सभाको पहिलो निर्वाचन (२०६४ चैत २८) बाहेक त्यसयता उसले हरेक निर्वाचनमा आफ्नो आकारलाई सूक्ष्मताभन्दा माथि उठाउन सकेको छैन । यसको कारण हो, ‘पार्टीको आन्तरिक विवाद, वैचारिक विचलन र विभाजन ।’

यी तीन सतही कारणले माओवादी थिलोथिलो बनेसँगै यसबाट जाजरकोट विमुख बन्न सकेन । संविधान सभाको दोस्रो, प्रतिनिधि सभा र स्थानीय तह निर्वाचनमा उसले आफ्नो आकार घटाउँदै-घटाउँदै आएको छ । यद्यपि आफ्नो आकार बढाउन, पार्टीलाई सुदृढीकरणको दिशामा लैजान गम्भीर समिक्षा नगर्नु र सांगठानिक विचलन भइरहनुले जाजरकोटमा नेकपा (माओवादी केन्द्र)ले आकार बढाउन सकेको छैन ।

संविधान सभाको पहिलो, दोस्रो र प्रतिनिधि सभाको निर्वाचन पश्चात् जिल्लामा झिनो आशा नपलाएको होइन । तर, पहिलो स्थानीय तहको निर्वाचनमा केही निराशा छाएको पक्का हो । यो पटकको निर्वाचनमा भने माओवादी केन्द्र जाजरकोटलाई आशा गर्ने ठाउँ नै रहेन ।

लोकतान्त्रिक राज्य व्यवस्थामा स्थायी सरकार भनेको स्थानीय सरकार नै हो । जसको जग नै बलियो नभएपछि पार्टी, नेता-कार्यकर्तामा विचलन आउनु नौलो होइन । यही विचलनको सिकारले हरेक निर्वाचनमा माअ‍ेवादी केन्द्र खुम्चिँदै गएको छ । यसपालिको निर्वाचन परिणाम हेर्ने हो भने जाजरकोटमा माओवादी केन्द्र एउटा पालिकामा सिमित भएको छ । जिल्लाका ७ वटा पालिकामध्ये माओवादी केन्द्रले एउटा पालिकामा मात्रै जित हात पारेको छ भने अन्य ६ पालिकामा नेकपा (एमाले) र नेपाली कांग्रेसले विजय हासिल गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र राज्य प्रणालीको विजारोपन २०६५ जेठ १५ गते स्थापना भए पश्चात् जाजरकोटमा संघीय निर्वाचन क्षेत्र १, प्रदेश २ मा छुट्याइएको छ भने ७ वटा स्थानीय तह छन् । जसअनुसार यसअघिको स्थानीय तह निर्वाचनमा भेरी नगरपालिकामा एमालेले जितेको थियो । नलगाड नगरपालिकामा माओवादी केन्द्र विजय भयो भने छेडागाड नगरपालिकामा एमालेले जित हात पार्यो ।

त्यसैगरी कुशे गाउँपालिकामा कांग्रेसले जितेको थियो । जुनीचाँदे गाउँपालिकामा माओवादी केन्द्र निर्वाचित भयो । शिवालय गाउँपालिकामा एमाले निर्वाचित भयो भने बारेकोट गाउँपालिकामा कांग्रेसले जित्यो । यो नतिजालाई हेर्ने हो भने पहिलो स्थानीय तह निर्वाचनमा जाजरकोटमा एमाले पहिलो भएको थियो भने कांग्रेस र माओवादीको समान नतिजा थियो ।

तथापि यसपटक भने जिल्लामा एमाले र कांग्रेसको दबदबा बढ्यो भने माओवादी केन्द्र एउटा पालिकामा सिमित भयो । उसले नलगाड नगरपालिकामा बाहेक अन्य पालिकामा विजय हासिल गर्न सकेन । गत निर्वाचनमा जितेको जुनीचाँदे गाउँपालिकामा यसपटक पराजय भोग्नुपर्यो । त्यस्तै गठबन्धनकै कारण छेडागाड नगरपालिकामा उपप्रमुखमा चित्त बुझाउनु पर्यो । त्यस्तै बारेकोट गाउँपालिकामा पनि उपाध्यक्षमा मन बुझाउनुपर्ने भो भने अन्य पालिकामा पनि पराजय नै व्यहोर्नु परेको छ ।

जाजरकोटमा नेकपा (माओवादी केन्द्र) एउटा पालिकामा खुम्चिनुको कारण कांग्रेससँगको गठबन्धन र उनीहरूले दिएको धोका हो भन्छन्, -कर्णाली प्रदेश कमिटीका अपाध्यक्ष ढकबीर राना । उनी थप्छन्, ‘हाम्रो पार्टी जिल्लामा सांगठानिक रूपमा कमजोर नभए पनि कमजोर नतिजा साबित हुनुमा पार्टीभित्र निर्मम समिक्षा गर्नुपर्छ । त्यसपछि हामीभित्र देखिएका कमीकमजोरी सच्याउँदै पार्टीलाई सुदृढ बनाउनतर्फ लाग्नुपर्छ । यसपटकको निर्वाचनबाट हामीले सिक्न जरुरी छ ।’

पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको गृहजिल्ला जाजरकोटमा माओवादी केन्द्र एक पालिकामा सिमित हुनुले उनीमाथि प्रश्न खडा भएको छ । हरेक निर्वाचनमा निर्वाचित र मन्त्री पदमा आसिन हुने तर जिल्लामुखी नहुने बस्नेतको व्यवहारलाई पार्टीका कयौँ नेता-कार्यकर्ताले आलोचना गर्दै आएका छन् ।

यद्यपि उहाँ आफ्नो आलोचनाको कदर नगर्ने । बरु केन्द्रमा नियमित बस्ने र जिल्लाका विकास निर्माणका कार्यप्रति बेखबर हुनुले पनि यस्तो नतिजा आएको बताउँछन्, माओवादी केन्द्र जाजरकोटका एक नेता । उनी भन्छन्, ‘पटक-पटक मन्त्री बन्ने तर जिल्लाप्रति खासै चासो नदिनुले पनि हामी कमजोर हुँदै आएका छौँ । किन कि केन्द्रमा गर्ने, भन्ने उहाँको जिम्मा हो, हामी जिल्लामा बसेर केन्द्रको सर्कुलर मान्ने हो । तथापि हामीले अपेक्षा गरे अनुरूप उहाँको प्रस्तुती नहुनुले जाजरकोटबासी रुष्ट छन् । त्यसको परिणामले पनि हामी एउटा पालिकामा सिमित भएका छौँ ।’

यसपटकको स्थानीय तह निर्वाचनमा जिल्लाका ७ वटै पालिकाको नतिजा सार्वजनिक भएपछि पूर्वगृहमन्त्री बस्नेत निराश हुँदै सामाजिक सञ्जालमा लेख्छन्, ‘आफ्नै खुट्टामा उभिने प्रण गरौँ ।’ #गाेलखबर#

तपाईको प्रतिक्रिया