कर्णाली प्रदेश लोक सेवा आयोगद्वारा परीक्षा सञ्चालन


सुर्खेत । मुलुकमा संघीयता संरचना कार्यान्वयनमा आएपछि कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेत पहिलो पटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तरगत खुला तथा समावेशी सहायकस्तर पाँचौ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो ।

प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ३ बमोजिम गठित आयोगले खोलेको महिला विकास निरीक्षक पदको ५१५–५१६÷७८÷०७९ को विज्ञापन अनुसार खुलामा आठ र महिलातर्फ एक गरी नौ कर्मचारी माग गरेको थियो । सो विज्ञापन अनुसार शनिबार सञ्चालित परीक्षामा दुई हजार १९७ परीक्षार्थी सम्मिलित भएको आयोगका सचिव भुपेन्द्र थापाले जानकारी दिए ।

परीक्षा मर्यादित वातावरणमा सम्पन्न भएको छ,” उनले भने, प्रदेश निजामती तथा स्थानीय सेवाअन्तरगत भएको परीक्षा सञ्चालनका लागि ११ परीक्षा केन्द्र व्यवस्था गरिएको थियो । ती मध्ये ११ केन्द्राध्यक्ष, ८७ सहायक केन्द्राध्यक्ष र १ सय १९ निरीक्षकको परिचालन गरिएको उनले बताए ।

आयोग अध्यक्ष रामप्रसाद उपाध्यायले संघीयताको इतिहासमा पहिलो पटक परीक्षा सञ्चालन गर्ने अवसरले आयोग परिवारलाई गौरवान्वित तुल्याएको बताए । आफ्नै सरकार अन्तरगत गठित प्रदेश लोक सेवा आयोगले सञ्चालन गरेको परीक्षाले परीक्षार्थीहरुलाई संघीयताको अनुभूति गराएको उनको भनाइ थियो । आयोगले सञ्चालन गरेको महिला विकास निरीक्षकको परीक्षामा सहभागी हुन पाउँदा निकै खुशी लागेको परीक्षार्थी शिवा शाहीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया