जाजरकोट । खाद्यान्न लिन पसल गएका २१ बर्षिय यूवा माथि पसले साहुले नै निर्घात कुटपिट गरेका छन् । जिल्लाको बारेकोट गाउँपालिका ४ गोठगाउँका २१ बर्षिय यूवा प्रेम नेपाली माथि पसलका साहु हरिगोपाल सिंहले निर्घात कुटपिट गरेका हुन् ।
साहु सिंहले नेपालीलाई वेयरका वोतल, दाउराको चिरपिटले टाउमा हिर्काएको प्रत्यक्षदर्शी दिपक सुनारले जानकारी दिए । उनका अनुसार रात्ति करिव ८ बजेतिर पसलमा केही खाद्यान्न लिन गएका नेपाली माथि निर्घात कुटपिट गरेका हुन् । घाइते नेपालीको टाउको र मुखमा गम्भीर चोट रहेको छ । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको छ । पसलमा उदारो मात्र माग्ने भन्दै कुटपिट गरेका थिए ।
के थियो घटनाको वास्तविकता ?
मंगलबार स्थानीय हिमालय आधारभुत विद्यालयको दुई कोठा भवन निर्माणको काम गरिरहेका प्रेम नेपाली वेलुका पख साहु हरिगोपाल सिंहको पसलमा पुगेका थिए । विद्यालयको काम गर्ने कामदारलाई साहु सिंहको पसल बाट उदारो दिने निर्णय भएको थियो । त्यही निर्णय बमोजिम नेपाली साहु सिंहको पसलमा खाद्यान्न सहितका किराना समान लिन उनको पसल पुगेका थिए । पसल पुगेर नेपालीले समान लिने कुरा साहु सिंहलाई दर्शाएका थिए ।
मद्यपान सेवन गरेर पसलमा बसेका साहुले समान नदिने भन्दै थर्काए । तिमीहरुलाई कति उदारो मात्र दिने, सधैं उदारो भन्दै हातपात गरेका थिए । नजिकै समान जोख्ने तराजुले टाउकोमा हिर्काएका थिए । त्यसपछि वेयरको वोतल, काठले टाउकोमा हिर्काएका थिए । घाइते बनाएर उनीहरु त्यहाँ बाट भागेका थिए । त्यसपछि साहु सिंहकी श्रीमति आएर समेत नेपालीलाई कुटपिट गरेकी थिईन् । संविधानले वर्जित गरेको शब्द डुम भन्दै तथानाम गाली गरेर ज्यान मार्ने उद्धेश्यका साथ कुटपिट गरिएको प्रत्यक्षदर्शी सुनारले हाम्रो पहुँचलाई जानकारी दिए ।
एक स्रोतका अनुसार, साहु सिंहले केही समय पहिले नेकपा एमाले बन्न आग्रह गरेका थिए, उनको आग्रहलाई नेपालीले स्वीकार गरेका थिएनन् । त्यसैको झोकमा समेत कुटपिट गरिएको स्रोतको दावी छ । कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी ( प्रहरी निरीक्षक) शिव कुमार क्षेत्रीले जानकारी दिए । पक्राउ गरी सदरमुकाम खलंगा ल्याईदैछ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको सूचना अधिकारी क्षेत्रीको भनाई छ ।
















































। ८ बैशाख २०७९, बिहीबार