
भुपेन्द्र नेपाली
खलंगा । आगमी बैशाख ३० हुने स्थानीय तहको निर्वाचन नजिकै आईपुगेको छ । यति वेला विभिन्न राजनीतिक दलका नेताहरुलाई उम्मेदवारी छनोट गर्न र पार्टीका कार्यक्रमहरुमा उपस्थित हुन सकस भईरहेको छ ।
प्रमुख दलहरुका रुपमा रहेका नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुले सबै स्थानीय तहहरुमा उम्मेदवारी छनोट गर्न सकेका छैनन् । सातवटा स्थानीय तह रहेको यस जिल्लामा नेकपा (एमाले) ले भेरी नगरपालिका, कुशे, जुनीचाँदे र बारेकोट गाउँपालिमा उम्मेदवारी छनौट गरेको छ । शिवालय गाउँपालिका, छेडागाड र नलगाड नगरपालिकामा अझै उम्मेदवारी छनोट गर्न सकेको छैन् । अन्य प्रमुख दलका रुपमा रहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले सातैवटा पालिकामा उम्मेदवारी छनोट गर्न सकेका छैनन् ।
स्थानीय तहको चुनाव आउन अब २३ दिन मात्र बाँकी रहँदा जाजरकोटमा चुनावी सरगर्मी भने ह्वात्तै बढेको छ । राजनीतिक दल र नेताहरू गाउँगाउँमा पुगेर टोल भेला गर्दैछन् । तर, राजनीतिक दलका कार्यक्रममा मतदाता कम र नेता कार्यकर्ताहरु उपस्थित बढी रहेको देखिन्छन् ।
स्थानीयहरु गहुँ, जौं, भित्र्याउन, मकै छर्ने, तरकारी लगाउने जस्ता काममा व्यस्त छन् । स्थानीय तहको निर्वाचनका लागि नेताहरू गाउँमा आउन थाले पनि यहाँका स्थानीयहरुलाई पार्टीका नेताहरुसंग भेट्ने फुर्सद छैन् । राजनीतिक दलका नेताहरू चुनावी प्रचार—प्रचारमा घरघर पुग्न थाले पनि स्थानीयहरुसंग भने उनीहरूलाई भेटेर भलाकुसारी गर्ने फुर्सद हुँदैन् ।
बारेकोट गाउँपालिका २ का स्थानीय गोरखबहादुर नेपाली भन्छन्, ‘हाम्रा समस्या जस्ताका त्यस्तै छन्, सिंचाई नभएर तरकारी उम्रिएको छैन्, गर्मी बढिरहेको छ, धारामा पिउनलाई पानी छैन्, चुनाव आउँछ, नेता आउँछन्, भाषण मात्रै गरेर जान्छन्, ।’ उनले भने, ‘नागरिकको नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकारले पनि हामी खासै छुन् सेकेको छैन्, त्यसैले हाम्रा लागि दलहरुको भेला भन्दा पनि खेतवारीको काममा व्यस्त हुन्छौं ।’
चुनावप्रति स्थानीयहरुको खासै चासो नहुनको कारण कामको व्यस्तता मात्रै नभएर कृषि र कृषकका हितका लागि विगतमा नेताहरूले देखाएको सपनाहरु पुरा गर्न नसक्नु पनि भएको बारेकोट गाउँपालिका ४ स्थानीय लालबहादुर नेपालीले बताए ।
















































। ८ बैशाख २०७९, बिहीबार