शक्तिका आधारमा होइन, सहमतिमा भागबण्डा हुनुपर्छ : एकीकृत समाजवादी

काठमाडौं । आगामी स्थानीय चुनावमा साझा उम्मेदवार तयार पार्ने सैद्धान्तिक सहमति जुटाएको सत्ता साझेदार दलहरूले भागबण्डा भने मिलाउन सकेका छैनन् ।

गठबन्धनका दलहरू सकेसम्म धेरै स्थानीय तह आफ्नो पक्षमा पार्ने नीतिमा अडिग रहँदा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लगातार बसिरहेको बैठक निष्कर्षमा पुग्न सकेको छैन ।

बरू भागबण्डा नमिलेको खटपट नेताहरूले सार्वजनिक अभिव्यक्ति मार्फत् छरपस्ट पार्न थालेका छन् । गएको २६ चैतमा सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भृकुटीमण्डपमा आयोजित सभाबाटै आफ्नो पार्टीको अवमूल्यन गर्ने काम भएको गुनासो गरे । ‘आफ्नो शक्तिको अति मूल्यांकन र हाम्रो शक्तिको अवमूल्यन नगर्नुस्’ अध्यक्ष नेपालले चेतावनीकै भाषामा भनेका थिए, ‘हामीलाई अपमान गरेको हुनाले केपी ओलीलाई सत्ताको सगरमाथाबाट भुईंमा पछार्न निर्णायक भूमिका खेलेका छौ, ख्याल गर्नुस् ।’

माधव नेपालको जवाफ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट आउनुले पनि गठबन्धनमा भागबण्डाको खटपट कायम रहेको अनुमान लगाउन सकिन्छ ।

शनिबार माओवादी केन्द्रको बैठकमा प्रचण्डले एकीकृत समाजवादीकै कारणले तालमेलमा कठिनाइ भइरहेको प्रष्टोक्ति दिएका थिए । प्रचण्डको भनाइ थियो, ‘समाजवादीले आफ्नो शक्ति भन्दा अतिरञ्जित दाबी गरेकाले तालमेल गर्न व्यवहारिक रुपमा कठिनाइ भइरहेको छ ।’

एकीकृत समाजवादीका नेताहरू भने गठबन्धनमा जुटेको सहमति बमोजिम दाबी गर्दा अतिरञ्जित भन्न नमिल्ने तर्क गर्छन् । २०७४ को स्थानीय चुनावमा एमालेले जितेको स्थानीय तहमा पहिलो हक एकीकृत समाजवादीको लाग्ने उनीहरू बताउँछन् । तर जिल्ला–जिल्लामा चलिरहेको गठबन्धनको बैठकमा भने एमालेले जितेको सबै स्थानीय तह एकीकृत समाजवादीलाई छोड्न अन्य सत्ता साझेदार दल तयार देखिदैनन् ।

एकीकृत समाजवादीका उपमहासचिव जगनाथ खतिवडा भने सम्मानजनक भाग मागेको बताउँछन् । एकीकृत समाजवादीकै कारण बनेको गठबन्धन जोगाउन पनि जनप्रतिनिधि आफ्नो दलले पाउनुपर्ने उनको तर्क छ । ‘हामीले नजोगाए देखिन यो गठबन्धन नि जोगिदैन । गठबन्धन चाहिएको छ, त्यो गठबन्धनबाट प्रधानमन्त्री देउवा हुने’ प्रचार प्रमुख रहेका खतिवडा प्रश्न गर्छन्, ‘देउवाले प्रधानमन्त्रीको लाभ लिने अनि हामीले के लिने त ? जनप्रतिनिधि लिनुपरेन ?’

एमालेबाट विभाजित भएर २ भदौ २०७८ बनेको एकीकृत समाजवादीका नेताहरूले ७५३ मध्ये २२५ स्थानीय तह आफ्नो दलले पाउनुपर्ने अडान लिइरहेका छन् । ‘२५ देखि ३० प्रतिशत पाउनुपर्छ भन्ने जोडमा लाग्छौं । यसमा केही तलमाथि हुनसक्छ’, खतिवडा भन्छन् । यो भनेको १८८ देखि २२५ सम्म हो ।

त्यसका लागि एकीकृत समाजवादीले ०७४ को चुनावमा एमालेले जितेको स्थानीय तहको नेतृत्व पाउनुपर्ने अडान लिइरहेका छन् । महानगर र उपमहानगरको भागबण्डामा अध्यक्ष नेपाल स्वयम् लागिपरेका छन् भने स्थानीय स्तरमा भूगोलका नेताहरूले अडान लिइरहेका छन् ।

प्रदेश–१ः ४५ पालिका माग

एक महानगरपालिका सहित १३७ स्थानीय तह रहेको प्रदेश–१ मा एकीकृत समाजवादीले ४२ देखि ४५ सम्म स्थानीय तह भागमा पाउनुपर्ने अडान लिइरहेको छ । तर जिल्ला स्तरमा छलफल भइरहेकाले दाबी संख्या एकीन हुन सकेको छैन । ‘थोरै तलमाथि हुनसक्छ । तर ४२ देखि ४५ पालिकामा हाम्रो दाबी छ’, प्रदेश इन्चार्ज धर्मराज निरौला भन्छन् ।

शीर्ष नेताहरुबीच एमालेले जितेको स्थानमा एकीकृत समाजवादीलाई मूख्य शक्ति मान्ने सहमति भएकाले आफ्नो दाबी स्वभाविक रहेको उनी बताउँछन् ।

मधेशः ३० पालिकामा अडान

अन्य प्रदेश भन्दा एकीकृत समाजवादीको तुलनात्मक बलियो जनाधार रहेको मधेश प्रदेशमा गठबन्धन अप्ठ्यारोमा परेको नेताहरु बताउँछन् । मधेश प्रदेश इन्चार्ज धर्मनाथप्रसाद साह कुनै ठोस् सहमति जुट्नै नसकेको बताउँछन् ।

‘अहिले वास्तविकतामा पुग्नै पाएको छैन्’ साह भन्छन्, ‘जुन पार्टी वडामा हार्ने अबस्थामा छ, त्यो पार्टीले मेयर खोज्छ । अनि कसरी भागबण्डा मिल्छ ?’ १३६ स्थानीय तह रहेको मधेश प्रदेशमा एकीकृत समाजवादीले २५ देखि ३० पालिकामा दाबी गरेको छ ।

बागमतीः काठमाडौं महानगरकै आश

६ मध्ये ३ महानगरपालिका रहेको बागमतीमा भागबण्डाबारे प्रदेश नेतृत्वमा छलफल नै हुन सकेको छैन । काठमाडौं, ललितपुर र भरतपुर महानगरपालिका बागमती प्रदेशमै छ ।

भरतपुर र ललितपुरमा बलियो दाबी नगरेको एकीकृत समाजवादी काठमाडौं महानगरपालिका मागिरहेको छ । २०७४ को चुनावमा एमालेले जितेकाले काठमाडौं महानगर आफ्नो भागमा पाउनुपर्ने एकीकृत समाजवादीको अडान छ ।

‘महानगर, उपमहानगर केन्द्रले टुंग्याउने भनिएको छ,’ प्रदेश सहइन्चार्ज जीवनराम श्रेष्ठ भन्छन्, ‘महानगर र उपमहानगर नटुंग्याइकन अरु भागबन्डा लगाउन अप्ठ्यारो हुन्छ । यही कारणले पनि टुंगिएको छैन ।’

११९ स्थानीय तह रहेको बागमती प्रदेशमा पनि एमालेले जितेको स्थानीय तहको नेतृत्वमा एकीकृत समाजवादीको दाबी छ ।

गण्डकीः पोखरा महानगरसहित ३४ पालिका

गण्डकीमा भागबण्डा टुंग्याउन अहिलेसम्म गठबन्धनको दुईटा बैठक भएको भयो । त्यसपछि अर्को बैठककै टुंगो नभएको एकीकृत समाजवादीका प्रदेश इन्चार्ज केशबलाल श्रेष्ठ बताउँछन् ।

यो प्रदेशमा पनि एकीकृत समाजवादीले महानगर पाउनुपर्ने अडान लिएको छ । एमालेले जितेको पोखरा महानगरसहित ३४ पालिकामा दाबी गरेको श्रेष्ठ बताउँछन् ।

यद्यपि एकीकृत समाजवादीलाई अवमुल्यन गर्ने काम भइरहेको बताउने उनी भन्छन्, ‘हाम्रो पार्टीलाई इग्नोर गर्ने, आफ्नो पार्टीलाई नै सबै भन्दा ठूलो देख्ने परिस्थिति छ ।’ ०७४ को निर्वाचनमा एमालेले ३४ सिट जितेको गण्डकीमा स्थानीय तह संख्या ८५ छ ।

लुम्बिनीः तुलसीपुरमा नजर

लुम्बिनी प्रदेशमा आजदेखि (सोमबार) गठबन्धनको बैठक बस्दैछ । जिल्ला स्तरमा नटुंगिएको भागबण्डा टुुग्याउँने प्रयोजनकै निम्ति गठबन्धनको बैठक बस्न लागेको हो ।

एकीकृत समाजवादीका प्रदेश अध्यक्ष मेटमणि चौधरी, बैठक बसेपछि तालमेलबारे निर्णय हुने बताउँछन् । एकीकृत समाजवादीले यो प्रदेशको तीन मध्ये तुलसीपुर उपमहानगर सहित ३० पालिकामा दाबी गर्ने तयारी गरेको छ ।

कर्णालीमा ः २७ पालिकामा दाबी

कर्णाली प्रदेशमा पनि एमालेले जितेकै स्थानहरुमा दाबी नछोड्ने अडान एकीकृत समाजवादीले लिएको छ । ‘एमालेले २७ पालिकामा जितेको छ’ प्रदेश सहइन्चार्ज शेरबहादुर केसी भन्छन्, ‘हाम्रो दाबी त्यही आसपासमा हुन्छ । अरुले पनि २७ मा भाग खोजिरहेका छन् । छलफल चलिरहेको छ ।’ कर्णालीमा ७९ स्थानीय तह छन् ।

सुदूरपश्चिमः २५ प्रतिशत नछोड्ने

सूदुरपश्चिम प्रदेशका कुनैपनि जिल्लामा अहिलेसम्म तालमेलको सहमति जुटिसकेको छैन । तर छलफल चलिरहेको एकीकृत समाजवादीका प्रदेश इन्चार्ज गरिमा शाह बताउँछिन् । ८८ स्थानीय तह रहेको सूदुरपश्चिम प्रदेशमा एकीकृत समाजवादीले २५ पालिकामा दाबी गरेको छ । त्यो भनेको करीब २२ पालिका हो ।

‘हाम्रो शक्ति अनुसार २५ प्रतिशत हामीले माग गरेका छौं । यो प्रदेशको सबैभन्दा ठूलो पार्टी पनि हौं’ शाह भन्छिन्, ‘यद्यपि पालिकाको नेतृत्व छाडेर धेरै वडा लिएर पनि मिलाउन सकिन्छ ।’

तपाईको प्रतिक्रिया