
बद्री पन्त
जाजरकोट । जाजरकोट जिल्लामा म्यादी प्रहरीका लागि मागभन्दा तीन गुणा बढी आवेदन परेको छ । छ सय ८२ जना कोटा रहेकोमा दुई हजार ५६ जनाले आवेदन दिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन जिल्लामा तीन गुणा बढीको आवेदन परेको हो ।
चैत ६ गतेदेखि ११ गतेसम्म तीन गुणा बढीको आवेदन दिएका छन् । आवेदनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने भए पनि पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकता दिइने जाजरकोट प्रहरीले जनाएको छ ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, साधारण लेखपढ गर्न जान्ने र शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त रहेको हुनुपर्ने योग्यता निर्धारण गरिएको प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए ।
भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक ३० हजार २ सय ४० पारिश्रमिक पाउने छन् । पारिश्रमिकका साथै प्रत्येक म्यादीले खाद्यान्नबापत सात हजार २००, पोसाक र अन्य खर्च गर्ने गरी ६ हजार, यातायात खर्चबापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था सरकारले गरेको छ ।
छनोट प्रक्रिया भने १५ चैतदेखि सञ्चालन भएको र शुक्रवार लिखित परीक्षा भएको छ । नतिजा २२ प्रकाशन गरिने र २८ गतेदेखि प्रशिक्षण सुरु गरिने भएको डिएसपी निरौलाको भनाइ छ ।
















































। १८ चैत्र २०७८, शुक्रबार