जाजरकोटमा ई–पासपोर्ट सेवा सुरु


जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले जिल्लाबाटै ई–पासपोर्ट अर्थात विद्युतीय राहदानी बनाउन सुरु गरेको छ । सर्वसाधरणलाई सहज र छिटोका लागि जिल्लाबाटै उक्त सेवाको सुरुवात गरिएको हो । बुधबार बाट ई –पासपोर्ट सेवा वितरण सुरु गरिएको प्रशासनले जनाएको छ ।

राहदानीको लागि काठमाडौ जानुपर्ने बाध्यतालाई हल गर्न ई–पासपोर्टको अवधारणा ल्याइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए । यो व्यवस्थाले राहदानी बनाउनेहरुको समय र पैसाको बचत हुने विश्वास शाहीले गरे ।

विद्युतीय राहदानीका लागि ‘जिल्ला प्रशासन कार्यालयबाट अनलाईन फर्म भर्ने र कागजातहरु सिष्टममा अपलोड गर्नुपर्ने हुन्छ । अपलोड गर्ने कागजातहरु ४०० किलो वाईटभन्दा कम साईजको हुनुपर्ने भएकाले र राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेकाले मात्र ई–पासपोर्ट बनाउन सक्नेछन् ।

विद्युतीय राहदानी दर्ताका लागि सेवाग्राही आफैले पनि अनलाइन दर्ता गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले त्यसको झन्डै ११ वर्षपछि ई–पासपोर्ट प्रयोगमा ल्याएको थियो ।

विभागले दिने राहदानीमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका विवरणहरू समाविष्ट हुन्छ । एमआरपीको तुलनामा ई–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने बताइएको छ ।

May be an image of text

तपाईको प्रतिक्रिया