
जाजरकोट । जिल्लाका अधिकांश विद्यालयका शिक्षकले विद्यालयमा मनपरी गरिरहेका छन् । एक महिनाको हाजिरी एकै दिन गरेर महिनौं गायव भएका थुप्रै उदाहरण छन् । बारेकोट गाउँपालिका खारीमा रहेको पूर्ण ज्योति प्राथमिक विद्यालयका प्रधानध्यापक गणेश नेपाली फागुन महिनामा तीन दिन मात्र विद्यालय गएका छन् ।
तर उनले अहिले सम्मको सबै हाजिर गरिसकेका छन् । महिनामा एक दुई दिन मात्र विद्यालय जाने उनको पुरानै बानी हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बुढाले गुनासो गरे, ‘प्रअ नियमित विद्यालय आउनुहुदैन,दुई चार दिन मात्र आउनुहन्छ, खलंगातिर गईहाल्नुहुन्छ, उतै व्यापार गरिरहनुभएको छ, तलव खानुहुन्छ गईहाल्नुहुन्छ ।’
कहिले महिनाको दुई तीन चोटी आउनुहुन्छ,विद्यालयमा नियमित पढाई भएको छैन् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढाले बताए । सोही विद्यालयकी राहत कोटाकी शिक्षिका प्रेमा जैसी पनि फागुन लागेदेखि विद्यालय गएकी छैनन् । उनी कहाँ छिन् भन्ने शिक्षक, विद्यार्थी र अभिभावकलाई जानकारी छैन् । सहयोगी सहित ५ शिक्षक कर्मचारी रहेको विद्यालयमा दुई शिक्षक कहिले काँही मात्र हाजिरी गर्नका लागि विद्यालय उपस्थित हुने गरेको पाईएको हो ।
विद्यालयका शिक्षक हरिभक्त बस्नेत भन्छन्, ‘हामीलाई जानकारी केही छैन्, हामीलाई कुनै अधिकार दिनुभएको छैन, विद्यालयको पढाई लथालिगं भएको छ ।’
‘कहिले काँही आउनुहुन्छ, म नियमित आउँछु मात्र भन्नुहुन्छ, आएपछि एकदम समझदारीको कुरा गर्नुहुन्छ, मान्छे राख्छौं भन्नुहुन्छ, कार्यान्वयनको पक्ष निकै फितलो गर्नुभएको छ, अर्काे पटक आउँदा समस्या मात्र देखाउनुहन्छ’ स्थानीय पदम लाल जैसीले भने ।
यस्तै, छेडागाड नगरपालिकाको विद्या ज्योति आधारभुत विद्यालयका प्रधानध्यापक दीपबहादुर थापा पनि अनुपस्थित भईरहन्छन् ।
कहिले काँही विद्यालयका ११ बजे आउने आएपनि हाजिरी गरेर फर्कने गरेको स्थानीयको गुनासो छ । उनको पनि आफ्नै व्यापार छ, दिनभर व्यापारमा व्यस्त रहने उनी कहिले काँही मात्र विद्यालय जाने गरेका छन् ।
यता स्थानीय सरकारहरु भने यस बारे अनविज्ञ छन् । बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले शिक्षक माथि निगरानी गर्ने यदि भने अनुसार नगरे कारबाही गर्ने बताउँछन् ।
उनले भने, ‘भने अनुसार विद्यालयमा अनुपस्थित नहुने, गलत गर्ने धेरै छैनन् केही शिक्षकहरुलाई निगरानी गरिरहेका छौं, त्यस्तो गर्ने शिक्षकलाई कारवाही गछौं ।’ स्थानीय तहले शैक्षिक क्षेत्रमा निगरानी गर्न नसक्दा पछिल्लो समय जाजरकोटमा शैक्षिक क्षेत्रमा विकृति बढिरहेको छ ।
विद्यालयमा नियमित नआउने , शिक्षक राजनीतिक दलको कार्यक्रममा व्यस्त रहने, पठनपाठनमा ध्यान नदिने, मदिरा सेवन गरी विद्यालय जाने लगायतका विकृतिहरु बढिरहेका छन् । स्थानीय सरकारले विद्यालय अनुगमन गरी वैलेमा कारवाही गर्न सके शैक्षिक क्षेत्रमा सुधार आउने देखिन्छ ।
















































। २७ फाल्गुन २०७८, शुक्रबार