
जाजरकोट । आगामी स्थानीय तहको निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुले सक्रियता बढाएका छन् । उनीहरुले निर्वाचन केन्द्रित गतिविधीहरु अगाडि बढाईरहेका छन् । नेकपा एमाले, माओवादी र नेपाली काँग्रेस सहितका राजनीतिक दलहरुले यति वेला गाउँगाउँमा जनभेटघाट कार्यक्रमलाई तीव्रता दिईरहेका छन् । पार्टीले आधिकारीक निर्णय गरी गाउँ केन्द्रीत हुन निर्देशन दिईरहेको छ । पार्टी प्रवेशको होडबाजी समेत चलिरहेको छ ।
जिल्लाका प्रमुख राजनीतिक दलहरू स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गाउँ पस्न थालेका छन् । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि कांग्रेस, एमाले, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र लगायत प्रमुख राजनीतिक दलहरूले कार्यकर्ता भेटघाट, पार्टी भेला, प्रशिक्षण, बैठक लगायत कार्यक्रमलाई तीव्रता दिएका हुन् ।
संघ, प्रदेश राजधानी र अन्य क्षेत्रमा गएका राजनीतिक दलका नेताहरू जिल्ला फर्किएर गाउँ केन्द्रित हुन थालेका छन् । ‘अब चुनाव लागिसक्यो,’ एक नेताले भने, ‘कसरी पार्टीलाई जिताउने भनेर गाउँगाउँमा कार्यकर्ता भेटघाट र भेलाहरू सुरु गरिसकेका छौं ।’
कांग्रेस जाजरकोटले यतिवेला विभिन्न बस्तीमा कार्यकर्ता भेटघाटलाई तीव्रता दिएको छ । फरकफरक वडामा गएर विभिन्न राजनीतिक कार्यक्रममा सहभागी हुन थालेका हुन् । पार्टीले सात वटै स्थानीय तहका वडा वडामा कार्यक्रम गरिरहेको छ ।
एमालेका जिल्लास्तरीय नेताहरू पनि अहिले विभिन्न गाउँमा खटिएका छन् । गाउँगाउँमा नेता कार्यकर्ताहरु जान थालेका छन् । उनीहरुले आफ्नो पार्टीको प्रचार, कार्यकर्ता भेटघाट कार्यक्रमलाई प्राथमिकता दिएका छन् । ‘सरकारका अरू तयारी बाँकी होलान्, पार्टीका तर्फबाट भने अनौपचारिक चुनावी अभियान सुरु भइसकेको छ,’ एक नेताले भने, ‘जसरी पनि पार्टीलाई १ नम्बरको पार्टी बनाउन आवश्यक तयारी सुरु भइसकेको छ ।’ कार्यकर्ता र मतदातासमक्ष पुगेर इच्छा, आकांक्षा र गुनासो बुझ्ने कामको सुरुवात गरिसकिएको छ ।
एकीकृत समाजवादीले पनि चुनावी अभियान सुरु गरिसकेको छ ।
पार्टीले पहिलो चरणमा सात वटै स्थानीय तहमा संगठन निर्माणमा जुुटिरहेको छ, विभिन्न खालका स्टिकर समेत टाँस्ने गरेको छ । माओवादी केन्द्रले पनि कार्यकर्तालाई चुनावी अभियानमा सक्रिय बन्न निर्देशन दिइसकिएको जनाएको छ । दलहरूले कार्यकर्ता भेटघाटसँगै अन्य दलका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रम जारी राखेका छन् । भेटघाटका लागि गाउँमा पुगेका नेताहरूलाई कार्यकर्ताले विभिन्न योजना माग्न थालेको स्थानीय अगुवा नन्दलाल सिंहले बताए ।
‘अहिले त सबै दलका ठूला नेताहरू गाउँमै छन्, कार्यकर्ताका गुनासा सुन्न, आश्वासन दिन र पार्टीका विभिन्न समितिहरू पुनर्गठन गर्न नेताहरूलाई भ्याइनभ्याइ छ,’ उनले भने, ‘नेताहरू गाउँ पसेपछि कार्यकर्ताहरू पनि उत्साही बनेका छन् ।’
















































। २७ फाल्गुन २०७८, शुक्रबार