
जाजरकोट । आसन्न निर्वाचनमा बालबालिकाको प्रयोग रोक्न प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई ध्यानाकर्षण पत्र बुझाईएको छ । जिल्ला स्थित सरोकारवालाहरुले आगामी स्थानीय तहको निर्वाचनमा बालबालिका र विद्यालयको दुरुपयोग हुन नदिन माग गर्दै प्रजिअ शाहीलाई ध्यानाआकर्षण पत्र बुझाएका हुन् ।
मानव अधिकार रक्षक सञ्जाल जाजरकोटको सक्रियतामा निर्वाचनको वेला राजनीतिक दलहरुले बालबालिकाको प्रयोग गर्ने भएकोले यस्तो कार्य रोक्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाईएको मानव अधिकार रक्षक सञ्जाल जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले जानकारी दिए ।
बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा २ मा राजनीतिक प्रयोजनका लागि बालबालिकालाई संगठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम, धर्ना, र जुलुसमा प्रयोग गर्न नहुने भनी यसलाई बालबालिका विरुद्ध कसुरको रुपमा व्यवस्था गरिएको यदि कोही कसैले प्रयोग गरिहालेमा दफा ७२ मा ७५ हजार रुपैयाँ सम्म जरिवाना र तीन बर्ष कैदको व्यवस्था गरिएको ध्यानाआकर्षण पत्रमा उल्लेख गरिएको छ ।
निर्वाचन आयोगले जारी गरेको विद्यमान आचारसंहितामा समावेश गरिएका चुनाव प्रचारप्रसार, आमसभा, जुलुसमा बालबालिकाको प्रयोग गर्न हुन्न भन्ने सकरात्मक पक्षलाई आत्मसाथ गर्दै सोही बुद्धामा विद्यालय पनि प्रयोग गर्न नपाईने थप व्यवस्था गरिनुपर्ने, चुनावी प्रचारप्रसार सामग्रीमा १८ बर्ष मुनिका बालबालिकाको प्रयोग गर्न, बालबालिका मार्फत प्रचारप्रसार सामग्री बनाउन नपाईने व्यवस्था गरिनुपर्ने, सञ्चारमाध्यमहरुले गर्ने राजनीतिक तथा पार्टीगत विश्लेषणमा बालबालिकालाई दलगत रुपमा विभाजन गर्न नहुने, मतदान केन्द्रको रुपमा प्रयोग भएका विद्यालयको भौतिक सम्पतिको सुरक्षामा विशेष ध्यान दिदै क्षति भएका क्षतिपुर्तिको व्यवस्था गरिनुपर्ने, कुनै विकल्प नहुँदा मात्र विद्यालयलाई मतदान केन्द्रको रुपमा प्रयोग गरिनुपर्ने र मतदान केन्द्र तोकिएका विद्यालयलाई सके सम्म कम दिन मात्र प्रयोग हुने सुनिश्चिता सहित सम्भावित मिति सार्वजनिक गरिनुका साथै विद्यालयका राजनीतिक दलका आमसभा, जुलुस र मतगणना गर्न नहुने लगायतका माग राखी ध्यानाआकर्षण पत्र बुझाईको संयोजक शाहले बताए ।
ध्यानाआकर्षण पत्रलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी शाहीले ध्यानाआकर्षणलाई कार्यान्वयन गर्न पहल गर्ने बताए । बालबालिका र विद्यालयको दुरुपयोग रोक्न पहल थाल्ने बताए ।
















































। २७ फाल्गुन २०७८, शुक्रबार