राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरुले लिए शपथग्रहण 


राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरूले आज शपथग्रहण गरेका छन् । गत माघ १२ गते भएको निर्वाचनबाट चुनिएका राष्ट्रियसभाका १९ सदस्यले आज शपथग्रहण गरेका हुन् । नवनिर्वाचित सांसदहरूलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालय सिंहदरबारमा शपथग्रहण गराउनुभएको हो ।अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सांसद्हरूलाई संघीय संसदको लोगो पनि प्रदान गर्नुभएको छ ।

निर्वाचनमा नेपाली काँग्रेसबाट गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित हुनुभएको थियो ।

त्यस्तै, एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाह (गरिमा) निर्वाचित हुनुभएको थियो भने नेकपा (माओवादी केन्द्र)बाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की निर्वाचित हुनुभएको थियो ।

यसैगरी, नेकपा (एमाले)बाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । आज सपथ ग्रहण गरेका सबै सदस्यको कार्यकाल ६ वर्षको लागि तय भएको संसद् सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया