
जाजरकोट । जिल्ला सदरमुकाम खलंगामा बसपार्क नहँुदा गाडी पार्किङ्ग गर्नलाई समस्या भएको छ । साँघुरो बस पार्कमा गाडी पार्किङ्ग गर्नु पर्ने समस्या भएको हो । जिल्लामा मोटरबाटो पुगेको १५ बर्ष पुगेको छ तर यातायातका साधन राख्ने ठाउँ समेत छैन् । सदरमुकाम खलंगाको शान्तिचौतारामा साघुरो बसपार्क छ, त्यसमा बस खचाखच कोच्ने गरिएको छ । जाजरकोट डोल्पा सडकको जीरो प्वाइन्ट शान्तिचौतारा र तल्लोथाप्ले सडकमै यातायात पार्किङ्ग गरिदै आएको छ ।
फराकिलो तथा व्यवस्थित बसपार्क नहुँदा गाडी पार्किङ्ग गर्नलाई ठुलो समस्या भएको यातायात व्यवसायी दिपक चन्दले बताए । गाडी राख्ने र मोड्नलाई फराकीलो ठाउँ नहुदा गाडी चालकलाई समस्या खट्केको छ, चन्दको भनाई छ । बसपार्क साँघुरो हुदा मोटर साइकल, जीप, एम्बुलेन्स, ट्रक, ठुला बस पास हुने ठाउँ छैन । बसपार्क बनाउने तर्फ कसैको ध्यान नगएको व्यवसायीको गुनासो छ । फराकिलो बस पार्कको अभाव हुदाँ यातायातका साधनहरु होटल, पसल तथा स्थानीयका घर अगाडी राख्दा स्थानीयलाई समस्या भएको छ ।
सडकमा बस पार्किङ्ग गर्ने गरिएको छ, यसले कुनै बेला दुर्घटना निम्त्याउने देखिन्छ, भेरी नगरपालिका–४ का वडा अध्यक्ष खम्बजंग शाहको भनाई रहेको छ । यो बाध्यता कहिलेसम्म रहन्छ भन्ने थाहा नभएको जाजरकोटमा अध्यक्ष शाहले बताए । यातायातका साधनहरु बोरा, खरेखोला, शान्तिचौतारा, बागलुङ्ग होटेल, ठाँटीबजार, भेटनरीडाँडा, थाप्लेचौर, गैरीखाली, कारागार लगाएतका ठाउँमा पार्किङ्ग हुदै आएका छन । घर अगाडी र सडक छेउमा राख्ने गर्दा दुर्घटनाको जोखिम बढ्ने देखिन्छ । खलंगा भित्रको क्षेत्रमा बस पार्क बनाउने ठाउँ समेत छैन् ।
बसपार्क बनाउने तर्फ जिल्ला स्थित सरोकारवाला निकायको समेत ध्यान नपुगेको जाजरकोट यातायात व्यवसायी संघका अध्यक्ष नबराज सिंहले बताए । जिल्लामा भेरी गंगा यातायात, मध्यपश्चिम यातायात, काँक्रेविहार यातायात, भेरी राप्ती यातायात, वागेश्वरी यातायात लगाएत दर्जन बढी यातायात व्यवसायीका यातायात संचालनमा रहेको अध्यक्ष सिंहको भनाई छ । व्यवसायीले यातायातका साधन सडक छेउमा राख्दै आएका छन । बसपार्कमा १० भन्दा बढी बस राख्ने ठाउँ समेत छैन् ।
जिल्लामा साना ठुला गरी २ सय भन्दा बढी यातायातका साधन संचालनमा रहेका छन । यातायातका साधन दिन प्रतिदिन बढ्दै गएका छन । व्यवस्थित बस पार्क अभावमा राख्ने ठाउँ छैन । भेरी नगरपालिका–२ स्थित स्यालापाखा सामुदायीक वनको सातदुलाडाँडामा बाहेक अन्य ठाउँमा बसपार्क बनाउनलाई उपयुक्त ठाउँ छैन, अध्यक्ष सिंहको भनाई रहेको छ ।
यता, खलंगामा व्यवस्थित वसपार्क निर्माणको प्रक्रिया शुरुवात भएको बर्षौ विते पनि अझै निर्माण हुन् सकिरहेको छैन् । खलंगा बजारमा वसपार्कको अभाव भएपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी जनकराज पन्त सहितको टोलीले नयाँ बर्षपार्क थाप्लेमा निर्माण गर्ने निर्णय गरेको थियो ।
भेरी नगरपालिकाको पहलमा वसपार्क निर्माणको काम अगाडि बढेपनि बजेट अभावमा बसपार्क निर्माण स्थल अलपत्र परेको छ । जिल्लामा दुई सय भन्दा बढि संख्यामा सवारी साधनहरु भएतापनि तिनीहरुको पार्किङ्गको ब्यवस्था अझै हुन सकिरहेको छैन् । सदरमुकाम खलंगा बाट दैनिक दजर्न भन्दा बढि स्थानमा सवारी साधनहरु छुटने गर्छन् ।
#डिजिटल सञ्चार#
















































। १० फाल्गुन २०७८, मंगलवार