विदेशबाट फर्किएका श्रीमानको प्रेमीसँग मिलेर हत्या


काठमाडौं । धरानमा कान्छी श्रीमतीले प्रेमीसँग मिलेर एक जनाको हत्या गरेको खुलेको छ। शव झोलामा टुक्राटुक्रा पारेर फालिएका ४३ वर्षीय दिनेश सिग्देलको हत्या उनकै कान्छी श्रीमतीले प्रेमीसँग मिलेर गरेको खुलेको हो।

दिनेशकी कान्छी श्रीमती अनिता केसी र उनका प्रेमी सरोज भण्डारीले हत्या गरेर शव टुक्राटुक्रा पारेको खुलेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। गाडी चालक सरोज र अनिता सँगै बस्दै आएको पनि खुलेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार १० महिनाअघि बहराइन गएका दिनेश पुस २० गते १५ दिनको बिदामा नेपाल फर्किएका थिए। २१ गते काठमाडौंबाट बसमा विराटनगर गएका उनी कान्छी श्रीमती अनिता केसीसँगै विराटनगरको फ्यामिली होटलमा बसेका थिए।

२२ गते बेलुकी दिनेश र अनिता पिपलचोकस्थित आफ्नो डेरा फर्किएका थिए। त्यसै दिन अनिताका प्रेमी सरोज पनि उनीहरूको घरमा गएका थिए। पूर्वयोजना अनुसार सरोजले दिनेशसँग सामान्य कुराकानी गरेको त्यसलगत्तै सरोज र अनिताले गलबन्दीले घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

हत्या गरेर शव कोठामै छाडेर उनीहरू भने त्यो दिन बाहिर बास बसेको खुलेको प्रहरीले जनाएको छ। भोलिपल्ट ग्राइन्डर मेसिन र खुकुरी किनेर टाउको, दाहिने तिघ्रा र बाँकी भाग अलग पारेर दुई वटा झोलामा पोको पारेका थिए।

डिएसपी कार्कीका अनुसार सोही दिन दिउँसो ट्याम्पो भाडामा लिएर इटहरी, धरान हुँदै शव फालेका थिए। त्यो दिन भेडेटार बसेका उनीहरू भोलिपल्ट मात्र विराटनगर फर्किएको खुलेको प्रहरीले जनाएको छ। सोमबार पक्राउ परेका दुवै जनाविरुद्ध इलाका प्रहरी कार्यालय धरानले ज्यानसम्बन्धी कसुरमा ७ दिन म्याद लिएर अनुसन्धान सुरु गरेको छ।

दिनेशको जेठी श्रीमती निर्मलाले श्रीमान कान्छीसँगै जाने गरेको भनेपछि प्रहरीले कान्छी श्रीमती र सरोजलाई पक्राउ गरेको थियो। प्रहरीले बहराइन प्रहरीको सहयोगमा त्यहाँबाट फर्किएका व्यक्तिको विवरण माग गरेको थियो।

तीमध्ये दिनेश नेपाल फर्किएको देखिए पनि घर नपुगेको खुलेपछि प्रहरी परिवारसम्म पुगेको कार्कीले बताए। फागुन ४ गते बेलुकी धरान उपमहानगरपालिका–४ कोसी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडकखण्ड नजिकै शव फेला परेको थियो। अलग–अलग ठाउँमा भेटिएको शवको सोमबार मात्रै पहिचान भएको थियो।

अनिता र सरोजले विवाह गर्नका लागि दिनेशको हत्या गरेको प्रहरीलाई बताएका छन्। झापाको दमक नगरपालिका–५ का दिनेशले हाल मोरङको विराटनगरमा कोठा भाडामा लिएका थिए ।

तपाईको प्रतिक्रिया